गुणस्तर कार्यालय प्रमुखलाई कोरोना पुष्टि, खाद्य व्यवस्था र आयल निगमका कर्मचारीमा पनि सङ्क्रमण
कोरोना भाइरस संक्रमण प्रहरी प्रधान कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग हुँदै सिंहदरवार प्रवेश गरिसकेको छ । कोरोना भाइरसबाट संक्रमित हुने सरकारी कर्मचारीहरु बढ्दै गएका छन् । अस्तिमात्र सिंहदरबारस्थित पर्यटन मन्त्रालयका एक जना उपसचिवमा कोरोना संक्रमण पृष्टि भएको छ । यस्तै बालाजुमा रहेको नेपाल गुणस्तर तथा नापतौल विभागका एक अधिकारीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यहाँका एक शाखा कार्यालयका प्रमुखमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । उनको ह्याम्स अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । यस्तै बालाजुमा रहेको औद्योगिक क्षेत्र विकास लिमिटेडअन्तर्गत केही उद्योगमा कार्यरत कर्मचारीहरुमा कोरोना सङ्क्रमण देखिएको छ ।त्यसैगरी आयल निगमको डिपो र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका कर्मचारीहरूमा पनि कोरोना देखिएको मन्त्रालय स्रोतले जनाएको छ । हालसम्म सिंहदरबारभित्रका सुरक्षाकर्मी, कार्यालय सहयोगी, चालक तथा अधिकृत समेत गरी झन्डै १५ जना संक्रमित भेटिएका छ ।