रसुवागढी-केरुङ नाका दुईतर्फी सञ्चालन गर्ने सहमति

नेपाल र चीनबीच कोरोना महामारीपछि करिब बन्द रहेको रसुवागढी नाका पूूर्णक्षमतामा सञ्चालनमा ल्याउने सहमति भएको छ।
Advertisement 1
दुई देशबीच हुम्लाको हिल्सा नाका पुनः संचालनमा ल्याउने सहमति पनि भएको छ। बिहीबार सिमानासम्बन्धी द्विपक्षीय परामर्श भर्चुअल बैठकमा यसबारे सहमति भएको छ । तर, कहिलेबाट खोल्ने भन्ने मिति तय भएको छैन । भर्चुअल माध्यमबाट भएको बैठकमा परराष्ट्रका उत्तरपूर्वी एसिया महाशाखा प्रमुख लोकबहादुर थापाले नेपाली पक्षको नेतृत्व गरेका थिए भने चीनका तर्फबाट चिनियाँ विदेश मन्त्रालयका सीमा तथा समुन्द्री मामिला विभागका महानिर्देशक होङ् लियाङ्ले नेतृत्व गरेका थिए।
रसुवागढी—केरुङ् नाका नेपाल र उत्तरी छिमेकी चीनबीचको एक प्रमुख नाका हो। कोरोना महामारीसँगै उक्त नाकाबाट नेपालतर्फ हुने आयात नराम्ररी प्रभावित भएको थियो।चीनले कोराको संक्रमण फैलिन नदिन नेपालतर्फबाट सीमा नाकामा कडाइ गरेपछि नेपाली व्यापारिले चीनबाट सामान ल्याउन कठिनाई भएको थियो।चीनले दिनहुँ नेपालतर्फ सामान लिएर आउने कन्टेनरको संख्या उल्लेख्य कटौती गर्दा द्विपक्षीय व्यापार प्रभावित भएको थियो।
Advertisement 2
कोरोना महामारीसँग सम्बन्धित स्वास्थ्य प्रोटोकल अबलम्बन गरी नाकाबाट दुईतर्फी ब्यापार सुचारु गर्ने सहमति भएको हो । परराष्ट्रका अनुसार नाका सुचारु गर्नका लागि महामारी रोकथाम र नियन्त्रणसम्बन्धी एक संयन्त्र दुवै देशले स्थापित गर्ने सहमति पनि बैठकमा भएको छ। त्यसैगरी नेपाल र चीनबीचको हिल्सा—पुराङ् नाका पुनः सुचारु गर्ने सहमति बैठकमा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
नेपालका उत्तरी भेगमा रहेका जनताको जीवनयापन सहज बनाउन उक्त नाका खोल्ने सहमति भएको हो। कोरोना महामारीपछि उक्त नाका बन्द छ। ‘भेटमा नेपाल–चीन सम्बन्धको समग्र अवस्थाबारे छलफल हुनाका साथै दुई देशबीचको सीमा र सीमा व्यवस्थापनका विभिन्न विषयमा छलफल भएको थियो,’ वार्तापछि परराष्ट्रद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपाल–चीन सिमानाको संयुक्त निरीक्षणको महत्वलाई जोड दिँदै दुवै पक्षले विद्यमान द्विपक्षीय संयन्त्रलाई आपसी परामर्शबाट सक्रिय गर्न सहमति जनाएका छन् । नेपालको उत्तरी हिमाली क्षेत्रका जनताको जीविकोपार्जनमा टेवा पुर्याउने उद्देश्यले दुवै पक्षले आवश्यक कोभिड–१९ स्वास्थ्य प्रोटोकल र दिशानिर्देश लागू गरी चीनबाट आउने सामान र निर्माण सामग्रीको ढुवानीका लागि हिल्सा–पुराङ सीमा बन्दरगाह खोल्ने निर्णय पनि गरेका छन् ।
Advertisement 3
नेपाली प्रतिनिधिमण्डलमा नेपाल सरकारका विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारी, बेइजिङस्थित नेपाली राजदूतावासका कार्यवाहक र ल्हासास्थित नेपाली महावाणिज्य दूतको सहभागिता थियो । चिनियाँ प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालय र चीनका विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारीहरू, चीनको तिब्बत स्वायत्त क्षेत्रका विदेश मामिला कार्यालय, अन्य विभाग र जनवादी गणतन्त्र चीनको राजदूतावासका कार्यवाहक राजदूत सहभागी थिए ।