सुन हग्ने घोडा
Advertisement 1
भेडापाल देशमा एकजना दानपाल नाम गरेको धनी साहु थियो । ऊ सुनको माला लाएको घोडामा चढेर हिँड्थ्यो । एक दिन बिहान दानपाल घोडाको तबेलामा गयो । घोडाको घाँटीमा सुनको माला थिएन । उसले सयसलाई सोध्यो – माला खै ?
सयस – हिंजो साँझसम्म त घाँटीमै थियो । कोही आएको पनि छैन । यो त अचम्मै भयो मालिक ।
दानपाल – यो तेरो काम हो । तैंले नै चोरेको हो ।
सयस चुप लागिरह्यो । बोल्नुको कुनै तुक थिएन ।
दानपालले तत्कालै घोडा बेचिदियो ।
सयस नयाँ घोडा साहु धनपालको घरमा पुग्यो ।
सयस – साहुजी यो घोडाले सुन हग्छ ।
धनपाल – मलाई मूर्ख ठानेको ?
सयस – भोलि बिहानै प्रमाण दिन्छु ।
भोलिपल्ट बिहानै दुबैजना तबेलामा गए । लादी खोतलेर हेर्दा सुनको माला भेटियो । धनपालले उसलाई प्रशस्त धन दिएर “कतै हल्ला नगर्नु है!” भनेर पठायो । सयसलाई दानपालसङ्ग अति नै रिस उठेको थियो । उसले एउटा गाइने दाइलाई केही धन दिएर दानपालको गाउँ पठाएर आफू अर्कै देशतिर भाग्यो ।
दानपालको गाउँमा गएर गाइने दाइले गाए – “सुन सुन गाउँले दाजु सुन दिदी सुन , दानपालले घोडा बेचे हग्न थालो सुन ।”
गाइने दाइ त बाटो लागे , तर दानपालको दिमाग खराब भयो । ऊ एकदिन बिहानै धनपालको तबेलामा गएर लादी कोट्याउन थाल्यो । धनपालले सोच्यो – अहो ! यसले पो सुन खोतलेर लैजाँदो रहेछ ।
दानपाल भक्कु कुटाइ खाएर फर्क्यो । उसलाई सबैले सुनचोर भनेर बदनाम गर्न थाले । दानपालले मनमनै सोच्यो – अहो ! यो धनेले त बर्बादै पो पार्यो । अब यसका पिछलग्गुहरुलाई ठीक पार्नुपर्छ ।
दानपालले भव्य भोजको आयोजना गर्यो । धनपाल बाहेक सबै उपस्थित भए । भोजको मगमग बास्ना आइरहेको थियो । यसैबीचमा दानपालको कारिन्दाले घोषणा गर्यो – जसले यो भोजमा चार जनालाई लाग्ने खर्च बेहोर्छ त्यसलाई माला लगाएर सम्मान गरिनेछ ।
एक जना उठेर भन्यो – म तयार छु ।
उसले चार जनाको खर्च जम्मा गरिदियो । दानपालले माला पहिराउँदै उसको उदारता र दानशीलताको बखान गर्यो । यो देखेर अर्को उठ्यो , अझ अर्को उठ्यो , अन्त्यमा सबै उठे र रकम जम्मा गरे । दानपाल मालामाल भयो ।
एकदिन कताबाट एउटा जोगी धनपालको गाउँमा आइपुग्यो । उसले के देख्छ भने एकजना मानिस ढिकीमा भुस कुटिरहेको छ ।
जोगी – किन भुस कुटेको ?
मानिस – कनिका आउँछ कि भनेर ।
जोगी – कसको भुस हो ?
मानिस – धनपाल साहुको हो । साहु “यो भुस कुटेर केलाउनु , कनिका लैजानु र मसिनो भुस डालोमा राखिदिनु , मेरो घोडाले खान्छ” भनेर गए । धेरै भुस कुटियो । अझै त कनिका आएको छैन , तर कसो नआउला भनेर प्रयास गर्दै छु , मसिनो भुस धनपालको घोडाले खान्छ ।
जोगी “यस गाउँका मानिस त साह्रै चलाख” भन्दै धनपालको घरतिर लाग्यो ।
जोगी – कति सुन जम्मा भयो त धनपाल साहु ?
धनपाल – यो घोडाले धोका दियो बाबा ! सुन त मरे हग्दैन , लादी सोहोर्दै हैरान छ ।
जोगी – खुराक पुगेन । घोडा राजालाइ बेच । उता खुराक पुग्छ , अनि सुन हग्छ ।
धनपाल – राजाले किन्लान ?
जोगी – किन्छन । हिसाब भने फिफ्टी फिफ्टी है !
जोगी राजाकहाँ गयो । राजाले पनि सुन हग्ने घोडाको गाथा सुनेको रहेछ । राजा उल्कापालले प्रशस्त धन दिएर घोडा किनेर लग्यो । धनपाल र जोगीले हिसाब फिफ्टी फिफ्टी गरे ।
धनपाल – हे जोगी बाबा ! राजाकहाँ पनि घोडाले सुन हगेन भने त मार्छ ।
जोगी – हग्छ । किन हग्दैन ? हाम्रो राजा तिमीजस्तो नाथे धनपाल हो र ? राजा त उल्कापाल हो नि !उल्कापाल !!
जोगी त्यही धनको बलमा महाँको भोगी भएर बस्नथाल्यो ।
राजाको तबेलामा घोडाले दिनदिनै सुनको माला हग्न थाल्यो । राजा उल्कापालको देशावरमा नाम चल्यो । कसै कसैले “घोडाले कहीँ सुन हग्छ ? सब झूटा हो” भनेर के मुख खेलाएका थिए , उल्कापालका सेनामेनाले “ला अब खेला तेरो चोथाले मुख” भन्दै मुखै च्यातिदिए ।
एक दिन आधा रातको समय । महारानीले राजा प्रफुल्ल भएको मौका छोपेर बिन्ती गरिन् – मेरो महाराजको घोडाले सुन हग्छ । ढुकुटी सुनै सुनले भरिएको छ । तर मेरा लागि त्यो ढुकुटी ल्हासा जस्तै टाढा भयो । एउटा औंठी पनि बनेन मेरा लागि ।
राजाले रानीलाई ढुकुटी देखाइदियो । ढुकुटी रित्तो थियो ।
रानी – सुन खै त ?
राजा – मलाई ठूलो धोका भयो रानी । जब घोडाले सुन हगेन , अनि बल्ल होस आयो । जताततै राजा उल्कापालको घोडाले सुन हग्छ भन्ने हल्ला भइसकेको थियो । मैले घोडाले सुन हग्दैन भन्ने कुरा पहिले नै बुझ्नुपर्थ्यो , बेलामा बुद्धि आएन ।मैले मूर्ख बनेर नाम बदनाम गराउनुभन्दा इज्जत जोगाउनुमै कल्याण सम्झेर एउटा उपाय निकालेको छु । म दिउँसो कोही नभएको मौका छोपेर सुटुक्क एक्लै गएर घोडालाई सुन खुवाउँछु । त्यही सुन बिहान हग्छ ,अरुले झिकेर सफा गरी ल्याएर दिन्छन ।
रानी – थुक्क मूर्ख ! तैपनि मानिसहरु तिमीलाई बुद्धिमान मान्छन ।
राजा – हो रानी ! किनकि उनीहरू मभन्दा पनि मूर्ख छन ।
(कोरोनाकालमा रचित लघु दन्त्यकथा)