इन्जिनियरको गैरकानुनी कमाइ पौने दुई करोडः अख्तियारले डाम्यो, विशेष अदालतले चोख्यायो
सडक विभागका तत्कालीन सुपरिटेन्डेन्ट इन्जिनियर चन्द्रनारायण यादवले सफाइ पाएका छन् । गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा बुधबार विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्य शालिग्राम कोइरालाको इजलासले उनलाई सफाइ दिएको हो ।
Advertisement 1
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ असार ०७७ मा उनीमाथि एक करोड ८५ लाख रुपैयाँभन्दा बढी बिगो मागदाबी गर्दै आरोप पत्र दायर गरेको थियो । सेवानिवृत्त यादवले जागिर अवधिमा एक करोड ८५ लाख ११ हजार ७२८ रुपैयाँ गैरकानुनी आर्जन गरेको आयोगको अनुसन्धानबाट खुलेको हो। जागिर अवधिमा यादवले दुई करोड ८७ लाख ८६ हजार ४६८ रुपैयाँ आर्जन गरेकोमा एक करोड दुई लाख ७४ हजार ७३९ रुपैयाँको मात्र स्रोत खुलेको अख्तियारले जानाएको छ।
२०३६ मंसिर २ गते सुनसरी–मोरङ सिँचाइ विकास समितिमा ओभरसियर पदबाट म्यादी नियुक्ति भई २०४७ असार १२ मा इन्जिनियर पदमा स्थायी नियुक्ति लिएका यादव २०७४ फागुन १६ सेवानिवृत्त भएका थिए। यस अवधिमा यादवले पारिश्रमिकबापत २७ लाख ४६ हजार ६३७ रुपैयाँ, दुर्गम तथा स्थानीय भत्ताबापत तीन लाख आठ हजार ४००, कृषि आय २६ लाख ८५ हजार ७०० रुपैयाँ आम्दानी गरेका थिए।
Advertisement 2
यस्तै कर्जा आय ३६ लाख ५६ हजार ९ सय, कर्जा मौज्दात आठ लाख ७७ हजार एक सय आर्जन गरेको खुलेको छ। यादवले पत्नि राधा कुमारी यादव र छोरी आँचल यादवको नाममा दर्ता कायम रहने गरी ३२ लाख २४ हजार दुई सय ५० को जग्गा खरिद, घर निर्माणमा ९२ लाख ८३ हजार चार सय ६४, कर्जा चुक्ता ३१ लाख ४८ हजार दुई सय, कर्जा बैंक मौज्दातमा आठ लाख ७७ हजार एक सय पुँजीगत लाभकरमा ५० हजार खर्च गरेको खुलेको छ।
यस्तै छोरी आँचल र छोरा आभूषणलाई चिकित्सा शास्त्र अध्ययनमा ८० लाख ५९ हजार चार सय १६, सेयर खरिदमा १५ हजार सात सय बैंक खातामा एकै दिन जम्मा भएको स्रोत नखुलेको ३५ लाख ५० हजार तथा खातामा जम्मा पाँच लाख ७८ हजार तीन सय ३३ रुपैयाँ रहेको अख्तियारले जनाएको छ। यादवको पतिपत्नी दुवैलाई विपक्षी बनाई सम्पति जफतको माग दाबी लिएर अख्तियारले सोमबार उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।