अटोचालकले करणी गरेपछि बाबु पनि बलात्कारी भएको खुलासा
चितवन/यौन व्यभिचारले मानिसहरुलाई यतिसम्म पापमा डुबाउँदैछ कि आफ्नै नातापातामा पनि करणी भइरहेको छ । आफन्त र चिनेजानेकैबाट महिला, बालिकाहरुमाथि बलात्कारका घटना बढी भएका छन् । अरु त अरु आफ्नै बा–हजुरबाबाट समेत छोरी–नातिनीहरु जबरजस्ती करणीको शिकार भइरहेका छन् ।
सर्लाहीकी एउटी १२ वर्षीया बालिकालाई चितवन ल्याएर आफ्नै बाबुले करणी गरेको पत्ता लागेको छ । ६ कक्षामा पढ्दै थिइन् उनी । उनका बुबा घर निर्माणको ठेक्कापट्टा गर्थे । कामको सिलसिलामा भरतपुरको क्षेत्रपुरमा बस्ने क्रममा चितवन आउँदा गत वैशाख महिनामा घरबाट छोरीलाई पनि सँगै लिएर आउँछन् । घरबाट साँझपख निस्कने बेलामा ‘रातिको बेला छोरीलाई कता लिएर जान लागेको ? उज्यालोमा गए हुँदैन ?’ भनी श्रीमतीले सोध्दा उनले छोरीलाई आफूसँग राखेर सिलाई काम सिकाउने भन्दै लिएर आउँछन् । क्षेत्रपुरको एउटा घरमा किचनसँगै रहेको कोठामा बाबुछोरी सँगै सुत्ने क्रममा आफ्नी ती बालिका छोरीलाई उनले पटक–पटक बलात्कार गरेको बुझिन आएको हो ।
एकदिन नाताले दिदी पर्ने एउटी महिलाले ती बालिकालाई आफूले काम गर्ने होटलमा खाजा खान बोलाउँछिन् । खाजा खाने क्रममा एउटा अटो चालकलाई बोलाएर दिदीले चिनजान गराउँछिन् । त्यति नै बेला त्यो होटलको साहुले अटो चालकलाई ‘दिदी मन प¥यो कि बहिनी ? को लाने ?’ भनेर सोध्छन् । अटो चालकले बहिनी मन प¥यो भनी सँगै जान बोलाएर नारायणी तिरमा लगी खाजा खुवाई आफ्नो कोठामा लगेर बलात्कार गर्छन् । त्यसदिन बालिका जसोतसो उम्किएर आफ्नो कोठामा जान्छिन् । अटो चालक उनको पछिपछि लाग्छ । बाटो पत्ता लगाई बालिका बस्ने घरकोठामै पुग्छ र उनको कोठामा पनि पटक–पटक जबरजस्ती करणी गरेर बालिकालाई फेरि आफ्नो कोठामा लगेर करणी गर्छ ।
जेठ ५ गते बालिकाका बाबुले कोठामा आउँदा छोरी देख्दैन । वरिपरि खोज्दा नभेटेपछि छोरी हराएको भनी वडा प्रहरीमा खोजतलासको लागि निवेदन दिन्छ । यसैक्रममा बालिका फेला पर्छिन् । सोधपुछ गर्दै जाँदा अटो चालकबाट उनी बलात्कृत भएको खुल्न आउँछ । त्यसपछि बालिकाका बाबुबाट उक्त अटोचालकविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा जबरजस्ती करणीमा जाहेरी पर्छ । बालिका माइती नेपालको संरक्षणमा पुग्छिन् । माइती नेपाल चितवनमा परामर्शका क्रममा बाबुप्रति पनि शंका उब्जिएपछि स्वयम् बालिकाकी आमालाई नै छोरीसँग सोधपुछ गर्न लगाउँदा उनलाई आफ्नै बाबुले पनि पटक–पटक बलात्कार गरेको र कसैलाई भनेमा मारिदिने धम्की दिएको खुलासा भएको हो । प्रहरीले ती अटो चालक र बालिकाको बाबुलाई पनि पक्रेर आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइसकेको माइती नेपाल चितवनका कार्यक्रम संयोजक ईश्वर गिरीले जानकारी दिए । – अजय गोर्खाली