स्वास्थ्य मन्त्रालयलाई सिंहदरबारभित्र सारिँदै
सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सिंहदरबारभित्रै लैजाने तयारी गरेको छ । हाल रहेका २२ वटा मन्त्रालयमध्ये २१ वटा मन्त्रालय सिंहदरबार परिसर भित्रै छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमात्र सिंहदरबार परिसरबाहिर रामशाहपथमा रहेको छ । सो मन्त्रालयलाई सिंहदरबारभित्रै सारिने भएको हो ।
गत ३ फागुनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलय झण्डै ८७ करोड लागत खर्चेर बनाइएको भवनमा सरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलय बस्दै आएको भवन रिक्त बन्दैछ । सम्भवत सोही भवनमा वा अन्य कुनै मन्त्रालयलाई त्यहाँ ल्याएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई भित्र सार्ने गरी तयारी चल्दैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन अघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याललाई तत्काल स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सिंहदरबार हाता भित्र सार्ने तयारी गर्न निर्देशन दिइसकेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले कर्मचारीलाई बतायो ।