बदलिदो विश्व अर्थतन्त्र र ईकमर्श

विश्वव्यापीकरणका आर्थिक, सामाजिक, शासकीय र सांस्कृतिक आयाम भएपनि प्रमुखतः यो आर्थिक आवद्धीकरणको प्रक्रिया हो, जसलाई प्रविधिले औधी सघाएको छ । विश्वव्यापीकरणमा तीन पात्रहरु मानिस, बहुराष्ट्रिय कम्पनी र सरकार आआफ्नै सहजतामा क्रियाशील रहन्छन् । प्रविधिले त्यसको मध्यस्थता र सहजीकरण गर्दछ । विश्वव्यापीकरणको आर्थिक आयाम हेर्दा सेवा र बस्तुहरुको प्रवाह, वित्तीय तथा उत्पादन प्रक्रियाको विबिधीकरण, आर्थिक संगठनहरुको गतिशीलता विस्तार र विशिष्ठीकरण देखिन्छ । जहा श्रम, व्यापार, वित्त र ज्ञान सीमाहीन अन्तरक्रियामा रहन्छन् । समकालीन विश्व यही प्रक्रियामा तिव्रत्तर छ ।
विश्वव्यापीकरणका प्रमुख चार चालकहरु छन् :- पहिलो, सञ्चार तथा सूचना प्रविधिको तीव्र प्रयोग, दोस्रो, व्रोडव्यानको व्यापक विस्तार, तेस्रो अंग्रेजी भाषा र चौथो अन्तराष्ट्रिय मञ्चहरु । यी चालकहरु अतिनै गतिवान छन् । तर यो प्रक्रिया स्वचालित छ । यस प्रक्रियाबाट कुनैपनि व्यक्ति, समाज, राष्ट्र र संस्था अपवाद रहनसक्ने अवस्था छैन । किनकी सेवा, वस्तु, सुविधा र ज्ञानको उपभोगबाट कोही पनि अछुतो छैन । त्यसका मात्रा मात्र फरक हो । समाज र अर्थतन्त्रको अवस्था एवम् स्तर अनुरुप विश्वव्यापीकरणको अवसर उपयोग भैरहेको छ । त्यसैले चाहेर पनि कोही पूर्ण अपवाद बन्छु भन्न सकिने अवस्था छैन । हामीहरु दैनिक रुपमा बाह्य कारोवार गर्दछौ, आयात निर्यातमा संलग्न रहन्छौ, प्रविधिको प्रयोग गर्छौ, नया स्वाद र सन्तुष्टीको खोजी गर्छौ । उपभोक्ता चाख र समाजको संकेत अनुसार विचार, प्रविधि र सेवाबस्तुको उत्पादन एवम् प्रसार भैरहेको छ । उपभोक्ताहरु निरन्तर नया नया स्वादको खोजीमा छन् र त्यसै अनुसार ब्यापारिक कम्पनीहरु बजार विस्तार र अन्वेषणमा कुदिरहेका छन् ।

Advertisement 1


विश्वाव्यापीकरणको प्रक्रिया बढ्दै जाँदा सीमाहीन रुपमा बस्तु, सेवा र वित्तीय कारोवार हुन थालेको छ । इन्टरनेटले सघाएको कारण भर्चुल स्टोर र भर्चुल अन्तरक्रिया सम्भव भएको छ । गोदाम विनाको व्यापार अकल्पनीय रुपमा बढेको छ । विद्युतीय सञ्चार र डिजिटल सूचनाबाट उत्पादन, उपभोग र वितरणका सम्बन्धमा नया आयाम थपिन गै थप मूल्य सिर्जना (भ्यालू एडिसन) हुन थालेको छ । बजारीकरण, भुक्तानी र हिसाव मिलान पनि डिजिटल माध्यमबाट हुदा सेवा लागत उल्लेख्य रुपमा घटेको छ । विद्युतीय कारोवार (ई–कमर्श) को सर्वव्यापी पहूच, सघनता, अन्तरक्रियात्मकता र सूचनामूलकताका कारण यसले दिनप्रतिदिन आफ्नो महत्व र औचित्य बढाउदै छ । ई–कारोवारले व्यापार मात्र होइन, उत्पादन र स्तरीयतालाई पनि बढाएको छ । हवाई टिकट, होटेल बुकिङ् जस्ता यात्रा व्यवस्थापनमा यसले औधी लोकप्रीयता हासिल गरिसकेको छ । वित्तीय मध्यस्थता सेवा, स्वास्थ्य र शिक्षा व्यवसायमा यसले उल्लेख्य प्रभाव पारिसकेको छ । यसले मूल्यअभिबृद्धि र व्यापारमा मात्र योगदान गरेको छैन, सामाजिक सम्बन्धको बेग्लै आयामलाई पुनर्वोध समेत गरेको छ । पक्षहरुबीच भिडियो क्लीप, अडियो फाइल, अनलाईन कोर्स, लाइभ च्याट, सकवेभ, साइट पर्सोनालाइजेशन जस्ता डिजिटल संयन्त्रले अन्तरक्रियाका सवै अवरोधहरु भत्काइ कारोवारलाई सहजीकरण गरेको छ ।


