उद्योग विभागमा बर्ष दिन रहँदा जे गरियो/भोगियो

०५६ सालमा निजामती सेवामा पाइला राखेका रामचन्द्र तिवारी बर्ष दिन पछि नासु,चार बर्ष पछि शाखा अधिकृत भए । अधिकृत हुँदा जिल्ला निर्वाचन कार्यालय तनहुँ र केही समय स्थानीय तहमा बिताए । ०७१ सालमा उपसचिवमा उक्लिए पछि स्थानीय विकास अधिकारी,मुस्ताङ जिल्लाको प्रमुख जिल्ला अधिकारीका रुपमा केही समय काम गरे । त्यस्तै केही समय अध्यागमन र कारागार विभागमा बसेर काम गरेका उनी ०७८ सालमा सहसचिव बनेसँगै उद्योग विभागको महानिर्देशकको जिम्मेवारी सम्हाने मौका पाए ।
Advertisement 1
प्रविधिमा फड्को
तिवारीले उद्योगको कमाण्ड सम्हाल्न पुगेपछि विभागलाई फेसलेस र पेपरलेस बनाउन लागिपरे । यो सँगै परम्परागत शैलीबाट चलिरहेको विभागको सेवा प्रवाह सरल र प्रविधिमैत्री बन्दै गएको छ । अहिले उद्योग विभागको सेवालाई डिजिटलाइजेसन गरिएको छ । विदेशी लगानीकर्ताहरुले समेत अनलाइनबाटै स्वीकृति पाउन थालेका छन् । पूराना अभिलेखहरु डिजिटलाइज्ड गरिएको छ । १० करोडसम्मको वैदेशिक लगानीको स्वीकृति स्वचालित प्रणालीबाट हुने व्यवस्था मिलाइएको छ । योसँगै उद्योग प्रशासनको सेवा प्रवाहमा ‘प्याराडाइम सिफ्ट’ गराएको छ । विभागबाट सम्पादन हुने उद्योग दर्ता, विदेशी लगानी स्वीकृत, निर्यात अनुदान, भिषा स्वीकृत, लाभांश फिर्ताको सिफारिस, व्यावसायिक /कामदार भिषा सिफारिसलगायतका सेवाहरू अनलाइनमार्फत सञ्चालन गर्न आईएमआईएस प्रणाली सञ्चालनमा ल्याइएको छ ।
एकल विन्दु सेवा सञ्चालनमा
यस्तै अहिले उद्योग विभागले एकल विन्दु सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । औद्योगिक सुविधा तथा सहुलियत सिफारिस गर्ने, औद्योगिक सम्पत्तिसम्बन्धी प्रशासनिक काम,उद्योगहरूको वातावरणीय प्रभाव मूल्याङ्कन सम्बन्धी प्रतिवेदन स्वीकृत गर्ने लगायतका काम यही केन्द्रबाट भइरहेको छ ।सेवाको सुरुवात भएपछि स्वदेशी तथा विदेशी लगानीकर्ता उत्साहित भएका छन् । स्वदेशी तथा विदेशी लगानी प्रतिवद्धता वृद्धि हुँदै गइरहेको छ । सेवाग्राहीहरुले एकै ठाउँबाट सबै सेवा पाइरहेका छन् ।
उद्योग दर्तामा उत्पात
गत आवको पुस मसान्तसम्म १०३ स्वदेशी तथा विदेशी उद्योग दर्ता भएकामा यस आर्थिक बर्षको सोही अवधिमा १५४ उद्योग दर्ता भएका छन् । हालसम्म विभागमा दर्ता भएका उद्योगका संख्या ८ हजार ६०८ छन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ४५ ठूला, ५७ मझौला र ५२ साना उद्योग दर्ता भएका छन् । गत आवको सोही अवधिमा १७ ठूला, २१ मझौला र ६५ साना उद्योग दर्ता भएका थिए । हालसम्म एक हजार २५९ ठूला, एक हजार ९६६ मझौला र पाँच हजार ३८३ साना उद्योग दर्ता भएको विभागको अभिलेखमा उल्लेख छ । लघु उद्यम र घरेलु उद्योगबाहेक रु १५ करोडसम्म स्थिर पूँजी भएको उद्योगलाई साना, रु १५ देखि ५० करोडसम्म पूँजी भएका उद्योगलाई मझौला र रु ५० करोडभन्दा बढी पूँजी भएका उद्योगलाई ठूला उद्योगका रुपमा लिइन्छ । बढीमा रु २० लाखसम्म पूँजी भएको उद्योगलाई लघु उद्यम र परम्परागत सीप र प्रविधिमा आधारित उद्योगलाई घरेलु उद्योग भनिन्छ । गत आवको पुस मसान्तसम्म दर्ता भएका उद्योगमा रु ७२ अर्ब ६२ करोडको लगानी प्रस्ताव भएकामा चालु आर्थिक बर्षको सोही अवधिमा एक खर्ब ८६ अर्ब पुगेको छ ।
Advertisement 2
नक्कलीहरु भटाभट
