भन्सारका कर्मचारीले बार्गेनिङ गरेको रिपोर्टिङ मन्त्रालयमा आइरहेको छ: अर्थमन्त्री
अर्थमन्त्री डा. प्रकाशशरण महतले बदलिँदो परिस्थितिअनुसार आम जनताको चासो र चिन्तालाई दृष्टिगत गरेर भन्सारका कर्मचारी सक्रिय हुन आग्रह गरे । भन्सार विभागले आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीमा बोल्नुहुँदै मन्त्री डा.महतले भने, ‘‘सबैभन्दा पहिला कर्मचारीको सोचमा परिवर्तन आउन जरुरी छ । मलाई अधिकार छ, त्यसको दुरुपयोग गरे फरक पर्दैन भन्ने मानसिकता परिवर्तन हुनुपर्छ ।’’
Advertisement 1
आयतकर्ता र करदाताहरूलाई अप्ठ्यारोमा पारेर व्यक्तिगत फाइदाका लागि कर्मचारीले बार्गेनिङ गर्न नहुने बताउँदै अर्थमन्त्री डा. महतले सरल सहज भन्सार सेवा प्रदान गर्नुपर्ने बताए । उनले भने, ‘मैले धेरै भन्सार नाकाको भ्रमण गरे, कर्मचारीले त्यस किसिमको व्यवहार गरेको रिपोर्टिङ मन्त्रालयमा आइरहेको छ, यो गलत हो, बन्द हुनुपर्छ । राम्रो काम गर्ने कर्मचारी साथीहरू पनि हुनुहुन्छ । यी साथीहरूलाई एउटै बास्केटमा हालेर भन्सार नेतृत्वले मूल्याङ्कन गर्नु हुँदैन । कर्मचारीको भूमिकाको यथार्थ जानकारी राखेर नेतृत्वले मूल्याङ्कन गर्नुपर्छ’ मन्त्री डा.महतले भने ।
साउनमा लक्ष्य ८० प्रतिशत पुग्यो भनिएको छ । गत वर्ष ६० प्रतिशत उठ्यो । हामीले अझ इमानदार भएर काम गरियो भने सय प्रतिशत नै लक्ष्यमा पुग्न सकिने मन्त्री डा. महतले बताए ।
Advertisement 2