सन् १९९५ मा शुरु भएको विद्युतीय कारोवार प्रत्येक बर्ष १६ प्रतिशतले बृद्धि भै ‘ग्रोथ मार्केट बबल’ सिर्जना गरेको छ र बहुराष्ट्रिय कम्पनीहरु कर्पोरेट गुरिल्लाका रुपमा दैडिरहेका छन् । पे–पल, ई–बे, अमेजन डट कम, अलिबावा समूहले ई–कर्मशमा अग्रणि भूमिका निभाउदै आए पनि विद्युतीय व्यापार प्रक्रियामा हजारौ प्रविधि संस्थाहरु, बहुराष्ट्रिय निगम, बैङ्किङ सञ्जाल, र फ्रेञ्चाइजहरु यस क्षेत्रको विकासमा अनवरत लागिपरेको छन् । अहिले पनि विचार र प्रविधिका सर्जकहरु ई–कमर्शका नया नया क्षेत्रमा आविस्कार, पुनर्आविस्कार र नवप्रवत्र्तन गरिरहेका छन् । औद्योगिक मुलुकहरु डिजिटल व्यवहारलाई प्रोत्साहन गर्ने उत्प्रेरक बनेका छन् र राष्ट्रिय कार्यसूचीमा यसलाई प्राथमिकतासाथ जोड दिइरहेका छन् । व्यावसायिक क्षेत्र निकै उत्साही एवम् आक्रामक छ, र निरन्तर उत्पादन, बजारीकरण, वितरण सङ्गठन एवम् उपभोग व्यवहार बदलिरहेको छ । कूल व्यापारमा युरोपमा ३४, अमेरिकमा २९, एशियामा २७ र अन्य मुलुकमा करिव १० प्रतिशत हिस्सा ई–कमर्शले ओगटेको छ । कोरोना महामारीले ईकमर्शको आयतन धेरै विस्तार भएको छ । अर्थतन्त्रहरु सकी नसकी विद्यूतीय व्यापारमा लागेका छन् । त्यसैले कतिपयले भन्ने गरेजस्तो यो भूमण्डलीकरणको प्रक्रिया हो । यस प्रक्रियाले आफैले सीमा र गन्तव्य निर्धारण गर्दै आएको छ, र यो अनन्त पनि छ ।
विद्युतीय व्यापार र व्यावसायिक अन्तरक्रियाका क्षेत्रहरु धेरै छन् । विशेषतः व्यापारबाट व्यापार (वि टु वी), व्यापारबाट उपभोक्ता (बि टु सी), उपभोक्तबाट व्यापार (सी टु वि), व्यापारबाट व्यापार हुदै उपभोक्ता (वि टु वि टु सी), व्यापारी समुदाय र शासकीय तह (वि टु जी), मोवाइल कमर्श, लोकेशन कमर्श, इन्ट्राविजनेस र एक्सचेन्ज टु एक्सचेन्जमा सघन अन्तरव्यवहार बढ्दै गएको छ । यसले क्रयविक्रयमा शीघ्रता, न्यून कारोवार लागत, २४÷७÷३६५ को कारोवार, सीमाहीन पहूच, धेरै चयन विकल्प, भौतिक मुखामुख अन्तरक्रियाको सट्टा डिजिटल अन्तरक्रिया, साझा मूल्य स्थापना र समावेशी समाज निर्माण गर्न सजिलो, सस्तो र स्तरीय सेवाको प्राप्ति सहज गरेकाले ई–कमर्शले प्रख्याती कमाएको छ । लागत, संरचना, सीमाविहीनता, पहूच र वैयक्तिक आग्रहभन्दा परको व्यवहारका कारण यसले जीवनपद्धतिलाई प्रभाव पारेको हो । यसको प्रभाव सार्वजनिक क्षेत्रमा पनि पर्न थालेको छ । शासकीय व्यवहार (सरकारी बजार) मा डिजिटल प्रविधिको उपयोग (ई–गभर्नेन्स) ले सेवा व्यवहार, सरकार नागरिक अन्तरक्रिया र पृष्ठपोषण सहज हुनथालेको छ । पहूच, पारदर्शिता र प्रभावकारिता यसले छाडेका उपलव्धि हुन् ।
ई–कर्मशका फाइदा मात्र होइन, केही जेखिम र चुनौती क्षेत्र पनि छन्, जसका कारण यो आलोचित पनि बन्ने गरेको छ । यसप्रति नियमनको माग भैरहेको छ । यसको प्रमुख कमजोर पक्ष भनेको ई–कमर्शले मानवीय संवेदनालाई उपेक्षा गर्दछ । प्रदाता र उपभोक्ता पक्षहरुबीच भौतिक सम्बन्ध अलग्याउछ । साथै बस्तुको पूर्व परीक्षणमा कठिनाई ल्याउछ । स्तरीय उत्पादन हुन्छ भन्ने अनुमानमा उपभोक्ता रहन्छन्, यदि अनुमान सही सावित नभएमा उपभोक्ता ठगिन्छन्, जनस्वास्थ्यमा असर पर्छ । धेरै कारोवार क्रेडिट÷डृभिड कार्डबाट हुने हुदा यसको सुरक्षण प्रणाली दरिलो नभएमा ठगी र अपचलन रहनसक्दछ । नियमन कार्य पनि जटिल छ । पक्षहरुबीच भर्चुअल मुद्रा (विट क्याइन) कारोवारको नियमनमा ल्याउन सकिदैन । अन्य स्वरुपमा क्रीप्टोकरेन्सीको प्रचलन हुनसक्छ । पक्षहरुबीच डिटिल सम्बन्धलाई औपचारिकता दिन नसक्दा करारोपणको समस्या पर्छ । अल्पविकसित मुलुकहरु कराधार गुमाउन पुग्छन् ।