नक्कलीहरुको बिगबिगी भएको जमानामा सक्कली सामान चिन्ने नै कसरी ? एउटा व्यवसायी फर्म र दुख गर्दछ,कठिन मेहनत गर्दछ र एउटा उद्योग वा बस्तुलाई ब्राण्ड बनाउँछ । अर्काे नक्कलीले त्यही व्राण्डको नाम बेचेर आर्जन गर्ने सपना देख्छ । अहिले यस्तै नक्कलीका कारण सक्कली व्यवसायीहरु हत्तु छन्,जो न्याय खोज्न सरकारी निकायतिर धाइरहेका छन् । ट्रेडमार्क चोरीको घटना यसरी बढ्दैछ कि अहिले आफ्नो ब्राण्ड चोरिएको उजुरीसहित उद्योग विभागमा एक हजार एक सय २५ वटा उजुरी परेका छन् । विशेष गरी फ्रुटी, बदाम ड्रिङ्स, रोयल स्टेज, रिक्स प्रिमियम व्लेन्डेड गोल्डेन ओक, मिट मसला, बबल गम जस्ता सामानमा ट्रेडमार्क चोरीले हैराजनी खेप्दै आएका छन्,व्यापारीहरु ।गोल्डेन ओकको ट्रेडमार्क चोरी गर्दै क्रिस्टल ओक ल्याइएको पाइएको छ । यसमा ‘रोयल स्टेग’, ‘गोल्डेन वक ह्विस्की’ र ‘ब्लू रिबण्ड’ नामका मदिराका लेवल चोरी भएको जनाइन्छ । रोयल स्टेक चाहिँ भारतीय ब्राण्ड हो । त्यसको हुबहु नक्कल गरी ‘रोयल ट्याग’ र ‘रोयल शर्ट’ को विक्रीवितरण हुँदै आएको छ । अर्काे आतंक छ तेलमा अहिले बजारमा “हेल्लो” र “सेल्लो” नाम गरेको दुई फरक सूर्यमुखी तेल छ्यापछ्याप्ती भेटिन्छ । यस्तो बदमासी “भोला” र “मौका” गुड्कामा समेत भेटिएको छ । उस्तै नाम,प्याकेट देखिने रेड ब्लु, रेड स्टार, रेड बेल, रेड डिमो जस्ता इनर्जी ड्रिकं बजारमा प्रशस्त भेटिन्छन् । उनीहरुलाई हामीले कानूनी दायरामा ल्याएर कारवाहि गरेका छौं ।
तिवारीको तत्परता
वैदेशिक लगानीको यस अघिको ५ करोडको सीमा हटाएर अहिले न्यूनतम सीमा २ करोड कायम गरिएको छ । घरजग्गा कारोवारमा विदेशीको अप्रत्यक्ष लगानीलाइ नियन्त्रण गरिएको छ । यसको लागि जग्गा पास गर्नु अगाडि अनिवार्य रुपमा उधोग विभागवाट स्वीकृत परियोजना प्रस्ताव एकीन गर्न सवै मालपोत कार्यालयलाई परिपत्र गरिएको छ । विदेशी लगानीलाई आकर्षित गर्न परराष्ट्र मन्त्रालयको समन्वयमा विदेशस्थीत नेपाली नियोगका प्रमुखहरुसग नेपालमा लगानी प्रवद्र्धन सम्वन्धी अन्तरक्रिया, विभिन्न देशका लगानीकर्ताहरुसग समय समयमा अन्तरक्रिया गरिएको छ । उच्च निर्यात सम्भावना भएका क्लिङ्कर, सिमेन्ट, स्टील, फुटवेयर, प्रशोधित पानी लगायतका वस्तुहरु र सूचना प्रविधिमा आधारित सेवा तथा बिजनेस प्रोसेस आउटसोर्सिङ जस्ता सेवाहरु पहिचान गरी निर्यात प्रबद्र्धन गरिएको छ । बैदेशिक लगानीको सीमा पुनरावलोकन, लगानीमा स्वचालित प्रणाली संचालनको कार्यविधि निर्माण, उद्योग विभाग एकल विन्दु सेवा केन्द्रको पूर्ण स्वचालन, औद्योगिक बौद्धिक सम्पति संरक्षणका लागि अनुगमन लगायतको कामलाई तिव्रता दिइएको सुनाउँछन् ।
Advertisement 3
भोगिए/देखिएका समस्या
उद्योग विभागमा अनेकौ समस्या उल्झनहरु देखिएका छन् । विदेशी लगानीकर्ताबाट भित्रिएको लगानीको लेखांकन, औद्योगिक व्यवसाय ऐन र आर्थिक ऐनबीच छुट सुविधाका सम्बन्धमा सामञ्जस्यताको अभाव, अनुमति लिनुपर्ने उद्योगहरुको अनुमति र क्षमता बृद्धि मापदन्डमा आधारित नहुनु, उद्योगहरुलाइ आवश्यक पर्ने कच्चा पदार्थ आयातमा समेत सहज नहुनु लगायतको समस्या रहेको उनको भनाई छ । उद्योग प्रशासन सञ्चालनमा सम्वन्धमा संघीय र प्रदेश सरकारबीच साझा धारणा निर्माण र सोही अनुसार क्षमता विकास नहुँदा कार्य सञ्चालनमा समस्या रहेको छ । ती समस्याहरुको सामाधानका लागि पनि विभागले आबश्यक छलफल र समन्वय गरिरहेको छ । एक वर्ष भन्दा बढी विभागको नेतृत्व गरेर बाहिरिँदा तिवारी केही समस्याप्रति बढो चिन्तित रहे, व्यापार घाटा दिन प्रतिदिन बढ्नुको कारण के हो ? विदेशी वस्तुसँग हाम्रा उत्पादनहरु किन प्रतिस्पर्धी हुन सकेका छैनन् ? नेपालमा चाहे जति विदेशी लगानी किन बढ्न सकेको छैन ? हाम्रा उद्योग व्यवसायहरु किन चाडै रुग्ण अथवा रुग्णोन्मुख हुन्छन् ? यस्ता प्रश्नको दीर्घकालिन सामाधान खोज्दा खोज्दै उनी अहिले मन्त्रालयमा पुगेका छन् ।