युवा पलायनले पार्ने असर र रोकथामका उपाय

आफ्ना हाकिमले छोराहरू विदेशमा पढ्दैछन् भन्दा उनको जीवनको ईर्ष्या लागेर आउथ्यो। आफ्ना त बल्ल हाई स्कुलमा पढ्दै छन् भन्ने लागेर आउथ्यो तर पनि आफूले चिनेकाका सन्तान र सन्तानले चिनेका साथी संगीहरू विदेशिएको देखेर १२ पास गरे पछि आफ्ना सन्तानमा पनि विदेशको भोक जागेको देखियो।
Advertisement 1
यस्तो भोक नजागोस पनि किन ? जव कि नेपालको शिक्षा ब्यबसायमुखी छैन । फेरि उच्च शिक्षा लिए पछि कसैले पनि सानातिना काममा आंखा नलगाउने , ठूला काम खासै केही नहुने, हुन त काम आफैमा सानो वा ठूलो हुदैन भनिन्छ तर हाम्रो समाजले काममा विभेद गरेको पाईन्छ। पढे लेखेकाले खनजोत गर्न नहुने, खेती किसानी भनेको नपढ्ने वा कम पढ्नेले मात्र गर्ने हो, ज्याला मजदूरी पढे लेखेकाले गर्न नहुने भन्ने सोच समाजमा रहेको पाईन्छ। कुनै बच्चाले पढ्न मन लगाएन भने हलो जोतेर खान्छ भनेर हेलांको शब्द प्रयोग गरेको पाईन्छ।
फेरि जुनसुकै काम पाए पनि गर्छु भन्नेले सजिलै गरी काम पाउने स्थिति पनि त छैन, ऊ बेरोजगार भएर रहनु पर्ने अवस्था छ। शिक्षा क्षेत्रबाट श्रम बजारमा आउने जन शक्तिलाई रोजगारी दिने स्थितिमा राज्य सक्षम छैन, निजी क्षेत्रले नेपालमा रोजगारी सृजना गरेर श्रम बजार सहज बनाउन सकेको पाईदैन। शिक्षा क्षेत्रको उत्पादन सीमित मात्रामा खपत हुने हुदा देश भित्र शैक्षिक वेरोजगारी बढ्दो छ। केही विकसित देश उदाहरणको लागि कोरीया र खाडी राष्ट्रहरूले सीमित मात्रामा नेपालबाट श्रम आयात गर्नाले केही बेरोजगारी घटेको छ तर पनि यतिले मात्र नेपालको शैक्षिक बेरोजगारी नियन्त्रण हुन सकेको पाईदैन। फेरि समस्या के छ भने नेपालमा हुने शैक्षिक उत्पादनमा ब्यवसायीकताको पक्ष कमजोर छ, त्यसैले नेपालको शैक्षिक जनशक्ति सजिलै विदेशमा पनि खपत हुन सक्दैन। यसै कारण यस्तो जनशक्तिले आफूलाई सीप मूलक बनाउन थप अध्ययनको लागि विदेशिनुको विकल्प छैन।
Advertisement 2
यसरी नेपालमा श्रम बजारको सीमितता र वैदेशिक श्रम बजारमा पहुंच हुनका लागि पनि नेपालको शिक्षाको गुण स्तरले नभेट्ने हुदा थप अध्ययन र रोजगारीका लागि विदेश जानु पर्ने वाध्यताले सन्तानहरू विदेशिने परिस्थिति बन्यो र घरमा आमा बाबु मात्र रहने अवस्था भयो। यस प्रकार सन्तान र आमाबाबु छुट्टिएर लामो समय बस्ने नसक्ने परिस्थितिमा कि त सन्तानलाई स्वदेश बोलाउनु पर्यो या आमाबाबु नै सन्तान रहेको देशमा जानु पर्ने भयो। नेपालको शैक्षिक विकासको ईतिहास हेर्ने हो भने शिक्षाको उत्पादनलाई श्रम बजारले खपत गर्न सकेको पाईएको छैन र भविष्यमा पनि यसमा सुधार हुने संकेत देखिएको पाईदैन। त्यसैले विदेशमा अध्ययन गरेका र रोजगारी पाएका सन्तानलाई नेपाल बोलाएर बेरोजगारको संख्या थप्नु सिवाय केही हुनेवाला छैन। यस्तो अबस्थामा सन्तानले आमाबाबुलाई पालन पोषण गर्न आफै संग बोलाउने अवस्थाको सृजना हुन पुग्यो।