Advertisement 2

धनसम्पत्ति वितरणमा असमानता आउन सक्छ । मानवीय पूजीको उपेक्षा हुन्छ । केन्द्रीय मौद्रिक पदाधिकारी (राष्ट्र बैंक जस्ता संस्था) को क्षमता र राज्यका अन्य निकायको शक्ति क्षयीकरण हुन्छ । अवसर र साधनको केन्द्रीकरण हुन्छ । नेपाल जस्ता मुलुकहरुका लागि खर्चिलो र प्राविधिक जोखिम पनि छ । जस्तो कि कम्पुटर संयन्त्र, इन्टरनेट पूर्वाधार जस्ता पक्षहरु खर्चिला हुन्छन् । सेवाबस्तु उपभोगभन्दा पूर्वाधार लागतको राशी ठूलो हुन्छ । बार्षिक अर्वौ रुपैया इन्टरनेट सेवाको भुक्तानी हुनसक्छ । व्यक्तिगत तहमा पनि यसको असर ओजनदार छ । वैयक्तिक पहिचानको अदृश्यता रहन्छ । श्रम प्रधान मुलुकहरु ज्ञानप्रधान प्रविधिका उपभोक्ता बन्दछन् र अर्थतन्त्र महङ्गो तर जञ्जालीकृत हुन्छ । त्यसै त कम प्रतिस्पर्धा क्षमता भएका मुलुकहरु अन्तराष्ट्रिय ब्राण्ड र उत्पादनका पारखी हुन्छन् । व्यापार तथा आपूर्ति प्रणालीमा ठूला ब्राण्ड र केही कम्पनीहरुको अधिपत्य स्थापित हुनसक्छ । युवापुस्ता ई–व्यवहारको नशामा मुग्ध हुन्छन् र बृत्ति चयनका क्षेत्रमा अल्मलिन सक्छन् ।
प्रविधिले लागतदक्षता मात्र बढाएको छैन, जनजीवनका हरेक पक्षलाई पनि प्रभाव पारेको छ । पुस्ता, प्रविविध र व्यवहारबीच अभूतपूर्व तालमेलले विद्युतीय व्यवहार जीवन पद्धति बन्दैछ । यसबाट हच्किने वा डराउने होइन, पूर्वाधार, शिक्षा र सावधानीमार्फत फाइदा लिनुको विकल्प छैन ।

प्रकाशित :२०७७ माघ १४, बुधबार ११:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry