टाइगर प्यालेस होटल दुई महिनामा सञ्चालनमा आउने

रुपन्देहीको तिलोत्तमामा रहेको पाँचतारे टाइगर प्यालेस रिसोर्ट नयाँ व्यवस्थापनसहित दुई महिनाभित्र सञ्चालनमा आउने भएको छ ।

Advertisement 1

नयाँ लगानीकर्ताका रुपमा आएको हिमालयन टाइगर इन्भेष्टमेन्ट इङ्कले दुई महिनाभित्र पूर्ण क्षमतामा सञ्चालन गर्ने योजनासहित काम अघि बढाएको जनाएको छ । गैरआवासीय नेपालीको समूहले स्थापना गरेको हिमालयन टाइगर इन्भेष्टमेन्ट इङ्कले अष्ट्रेलियाली कम्पनी सिल्भर हेरिटेज लिमिटेडको सम्पूर्ण शेयर स्वामित्व लिई नयाँ व्यवस्थापनका साथ टाइगर प्यालेस रिसोर्ट सञ्चालन गर्न लागेको हो ।

टाइगर इन्भेष्टमेन्ट इङ्कले सिल्भर हेरिटेजमा भएको अष्ट्रेलियन कम्पनीको सबै सेयर खरिद गरेको टाइगर प्यालेस रिसोर्टका अध्यक्ष बुद्धिसागर सुवेदीले आज रिसोर्टमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनले खरिदबापत सरकारलाई लाग्ने सम्पुर्ण कर र दायित्व तिर्न तयार रहेको समेत जानकारी दिए ।

Advertisement 2

रिसोर्टमा सुवेदीसहित दीपक गौतम, कुल आचार्य, देब भुसाल र रामजी मरासिनीलगायतको लगानी रहेको जनाइएको छ । अन्य केही लगानीकर्ताहरुले पनि जोडिने अध्यक्ष सुवेदीले पत्रकार सम्मेलनमा जानकारी दिए ।

“अब नयाँ व्यवस्थापनसहित टाइगर प्यालेस रिसोर्ट सञ्चालन गर्न लागेका छौँ”, उनले भने, “विदेशिएका हामी नेपालीले आफ्नो जन्मभूमिप्रतिको दायित्वबोध गरी यो बन्द हुने अवस्थामा पुगेको रिसोर्टलाई खरिद गरेका छौँ ।”

Advertisement 3

यसअघि अष्ट्रेलियन कम्पनीले रिसोर्ट सञ्चालन तथा क्यासिनो व्यवसाय गर्न करिब रु पाँच अर्ब लगानी गरेको थियो । रिसोर्ट र यसमा सञ्चालित क्यासिनोमा करिव एक हजार नेपालीले प्रत्यक्ष रोजगारीमा थिए ।

प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित रिसोर्ट आन्तरिक विवाद तथा अदालती मुद्दा मामिलाले बन्द अवस्थामा पुगेको थियो । विदेशमा नेपालमा वैदेशिक लगानीको वातावरण नभएको गलत सन्देश जाने सूचना पाएपछि आफूहरुले नयाँ व्यवस्थापनका साथ रिसोर्ट सञ्चालनमा ल्याउन लागेको अध्यक्ष सुवेदीले जानकारी दिए ।

बैंकहरुको ऋणको बोझ थाम्न नसक्ने अवस्थामा पुगेको अवस्थामा अष्ट्रेलियन कम्पनीले सिल्भर हेरिटेज लिमिटेडमार्फत नेपालमा गरेको लगानी र नेपालको व्यवसायसमेतलाई हेरी १५ मिलियन अमेरिकी डलरमा शेयर कारोबार भएको उनले बताए । उनका अनुसार रिसोर्ट सञ्चालनमा प्रारम्भिक अध्ययनबाट शेयर खरिद कारोवार रकम समेत जोडदा करिव रु चार अर्ब खर्च गर्नुपर्ने देखिएको छ ।

पर्यटनको प्रचुर सम्भावना भएर पनि टाइगर प्यालेस रिसोर्ट जस्ता ठूला लगानीका पर्यटन उद्योगहरू धरासायी हुने बाटोतर्फ उन्मुख हुनु राष्ट्र, पर्यटन क्षेत्र र लगानीकर्ताका लागी सुखद नभएको सञ्चालक दीपक गौतमले बताए ।

रिसोर्ट सञ्चालनसँगै गैरआवासीय नेपालीमा लगानी गर्ने विश्वास पैदा हुने र प्रत्यक्ष वैदेशिक लगानीको वातावरण समेत निर्माण हुने उनले बताए ।

प्रकाशित :२०८० भाद्र १, शुक्रबार १५:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry