हिजो उल्टाए,अहिले व्युताए

Advertisement 1
वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारले सातामा दुई दिन बिदा दिन थालेको छ । २२ बर्ष अगाडि असफल भइसकेको र उनै देउवा सरकारको नेतृत्वमा हुँदा उल्टाएको निर्णय फेरि व्युताएको छ ।
उसै पनि नेपालजस्तो मुलुकमा सार्वजनिक बिदाको संख्या अधिक छ । सरकारले राजपत्रमा प्रकाशन गरेको ०७९ सालका पर्व तथा सार्वजनिक बिदाको विवरण अनुसार शनिबार बाहेक विभिन्न पर्व दिवसका अवसरमा ४३ दिन सार्वजनिक बिदा दिइने भएको छ । यो बर्ष ५२ वटा शनिवार परेका छन् । ती दिन पनि सार्वजनिक बिदा हुनेछ ।यस्तै सातामा आइतबार पनि बिदा थपिँदा अरु ५२ दिन सार्वजनिक बिदा हुनेछन् । अहिले दिइरहेको सार्वजनिक बिदाको पुनरावलोकन नहुने हो भने सरकारी कर्मचारीहरुलाई बर्षमा झण्डै १४५ दिन विदामा बस्न पाउनेछन् ।
राजपत्रमा प्रकाशित भएको सूचनाका आधारमा २० दिन विभिन्न पर्व बिदा, दुई दिन महिला कर्मचारीका लागि मात्र बिदा, एक दिन शिक्षण संस्थाका लागि विदा, चार दिन काठमाडौं उपत्यकाका लागि मात्र विभिन्न जात्रा बिदा, ६ दिन दशैं विदा पर्नेछ । यस बर्ष दशैं बिदा लम्बिएको छ । पहिले फूलपातीदेखि एकादशीको दिनसम्म मात्रै बिदा हुने गरेकोमा आउँदो वर्षदेखि द्वादशीको दिनसम्मै बिदा दिने सरकारले निर्णय गरेको हो । यसअनुसार असोज १६ देखि २१ गतेसम्म दशैँ बिदा हुने भएको छ ।आगामी बर्ष दशैंको बिदा एक दिन अरु थपिएको छ । यस्का अलवा पाँच दिन तिहार विदा दिइएको छ । कात्तिक ७ देखि १० गतेसम्म तिहार बिदा हुनेछ । सरकारले आउँदो वर्ष क्रिसमस, धान्नेपूर्णे, मोहम्मद जयन्ती, तमु र सोनाम ल्होसार र मुस्लिम समुदायको चाडमा पनि बिदा दिने निर्णय भएको छ । यस्तै तीन दिन जन्मजयन्ती बिदा दिइएको छ । जसमा बुद्ध जयन्तीका दिन सबैका लागि विदा भए पनि अरु दुइ वटा जयन्ती भने सम्बन्धित धर्मावलम्बीका लागि मात्र बिदा दिइएको छ ।
यस्का अलवा नेपाल सरकारले निर्णय गरी तोकेका सार्वजनिक बिदाका अतिरिक्त प्रदेश सरकारले आ आफ्नो प्रदेशको धर्म, संस्कृति र रितिस्थितिसमेतलार्य ध्यानमा राखेर घोषणा गरेका वर्षको बढीमा ६ दिनसम्मको सार्वजनिक बिदामा सम्बन्धित प्रदेशमा रहेका संघीय कार्यालयमा समेत सार्वजनिक बिदा गरिनेछ ।
सरकारी कर्मचारीहरुले यी बिदाका अलवा वर्षमा १२ दिन बिरामी बिदा, ३० दिन घर बिदा, १२ दिन भैपरि तथा पर्व बिदाको सुविधा पाउँछन् । यस्तै जागिर अवधिमा उनीहरुले तीन वर्ष अध्ययन बिदा तथा थप तीन वर्ष असाधारण बिदा समेत पाउनेछन् । यद्यपि यो बिदा सबै कर्मचारीले उपयोग गर्दैनन् ।
हप्तामा दुई दिन बिदा नेपालका लागि नौलो होइन । पूर्व प्रशासकहरुका अनुसार यो ०५० को दशकमै पूर्णरुपमा असफल भइसकेको अभ्यास हो । त्यो समय सर्वसाधरणलाई सास्ती भएको भन्दै एक बर्षमै सो निर्णय उल्टाइएको थियो । विगतमा दुइै पटकसम्म असफल भइसकेको सो निर्णयलाई विना अध्ययन हचुवा र हावातालमा बिदा दिने सरकारको निर्णय अव्यवहारिक भएको टिप्पणी प्रशासन क्षेत्रबाटै उठ्न थालेको छ ।