मेयरमाथि भ्रष्टाचार गरी अकुत आर्जन गरेको आरोप

Advertisement 1
सिरहाको मिर्चैया नगरपालिका प्रमुख श्रवण कुमार यादवले लामो समयदेखि बसोबास गर्दै आएका स्थानीयवासी घरमा डोजर चलाएपछि त्यहाँका जनता आन्दोलित भएका छन् ।
स्थानीय व्यापारी र वडाबासीहरुको वर्षौदेखि बसोबास रहँदै आएको मिर्चैयाको २ (क) को ५६ नम्बर र २ (ख) को ६० नम्बर जग्गामा बनेका पक्की घरहरु र भवनमा डोजर चलाउन मेयर यादवले आदेश दिएका थिए । पचासौं वर्षदेखि बस्दै आएको ठाउँमा डोजर लगाएर उठिबास बनाएपछि त्यहाँका स्थानीयहरु आन्दोलनमा उत्रिएका हुन् ।
पीडित रञ्जित पासवानले मेयर श्रवण यादवलाई कानूनबमोजिम कारबाहीको माग गरेका छन् । मेयर यादवले भ्रष्टाचार गरेर आफ्ना नातागोताको नाममा अकुत सम्पत्ति जम्मा गरेको उनको आरोप छ । मेयरको भ्रष्टाचार विद्यालयसँग पनि जोडिएको पासवानको आरोप छ ।
‘नगरप्रमुखले जुन ज्यादती गरेको छन्, कानुनबमोजिम सजाय होस् भनेर म जोडदार माग गर्छु । उहाँको र उहाँको नाताको नातागोताको नाममा रहेको सम्पत्ति छानविनको माग गर्दछु । उहाँले विद्यालयमा पनि भ्रष्टाचार गर्नुभएको छ,’–उनले भने ।
Advertisement 2
त्यसैगरी पीडित विनोद साहले मेयर यादवले बल प्रयोग गरेर आफ्नो घरमा डोजर चलाएको बताए । आफूले मेडिकल र किराना गरिरहेको दुईवटा सटरमा मेयरले बल प्रयोग गरेर डोजर चलाएको उनको आरोप छ । साथै, मेयरका मान्छेहरुले हातपात गरेर समानसमेत लुटेर लगेको उनको आरोप छ ।
‘रोड विकासको क्रममा मेयरले ६० फिटको बाटो बनाउँदाखेरी पनि हामीहरुले क्लियर गरिसकेको खण्डमा मेयरले जबरजस्ती बल प्रयोग गरे । त्योभित्र मेरो एउटा औषधि पसल र किराना पसल थियो । त्यही दुईवटा पसलले हाम्रो जिविकोपार्जन चलिराखेको थियो । मेयरले माघ २७ गते चार पाँचवटा डोजर लगाएर, हातपात गरेर सामनहरु लुटेर लगेर हामीलाई विजोग बनाएको छ,’– उनले भने ।
Advertisement 3
मेयरको ज्यादतीविरुद्ध आफूहरुले डेलिगेसन लिएर प्रधानमन्त्री र गृहमन्त्रीसमेतलाई भेट गरेको उनको भनाई छ । आफूहरुले उचित क्षतिपूर्ति र न्याय नपाएसम्म निरन्तर आन्दोलन गरिराख्ने उनले बताए ।
त्यसैगरी नेपाली कांग्रेसका नेता रामेश्वर यादवले पनि पीडितहरुको आन्दोलनमा समर्थन जनाएका छन् । मिर्चैयाका मेयर यादवले त्यहाँका जनतामाथि ज्यादतीपूर्ण काम गरेको उनको भनाई छ । त्यहाँका जनता दुई महिनादेखि निरन्तर आन्दोलनमा रहेको उनले बताए ।
‘मिर्चैयामा मेयरको जुन ज्यादती चल्दैछ । त्यहाँको मेयरले जनताप्रति अन्यायपूर्ण काम गरेका छन् । त्यसको विरुद्धमा हामी सर्वपक्षीय संघर्ष समितिद्वारा दुई महिनादेखि त्यहाँका जनताले पक्षमा हामी लडिरहेको अवस्था छ,’–उनले भने ।
मेयरले त्यहाँको जनताविरुद्ध अनपेक्षित काम गर्दा उठिबास लागेको उनले बताए । मेयरले शासन र पहुँचको आधारमा जे गर्दापनि हुन्छ भन्ने मानसिकता लिएको उनको भनाई छ । जनताको सेवामा लाग्नुपर्ने मेयर अकुत सम्पत्ति आर्जनमा लागेको उनले बताए । मिर्चैयाका मेयर यादवको सम्पत्ति दिन दुई गुणा रात चौगुणा वृद्धि भइरहेको उनको आरोप छ । ‘राजनीति भनेको सेवा हो । जनताको सेवामा लाग्नुपर्ने मान्छे अहिले अकुत सम्पत्ति जोडेको छ । दिन दुई गुणा रात चौगुणाको हिसाबले हरेक ठाउँमा सम्पत्ति जोडेको छ,’–उनले भने ।