यसलाई सतही रूपमा हेर्दा सामान्य लाग्न सक्छ तर परिस्थिति त्यति सामान्य भने देखिदै छैन। किनभने यसरी शिक्षित जनशक्तिको पलायनले देशको राजनीतिमा खडेरी पर्दै गएका संकेतहरू देखिएका छन्। राजनीति देशको मूल नीति हो, यसले देशको दिशा निर्देश र सो को मार्ग कोर्ने गर्छ। यसको लागि भिजनरी नेता चाहिन्छ तर त्यस्तो नेता हुने क्षमता भएको ब्यक्तिको पलायनले मुलुकमा राजनेताको शुन्यता हुन्छ, नेपालमा हाल देखिएको समस्या त्यही हो। जसरी युवाहरूको पलायनले राजनीतिक क्षेत्रमा खडेरी पर्छ त्यसरी नै यो पलायनले देशमा क्षमतावान दक्ष र प्राविधिक जनशक्ति समेतको अभाव हुन जादा विकासले मूर्तता पाउन सक्दैन।
Advertisement 3
यसरी हुने पलायनले हामी परम्परा देखि गर्दै आएको कृषि पेशा समेत संकटमा पर्दा देशको अर्थतन्त्र डामाडोल हुन जान्छ। हाम्रा कृषि योग्य जमीनमा आमोद कमोद नहुदा बन्जर हुन पुग्छन् कृषि उत्पादनमा ह्रास आंउछ। यसरी देखिने समस्यालाई आजको भोली नै त समाधान गर्न नसकिएला तर पनि यो समस्यालाई समाधान गर्ने तर्फ केही प्रयासहरू शुरूवात गर्न सके सुधारका संकेतहरू देखा पर्न थाल्ने छन्।
सर्व प्रथम हाम्रो शिक्षा प्रणाली हाम्रै देशलाई चाहिने जनशक्ति उत्पादन हुने किसिमको बनाउन जरूरी छ। हालको हाम्रो शिक्षा पद्दति प्रमाणपत्र मुखी छ, यो ब्यबहारिक छैन। अहिलेको शैक्षिक उत्पादनले हाम्रो खांचो पनि पूरा गर्न सकेको छैन र विदेशको शिक्षा संग प्रतिस्पर्धा गर्न पनि सकेको छैन। त्यसैले हाम्रा शिक्षाका उत्पादनले देश भित्र पर्याप्त रोजगारी नपाउने मात्र हैन कि विदेशको शिक्षा संग तालमेल गर्न सक्ने स्थिति पनि छैन। यसैले हामीले हाम्रो परिवेश र खांचोलाई हेरेर पाठ्यक्रम बनाउनु जरूरी देखिएको छ।
यूवाहरूको विदेश पलायन रोक्न देश भित्र पर्याप्त मात्रामा रोजगारी सृजना गरेर वर्षेनी नेपाली श्रम बजारमा आउने श्रमीकलाई रोजगारी दिनु पर्ने हुन्छ। यसका लागि आन्तरिक र वैदेशिक लगानीलाई रोजगार मैत्री बनाउन जरूरी देखिन्छ।श्रम बजारका उत्पादनलाई गुण स्तरीय बनाउन सके आन्तरिक र बाह्य बजारमा हाम्रा उत्पादन सहजै बिक्री गर्न सकिन्छ। श्रम निर्यात गर्नुको सट्टा श्रमिक नै निर्यात गर्ने वर्तमान परिपाटीको अन्त्य हुनु जरूरी छ।