कर्मचारीका नेताले कसरी कमाउँछन्,करोडौं ?
एक जना सामान्य अधिकृतस्तरको कर्मचारीको आम्दानी कति हुन्छ ? अहिलेको तलबमान अनुसार अफिसरले सुख्खा तलबमात्र थाप्दा उस्को हातमा पर्ने ४३,६६८ मात्र हो । इमान्दार अफिसरहरु भन्छन् कि यो तलबले काठमाडौंमा जीवन धान्दै धौ धौ पर्दछ तर एक जना सोही तहका कर्मचारीले पछिल्ला पाँच बर्षमा करोडौंको सम्पत्तिमात्र जोडेका छैनन् । चुनाव ताका बालकोट दरबारमा पुगेर पार्टीलाई २० औं लाख सहयोग गरेका छन् । कहाँ र कुन स्रोतबाट आर्जन हुन्छ होला यस्तो धन ?
Advertisement 1
पुण्य ढकालहरुलाई बालकोट दरबारको गेट बन्द हुँदा पनि केदार देवकोटाहरु केपी ओलीका प्रिय पात्र थिए । अहिले अर्थ मन्त्रालयमा कार्यरत देवकोटा । ०७३ सालदेखि यता पाँच बर्षसम्म नेपाल निजामती कर्मचारी संगठनको अध्यक्ष चलाए । यो पाँच बर्षको अवधिमा सिन्धुली र काठमाडौंमा एकै पटक बंगला ठडाउन सफल पनि भए । देवकोटा निकटस्थहरुले इकर्मचारी डटकमलाई जनाए अनुसार एउटा घर सिन्धुली गोलनजोर गाउँपालिका र अर्काे बंगला छ,भक्तपुरको लोकन्थलीमा । लोकन्थलीमा चार आना जग्गामा साढे तीन तला घर देख्न पाइन्छ । यही अवधिमा छोरालाई डाक्टर र छोरीलाई इञ्जिनियर पठाएका छन्,प्राइभेट कलेजमा । डाक्टर र इञ्जिनियर पढाउन मात्र एक करोड घटी खर्चमा सम्भव हुँदैन । छोरीको विवाहमा गठ्ठाघरस्थित जर्मन होम्स पार्टी प्यालेसमा झण्डै २७ लाख खर्च गरेर भोज खुवाएका एमाले निकटकै कर्मचारीहरु सुनाउँछन् । लोकन्थलीमा जग्गा खरिद र घर निर्माण गर्दा झण्डै ५ करोड हाराहारी खर्च भएको आफ्नो निकटस्थहरुलाई सुनाउँदै हिड्छन पनि । मासिक ४४ हजार हाराहारी तलबकै भरमा यो सम्भव हुने कुरा होइन । उसो हो भने कुन स्रोतबाट आयो त पैसा ?
उनी यस अघि कोषाध्यक्ष हुँदा सिन्धुलीको ढुग्रेबासमा ६ कठ्ठा जग्गा जोडेको चर्चा पनि एमलो निकट कर्मचारी वृत्तमा व्याप्त छ । नेपाल निजामती कर्मचारी संगठनको चिठ्ठा खरिद र लेबीबाट उठेको रकम गोलमाल पारेको आरोप उनकै सहकर्मीहरुले लगाउन थालेका छन् ।
Advertisement 2
अघिल्लो बर्ष एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको राष्ट्रिय अधिवेशन सम्पन्न भनियो । अधिवेशन भनिए पनि ‘टिके’ नियुक्ति थियो त्यो । बालकोटले लेखनाथ कोइरालाको नेतृत्वमा टिका लगाएर नयाँ कार्यसमिति चुन्यो । सोही समयमा केदारले संगठनका पदाधिकारी पद लिलाम बढाबढ गरी द्रव्य संकलन गरेको चर्चा अहिले संगठनकै पदाधिकारीहरुले गर्न थालेका छन् । तत्कालीन केन्द्रीय सदस्य तथा हाल टिके सचिव देवेन्द्र ढकाल समूहबाट २५ लाख,राजश्व र भन्सारको ग्रुपबाट २५ लाख,सामान्य प्रशासनका रैथाने सुब्बा रामचन्द्र अधिकारीको ग्रुपबाट ५० लाख असुल गरिएको स्रोतको दावा छ ।
१५१ सदस्यीय कमिटिमा आवद्धमध्ये केन्द्रीय सदस्य बनाइएका कतिपयसँग केदारको लोकन्थलीमा घर बनाउँदा ऋृण लिएका र उनीहरुको ऋृण मिनाहा गरी केन्द्रीय पदाधिकारी पद साटिएको चर्चा पनि अहिले संगठनभित्र उठ्न थालेको छ । नेपाल निजामती कर्मचारी संगठनले सिंहदरबारको मुखैमा ७ करोड खर्चेर भवन निर्माण गरेको छ । सो भवनमा भएको अनियमिततामा समेत केदारहरुको संग्लनता रहेको आरोप लाग्दै आएको छ केदारमाथि ।
Advertisement 3
गत निर्वाचनमा उनै देवकोटाले एमाले पार्टीका लागि चुनाव खर्च भन्दै २० लाख रकम बालकोटमा लगेर बुझाएका थिए । कहाँबाट जुट्छ यत्रो रकम ? उनी अध्यक्ष हुँदाका ५ बर्षको समयमा यत्रो आर्थिक चलखेल गर्ने देवकोटामाथि किन अख्यिारले छानबिन गर्दैन ?
देवकोटा तिनै कर्मचारी हुन,जो ०७५ पछि कर्मचारी समायोजन हुँदा स्थानीय तह (सिन्धुपाल्चोकको बलेफी गाउँपलिका)मा परे । उनीझैं माओवादी निकट कर्मचारी संगठनका अध्यक्ष हरि रावल आधिकारिक टे«ड युनियनका उपाध्यक्ष भोला पोखरेल, निजामती कर्मचारी संगठनका तत्कालीन उपमहासचिव टेकनाथ न्यौपानेहरु स्थानीय तहमा परे । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा तोकिएका भोलाले केन्द्र फर्कने व्यवस्था मिलाए । केदारले आफू सवार बाइक बा २ ब ३९१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएको कागजपत्र बनाए । उनीले झैं टाठा बाठा धेरै कर्मचारीहरुले आफू गम्भीर मानसिक रोगी भएको भन्दै कीर्ते कागजात बनाएर संघमै फर्कन सफल पनि भएका थिए । यसरी मानसिक रोगीको सिफारिस बनाएर केन्द्रमै बस्न सफल हुने कर्मचारी नेताहरुको संख्या २६ जना रहेको सामान्य प्रशासनले जनाएको छ ।