करैयामाई गाउँपालिकाको शाखा अधिकृतको करामत !
प्रमुख प्रशासकीय अधिकृतको अनुपस्थिती भएमा उनी पछिको सिनियर कर्मचारीले निमित्त प्रमुख बनेर स्थानीय तह सञ्चालन गर्न पाउने नियम छ । केही यस्ता स्थानीय तह र कर्मचारी पनि छन् जो प्रमुख प्रशासकीय अधिकृतलाई हाजिरै गर्न नदिने,हाजिर भइहाले पनि त्यहाँ पनि दुई तीन महिना नबित्दै लखट्ने र आफैं निमित्त बनेर स्थानीय तह चलाइरहन चाहन्छन् ।
यस्तै बेतिथी देखिएको छ,दुई नम्बर प्रदेशको बारास्थित करैयामाई गाउँपालिकामा ।
८ वटा वडा र झण्डै ४८ बर्ग किमी क्षेत्रफलमा भइलिएको सोही गाउँपालिकाका शाखा अधिकृत विरेन्द्र महत्तोको ज्यादतीको श्रृंखला हो यो । उनै महतोले त्यहाँ खटाइएका प्रमुख प्रशासकीयहरुलाई टिक्नै नदिने गरेको भेटिएको छ । जस्तो यस अघि त्यहाँबाट अमोद चौधरी,शंकरप्रसाद भुषाल,सुनिलप्रसाद केशरीहरु प्रमुख प्रशासकीय अधिकृत बनेर त्यहाँ पुगे । कोही पनि लामो समय टिकेनन् ।
केही अघि सुवोध महत्तो खटिए । उनलाई विरेन्द्रहरुले तीन महिनासम्म हाजिरै गर्न दिएनन् ।हाजिरै गर्न नपाइएपछि उनी सरुवा मिलाएर अन्यन्त्रै सरुवा भए ।
लामो समय सो गाउँपालिका प्रमुख प्रशासकीय विहिन भएर चल्यो र निमित्त चलाए उनै बिरेन्द्रले ।
मन्त्रालयले गत २० पुसमा राज कुशवाहलाई त्यहाँ खटायो । अहिले विरेन्द्रहरुको चलखेल छ,राजलाई त्यहाँबाट हटाउने र निमित्त भै आफैंले गाउँपालिका चलाउने ।
केही दिन देखि शक्तिकेन्द्र प्रयोग गरी उनी विभागीय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ढोका ढोका चहारिरहेका छन् । उनले प्रदेशकै एक जना ओली समूहका नेताको प्रयोग गरी सामान्य प्रशासन मन्त्रीको सचिवालयमार्फत काम तमाम गराउने प्रयाश गरिरहेका छन् ।
स्मरण रहोस,केही अघि हुम्लास्थित सर्केगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक कुमार आचार्यले सोही गाउँपालिकाका प्राविधिक सहायक रुद्र बहादुर शाहीमाथि दुई करोड हिनामिनाको चार्ज लगाउँदै निलम्बन गरेका छन् । गत आर्थिक वर्षमा निमित्त प्रमुख प्रशासकीय अधिकृत हुँदा शाहीले दुई करोड बराबरको रकम अनियमितता गरेको चार्ज लगाएर उनलाई निलम्बन गरिएको थियो । यस्तै गरी निमित्त भएर कार्यरत रहँदा आर्थिक हिनामिनामा मुछिएका कारण त्यहाँ प्रमुख प्रशासकीय टिक्नै नदिने गरी चलखेल भएको त होइन् ? अन्यथा प्रमुख प्रशासकीयलाई लखट्नै पर्ने बाध्यता के आइलाग्यो होला शाखा अधिकृत महतोलाई ? अहिले सामान्य प्रशासनकै कर्मचारीहरु प्रश्न गर्न थालेका छन् ।
Advertisement 1
यो बिषयमा प्रतिक्रिया लिनका लागि कर्मचारी डटकमले अधिकृत महत्तोको मोवाइल नम्बर ९८५५०२३९७५ मा पटक पटक सम्पर्क गर्दा उनको मोवाइल अफ थियो । सो गाउँपालिकाको अध्यक्ष भुनेश्वर धामीलाई पटक पटक सम्पर्क प्रयाश गर्दा उनी सम्पर्कमा आएनन् ।