आफ्नै सहकारी खोल्दै उवासंघ–चितवन
चितवन/उद्योग वाणिज्य संघ–चितवनले आफ्नैै सहकारी सञ्चालनमा ल्याउन लागेको छ । उद्योगी, व्यवसायीको हित एवम् आर्थिक क्षेत्रको विकासमा टेवा पु¥याउन सहकारी स्थापना गर्न लागिएको संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिए । संघले स्थापना गर्न लागेको चेम्बर बहुउद्देश्यीय सहकारी संस्था आगामी जेठतिरबाट सञ्चालनमा आउने उनले बताए ।
Advertisement 1
यसबाट संघका सदस्यहरुको बचत संकलन र उनीहरुलाई आवश्यक पर्दा ऋण प्रवाह गर्नुका साथै कृषि, स्वास्थ्य, शिक्षा, पयर्टन जस्ता आर्थिक क्षेत्रहरुको विकासका लागि सहकारीको तर्फबाट के गर्न सकिन्छ, त्यसतर्फ पनि लगानीका सम्भावनाहरु खोज्ने काम हुने कार्यकारी निर्देशक केसीले बताए । यसैवर्ष चितवन महोत्सव समेत आयोजना हुँदैछ । कुनै भवितव्य वा बाधा–व्यवधान नपरे आगामी पुस–माघमा चितवन महोत्सवको १४ औं संस्करण हुनेछ ।
उद्योग वाणिज्य संघ–चितवनले प्रत्येक दुई–दुई वर्षमा आयोजना गर्ने चितवन महोत्सवको १३ औं संस्करण कोभिड महामारीका कारण २०७७ मा हुन सकेन । गत वर्ष आयोजित महोत्सव पनि कोरोनाकै कारण बीचमा बन्द गर्नु प¥यो । २०७८ पुस २५ देखि माघ ४ गतेसम्म सञ्चालन गर्ने भनिएको चितवन महोत्सवको १३ औं संस्करण पुस २८ मै रोकिँदा संघलाई ४० लाखजति घाटा भएको कार्यकारी निर्देशक केसीले बताए । स्टल राख्नेहरुलाई ५० प्रतिशत रकम फिर्ता गर्नुपरेको थियो । चितवन महोत्सवको उक्त १३ औं संस्करणमा मौरी र पर्यटनलाई जोड दिइएको थियो । कार्यकारी निर्देशक केसीले भने, ‘आउँदो महोत्सवमा पनि पर्यटन र कृषिलाई नै बढी फोकस गर्नुपर्छ ।’