सशस्त्र प्रहरी निरीक्षक राई सहित तीन निलम्बित

झापामा सशस्त्र प्रहरीका हवल्दारसहित चार जनामाथि कुटपिट गरेको घटनामा प्रहरी निरीक्षक नमप्रभाव राईसहित तीन जनालाई निलम्बन गरिएको छ । सशस्त्र प्रहरी निरीक्षक राई र जवानहरू क्रमशः रामसुन्दर तामाङ र जीवन बाँस्तोलालाई निलम्बन गरिएको जानकारी सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले दिए।
Advertisement 1
यसअघि सो घटनाको छानविनको लागि सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय कार्य विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रप्रकाश गौतमको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरिएको थियो। सो समितिलाई यथाशीघ्र छानबिन गरी प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।सोही घटनाको छानबिनको लागि कोशी प्रदेशस्थित सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीले पनि सशस्त्र प्रहरी उपरीक्षक बिक्रम हुमागाईंको अध्यक्षतामा बुधबार नै ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो।
सो घटनामा सादा पोशाकमा खटिएका इन्स्पेक्टर नमप्रभाव राईको टोलीले ड्युटीमा खटिएका सशस्त्रका प्रहरी वरिष्ठ हवल्दार पासाङ तामाङ, सशस्त्र प्रहरी हवल्दारहरु गणेशबहादुर तामाङ, रामबहादुर कार्की, सहायक हवल्दार शान्तबहादुर राई र सशस्त्र जवान उमेश राजवंशी पानीमा चोबल्दै भाटाले कुटपिट गरेका थिए। राम्रोसँग ड्युटी नगरेको र तस्करीको लाइन खुलाएको आरोप लगाउँदै इन्स्पेक्टरले भाटैभाटाले हानेका थिए। इन्स्पेक्टर राई बराह बाहिनी पोकलीबाट घुमुवाको रुपमा सादा पोशाकमा खटिएका थिए।