मेयर यादवकाविरुद्ध सम्पत्ति सुद्धीकरण र अख्तियारमा मेयरविरुद्ध थुप्रै उजुरी दिएपनि त्यसको सुनुवाई नभइरहेको उनको भनाई छ । मेयरले त्यहाँको प्रशासनलाई प्रभावित गरेर आफू अनुकूल काम गरेको उनको आरोप छ ।
त्यसैगरी, नेकपा (माओवादी केन्द्र) का नेता काशिन्दर महतोले मेयर यादवले गैरकानुनी रूपमा नीजि सम्पत्ति भत्काएको आरोप लगाए । उक्त कार्यमा संलग्न निकायहरुलाई कारबाहीको दायरामा ल्याउन पनि उनले माग गरे ।
‘मिर्चैया नगरपालिकाका नगरप्रमुखले गैरकानुनी रुपमा नीजि सम्पत्ति, नीजि घरलाई भत्काउन लगाएका छन् । त्यसको विरुद्धमा आन्दोलन भइरहेको छ । त्यसमा संलग्न जतिपनि निकायहरु छन्, अथवा व्यक्तिहरु रहेका छन्, चाहे त्यो नगरप्रमुख होस् वा नापीको प्रमुख होस्, सबैलाई कारबाहीको दायरामा ल्याईयोस् । पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्यो । म जोडदार रुपमा माग गर्दछु,’– उनले भने ।
यस्तै, नेपाली कांग्रेसका नेता धनेश्वर यादवले मिर्चैयामा मिर्चैया नगरपालिका चरम भ्रष्टाचारमा डुबेको बताए । राजनीतिमा आएको पाँच वर्षभित्र मेयरको सम्पत्ति पचासौं गुणा वृद्धि भएको उनको आरोप छ ।
‘त्यहाँ चरम भ्रष्टाचार छ । कुनै पनि व्यक्ति राजनीतिमा लागेपछि उसको सम्पत्ति पचासौं गुणा बढ्नुको कारण के हो ? यो मिर्चैयाकोमात्रै समस्या होइन, देशकै समस्या हो । मेयर हुनुभन्दा पहिले उसको सम्पत्ति कति थियो र मेयर भएपछि चार पाँच वर्षको अवधिमा सम्पत्ति पचासौं गुणा बढि कसरी हुन्छ ?’–उनले भने ।
साथै, मिर्चैया नगरपालिकामा भ्रष्टाचारको चाङ लागेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गम्भीरतापूर्वक काम नगरेको उनको गुनासो छ । उक्त नगरपालिकाको वडा नम्बर ९ मा कामै नभएको ठाउँमासमेत भुक्तानी भएको उनको दाबी छ । कामै नभएको अवस्थामा पनि भुक्तानी भएको सन्दर्भमा अख्तियारमा उजुरी परेपनि बर्दिबास शाखाले मेयरको प्रभावमा परेर कारबाहीको प्रक्रिया अगाडि नबढाएको उनले बताए ।
मेयरले वर्षौदेखि बसोबास गर्दै आएका स्थानीयहरुको घर भत्काउनुका पछाडि आर्थिक चलखेल रहेको उनको आरोप छ । मेयरले सरकारी जग्गा आफ्नो नाममा ल्याउनको कोशिस गरिरहेकोसमेत उनले बताए ।
नेकपा (एमाले) का नेता प्रदीप महासेठले मेयर यादवले २०७५ सालको मन्त्रिपरिषद्को निर्णयविपरित काम गरेको बताए । मेयरले त्यहाँका गुण्डाहरुको सहायतामा स्थानीयबासीको उठिबास लगाएको उनको आरोप छ ।
‘२०७५ सालको मन्त्रिपरिषद्को निर्णयबाट गाउँ ब्लकको जग्गामा लालपुर्जा दिने निर्णय गरेको छ । त्यो निर्णयलाई उल्लङ्घन गरी अहिले घर भत्काइएको छ । गाउँ ब्लकभित्रका साथीहरुले पुनरावेदनबाट परमादेश ल्याएर चैत्र २१ गते मेलमिलापको लागि बोलाउनु भएको थियो । त्यो अदालतको आदेश उल्लङ्घन गरी गुण्डाहरु ल्याएर घर भत्काइयो । त्यसमा मेरो घोर भत्र्सना छ,’– उनले भने ।
उक्त काम मेयरको अधिकार क्षेत्रभित्र नपर्ने उनले बताए । पीडितलाई उचित क्षतिपूर्ति दिनुपर्ने उनले माग गरेका छन् । नेपाल सरकारको जग्गामा मेयरले आफ्ना आफन्तहरु राखिराखेको र नापी गराएको उनको आरोप छ । देशभरकै स्थानीय निकायमध्येको भ्रष्ट मेयर मिर्चैयाका मेयर भएको उनको आरोप छ । अहिले मेयरविरुद्ध अख्तियारमा र सम्पत्ति सुद्धीकरणमा मुद्दा हालेपनि त्यसको सुनुवाई नभएको उनले बताए ।