दाइलाई राजदुत,भाइलाई तक्मा,सिफारिसमा अरु को को परे कर्मचारी ?
हरेक कुरामा रेकर्ड तोड्न माहिर प्रधानमन्त्री शेरबहादुर देउवाले फेरि अर्काे रेकर्ड ब्रेक गर्दै हुनुहुन्छ । आफ्नो पूरानो रेकर्डलाई तोड्दै प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान दिवसको दिन अर्काे रेकर्ड कायम गर्न लाग्नुभएको हो तक्मामा । अघिल्लो बर्ष ओली सरकारले सिफारिस गरेको तक्मामा थपथाप पारेर ९ सयभन्दा बढीलाई बाढिएको तक्मा यस पटक ११ सय भन्दा बढीलाई बाढ्न लागिएको गृह मातहतको विभूषण शाखाले जनाएको छ ।
Advertisement 1
पदक तथा मानपदवी पाउन न्यूनतम योग्यता के हुनुपर्ला ? सरकारले बनाएको मापदण्डले भन्छ, राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याएको हुनुपर्ने । तर पञ्चायत र शाहीकालीन शैलीलाई समेत माथ खुवाउने आगामी ३ असोजमा (संविधान दिवस) तक्माका लागि नाम सिफारिस भएकामा प्रधानमन्त्रीदेखि मन्त्रीका सचिवालयमा बसेर खेलो फड्को गर्नेहरुको बोलबोला रहेको विवरण गृह स्रोतले उपलव्ध गराएको छ ।जसमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका स्वकीय सचिव,उपसचिवसदेखि परराष्ट्रमन्त्री,स्वास्थ्य मन्त्रीका पिएसम्मका नाम गृहमा पुगेको छ ।
प्रधानमन्त्री कार्यालयबाट स्वकीय सचिव विरेन्द्र बहादुर थापा,स्वकीय उपसचिव तेजराज भण्डारीको नाम तक्मा सिफारिसका लागि गृहमा पुगेको छ । यस्तै परराष्ट्र मन्त्रालयमा क्षत्रीको आतंकै छ । हालै मात्र दाई दुवसु क्षत्री राजदुत बनेर जापानतिर प्रस्थान गरेका छन् । उनका भाई कुसृ क्षेत्रीको नाम साहित्यिक कोटाबाट तक्माका लागि गृहमा पुगेको छ । यस्तै स्वास्थ्यमन्त्रीको निजी सचिवमा कार्यरत भक्त खड्कादेखि सिफारिसकर्ता सहसचिव मदन भुजेलले आफ्नो नाम आफैंले तक्माका लागि सिफारिस गरेर गृहमा पठाएको भेटिएको छ । यस्तै प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोबिन्द परियारसहित ५ जना काँग्रेस निकट पत्रकारहरुको नाम समेत तक्माका लागि सिफारिस भइ प्रधानमन्त्री कार्यालयबाट गृहमा पुगेको जनाइएको छ । निजामती कर्मचारीहरुमा सहसचिव शंकर केसीदेखि उर्जाका उपसचिव मुकेश पाठकदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीलाई कर्मचारी सरुवामा सहयोग गर्दै आएका उपसचिव रविन्द्रजंग थापाको नाम पनि गृहमा पुगेको छ । गत असार मसान्तसम्मका विभूषण समितिमा समाजसेवी २० जना,१० जना बैंकरको नाम सिफारिस भएर पुगेको छ ।
Advertisement 2
पछिल्लो समय तक्मा तथा विभूषण पाउने भन्दा नपाउनेको इज्जत छ । विभिन्न काण्डमा डामिएका व्यक्तिहरुले समेत तक्मा तथा विभूषण पाउन थालेसँगै ०६७ सालदेखि यता झण्डै ३ सयले तक्मा बहिष्कार गरेको छन् । सबैभन्दा बढी ०६७ सालमा ६९ जनाले विभूषण बहिष्कार गरेका थिए । तक्मा नलिनेमा दमननाथ ढुंगाना,नीलकण्ठ उप्रेती, शम्भु थापा,सुबोध प्याकुरेल,सिके लाल, रामेश श्रेष्ठ,ज्ञानचन्द्र आचार्य,मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रेखा थापा, सीताराम कट्टेल, कुञ्जना घिमिरे, गायक पशुपति शर्मासम्म छन् । यस्तै गत बर्षमात्र कृष्णज्वाला देवकोटा,नारायण अमृत लगायतका पत्रकारहरुले तक्मा बहिष्कार गरेका थिए ।
गृहका कतिपय कर्मचारी लाजै पचाएर विभूषण समितिमै बसेर तक्माका लागि आफ्नो नाम आफैं सिफारिस गर्दै आएका छन् तर त्यही गृहमा लामो समय व्यतित गरेका रिटायर्ड सहसचिव तथा साहित्यकार षडानन्द (प्रतीक) ढकाल त्यस्ता अपवाद हुन जस्ले वामदेव गौतम उपप्रधानमन्त्रीसहित गृहमन्त्री हुँदा दुई पटकसम्म तक्मा सिफारिस गरि पठाइएको आफ्नो नाम आफैंले काटेका थिए । त्यसपछिका गृहमन्त्री भीम रावलले तक्मा लिन गरेको आग्रहलाई समेत उनले नकारेका थिए । अहिले त त्यस्ता अपवाद कर्मचारीहरु कहाँ भेटिनु ? हिमालसम्बन्धी १० वटा पुस्तक प्रकाशन गरेका ढकालले केन्द्रको तक्मा गए गुज्रेका मान्छेले समेत लिएको र तक्मा पाउनेको भन्दा नपाउनेकै इज्जत रहेको भन्दै केन्द्रको तक्मा बहिष्कार गरेको प्रतिक्रिया दिए । उनले हालै बाग्मती प्रदेश सरकारले महाविर पुन,सन्दुक रुइतसँगै दिइएको तक्मा भने स्वीकार गरेका छन् ।