‘झापा- ५ का मतदाता जमिन नफेर्ने,बाली फेर्ने सोचमा छन्’

साढे १७ वर्ष त्रि–चन्द्र क्याम्पसको प्राध्यापनबाट राजीनामा दिएर ०७४ सालकै निर्वाचनमा केपी ओलीसँग प्रतिस्पर्धामा उत्रिएका डा खगेन्द्रपाण्डव अधिकारी फेरि पनि ओलीसँगै प्रतिस्पर्धामा छन् । ०७४ मा ओलीले महागठबन्धन गरेर ५७ हजार १३९ मत प्राप्त गर्दा अधिकारी एक्लैले २८ हजार २९७ मत ल्याएका थिए । यसपटक पासा पल्टिएको दावा गर्दछन् अधिकारी । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले समेत मत दिनेमा ढुक्क छन् । कांग्रेसको विगतका ३ महाधिवेशनमा अत्यधिक मतसहित प्रतिनिधि भइसकेका अधिकारी केन्द्रीय अनुसन्धान तथा अभिलेख र राज्य प्रशासन विभाग सदस्यसमेत हुन् ।

Advertisement 1

० अघिल्लो पटक ओलीसँगै पराजय भोग्नुभएको, फेरि भिड्दै हुनुहुन्छ । जित्छु भन्ने आत्मविश्वास कसरी पैदा भयो ?

– ०७४ सालको निर्वाचनमा नेपाली कांग्रेस एक्लो थियो । ओलीले महागठन्धन गरेर ५७ हजार १३९ मत प्राप्त गर्दा म एक्लैले २८ हजार २९७ मत पाएको थिएँ । त्यो समयमा पनि मलाई अत्यन्तै सहानुभूति प्रकट भएको हो । यदि ०७४ मै ओली र म एक्लाएक्लै लडेको भए उनलाई जित्ने थिएँ । ०७४ मा केपी ओलीको पार्टीलाई जुन जुन दलको समर्थन थियो यसपटक तिनको साथ हामीलाई छ । उहाँको दल एक्लोजस्तो छ । त्यो पनि मेरालागि जित्ने अर्काे आधार हो । गठबन्धनबीचको ऐक्यवद्धता, पार्टीभित्रको मजबुत एकता र पछिल्ला पाँच वर्षमा केपी ओलीले गरेका हावादारी भाषण,उखान टुक्का र यो क्षेत्रका लागि कुनै पनि योगदान नगरेका कारण मतदातामा पैदा भएको वितृष्णा मेरा जित्ने आधार हुन् ।

Advertisement 2

० केपी ओलीले चुनाव नजित्ने आधार के त ?

– गत स्थानीय निर्वाचनमा हाम्रो क्षेत्रमा रहेका दुईवटा नगरपालिका र दुईवटा गाउँपालिकामध्ये हाम्रो गठबन्धनले तीन वटा पालिकामा विजय हासिल गरेका छौं । गठबन्धनको उक्त मत उहाँहरूको भन्दा झण्डै ८ हजारले बढी छ । हिजो गौरीगञ्जमा माओवादी एक्लै चुनाव लडेको थियो । अहिले ऊ हामीसँगै छ । त्यही कारण पनि धेरै ठूलो मतको फरक पर्ने देखिन्छ । अहिले ओली एकदमै हतास मानसिकताबाट घरदैलो गरिरहनुभएको छ । प्राध्यापन पेशा छाडेपछि म त्यही क्षेत्रका जनताको सुख दुःखमा सँगै छु । निरन्तर विकास निर्माणको कुरा उठाएको छु । ओलीले झूठा आश्वासन दिने गरेको विषय सबैलाई थाहा छ । रंगशाला, सभागृहदेखि रतुवापुल ५ बर्षमा पूरा नभएको, मेडिकल कलेज बनाउन छाडेर भ्युटावर ठड्याइएको विषय प्रत्युत्पादक भएको विषय जनताले उठाइरहेका छन् । अघिल्लो पटक मेरो धान त झरिलै फलेको हो । उहाँले आफ्नो मात्र होइन छरछिमेक कसैको दश कठ्ठा, कसैको १२ कठ्ठा धान एकीकृत गरेर आफ्नै खलोमा दाँइ गर्नुभयो र थुप्रो ठूलो देखियो ।

Advertisement 3

एक्लाएक्लै लडेको भए मैले जित्ने थिएँ । ०७४ सालको निर्वाचनमा मेरो जुन हालत थियो अहिले ओलीको उस्तै छ । स्थिति ठयाक्कै पल्टी खाएको देखिरहेको छु । केपी ओली दुई पटक प्रधानमन्त्री,पार्टी अध्यक्ष भइसकेको व्यक्ति, स्रोत साधनले सम्पन्न । साढे तीन वर्षसम्म मुलुकको प्रधानमन्त्री भए पनि यस क्षेत्रको विकासमा कुनै योगदान गर्नुभएन । बरु दुई पटकसम्म संसद् विघट्न गरेर मुलुकलाई दुर्घटनामा फसाउने काम भयो । मुलुकलाई ऋणको गलपासोमा फसाउने, उखानटुक्का र उडन्ते गफ गरेर जनता झुक्याउनेबाहेक के काम भयो र ? पटक पटक टेस्टेट भइसकेका नेता । अहिले भोटर थेग्नलाई विभिन्न हतकण्डा फैलाइरहनुभएको छ । पुराना कम्युनिष्टहरूसँग कुराकानी हुँदा माले कालदेखि बनाएको पार्टी केपी ओलीले समाप्त पारे भन्ने आरोप छ । एमालेका साथीहरू भन्छन्, यसपटक हामी जमिन फेर्दैनौं तर बाली अवश्य फेर्छाैं ।

० स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर राप्रपाको मेयर जिताउनुभयो । अहिले राप्रपा ओलीसँग चुनावी तालमेलमा छ । राप्रपाको मतले तपाइँलाई कत्तिको अप्ठ्यारो पार्ला ?
– स्थानीय निर्वाचनमा राप्रपाका उम्मेदवार राम थापालाई ठूलो सहयोग गरेर मेयरमा जिताएका हौं । चुनावमा माओवादी,कांग्रेस र राप्रपाका साथीहरू काँधमा काँध मिलाएर हिँडेको मानसपटलमा ताजै छ । उहाँहरू गुन तिर्ने पर्खाइमा हुनुहुन्छ भन्नेमा पूर्ण विश्वस्त छु ।

० तपाईंहरूले गठबन्धन गरेर हिजो मेयर जिताउनुभएका राम थापाको केही प्रतिक्रिया वा प्रतिबद्धता पाउनुभएको छ ?

– धेरै कुरा अहिले नभनौँ । नेकपा एमालेसँग गठबन्धन गर्ने भनिए पनि सबैसँग कुराकानी भइरहेको छ । उहाँहरू गुन र नुन तिर्ने पर्खाइमा हुनुहुन्छ भन्ने मेरो बुझाइ छ ।

० अघिल्लो पटक ओलीसँग पराजय भोग्नुपरेपछि पार्टीभित्रै भूमिकाविहिन रहनुभयो, तपाईमाथि एमालेले निषेधपूर्ण राजनीति चलायो । त्यो कष्टपूर्ण क्षण कसरी स्मरण गर्नुहुन्छ ?
म भूमिकाविहिन थिइन । काम गर्ने मान्छेलाई पदले खासै ठूलो असर गर्दाे रहेनछ । हिजो कुनै पद नपाए पनि पार्टीले ९१ सिट पाउँदै गर्दा मलाई झापाबाट दोह्रोएर टिकट दियो । त्यो पनि ठूलो भूमिका हो । सबै साथी,सहकर्मी,नेताहरुले माया गरेर प्रत्येक पार्टीको युनिटमा निर्वाचित गरेका छन् । त्यसकारण म आफूलाई भूमिकाविहिन भएको ठान्दिन । भोलिका दिनमा मेरा काम कर्मले आपसे आफ ती भूमिका पाउनेछु । झापा क्षेत्र नम्बर पाँचका मतदाता जमिन नफेर्ने,बाली फेर्ने सोचमा छन् ।

प्रकाशित :२०७९ कार्तिक २३, बुधबार १२:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry