भागरथी हत्या अनुसन्धानमा खटिएका दुई प्रहरीको एक तह बढुवा
प्रहरी प्रधान कार्यालयले भागरथी भट्टको बलात्कार तथा हत्या घटनाको अनुसन्धानमा संलग्न दुई कनिष्ठ प्रहरीलाई एक तह बढुवा गरेको छ। बैतडीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा खटिएका दुई प्रहरीको बढुवा गरेको छ ।भागरती हत्याको अनुसन्धानमा खटेका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, दिपायलका असई पदमबहादुर थापा र इलाका प्रहरी कार्यालय, राजापुर बर्दिया दरबन्दी भएका प्रहरी जवान नरबहादुर थापालाई एक पद बढुवा गरेको हो । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआइजी उत्तमराज सुवेदीले बढुवा भएका दुवै जनालाई आज दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
Advertisement 1
घटना अनुसन्धानमा उनले महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रधान कार्यालयले उनीहरूलाई बुधबार बढुवाको निर्णय गरेको हो । दुबै जना सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत् छन्।
त्यस्तै प्रहरी प्रधान कार्यालयले सोही घटनाका अपराधी पक्रन सफल भएको भन्दै डीआइजी सुवेदीलगायत पाँच जनालाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।
Advertisement 2
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआइजी सुवेदीसहित पुरस्कृत हुने अन्यमा जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डीएसपी नारायणप्रसाद अधिकारी, प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका डीएसपी पञ्चकुमार बाखु, महानगरीय प्रहरी कार्यालय रानीपोखरी परिचालन कक्ष दरबन्दीका प्रहरी नायब निरीक्षक दुर्गाकुमार योञ्जन र प्रहरी चौकी हिकिला दार्चुला दरबन्दीका प्रहरी जवान अशोकबहादुर कुँवर रहेका छन् ।
बैतडी दोगडाकेदार गाउँपालिका-७ चडेपानीस्थित सनातन माध्यामिक विद्यालय बैतडीमा अध्ययनरत १७ वर्षीया भागरथी भट्टको गत माघ २१ गते जबरजस्ती करणीपछि हत्या भएको थियो। प्रहरीले १३ दिनमै घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरेको थियो।