इमानलाई बन्धक राखेर पैसा कमाउनु मेरो राजनीतिक उद्देश्य हैन : नवनियुक्त पर्यटन मन्त्री

नव नियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले सरकारमा रहेर अतिरिक्त सुविधा र पैसा आर्जन गर्नु आफ्नो उद्देश्य नभएको बताएका छन् ।
Advertisement 1
मन्त्रालयमा आइतबार कार्यभार ग्रहण गरेपछि मन्त्री ढकालले स्वाभिमान र इमानलाई बन्धक राखेर अतिरिक्त सुविधा र पैसा आर्जन गर्ने राजनीतिक उद्देश्य नराखेको बताए । आफूले सकेसम्म सेवामा समर्पित गर्दै सुनाम कमाउने मात्रै उद्देश्य राखेको मन्त्री ढकालले बताए । उनले भने, ‘स्वाभिमान र इमानलाई बन्धक राखेर अतिरिक्त सुविधा र पैसा आर्जन गर्नु मेरो राजनीतिक उद्देश्य हैन । जति सक्छु म सेवामा समर्पित हुन्छु । जति कमाउनु छ मलाई सुनाम कमाउनु मात्रै छ ।’
राज्यलाई दोहन गरेर राज्यबाट के पाउँछुभन्दा पनि राज्यलाई समृद्ध बनाउनेतर्फ सबैले सोच्नुपर्ने पनि मन्त्री ढकालले बताए । उनले थपे, ‘राज्य दोहन गरेर राज्यबाट मैले के पाउँछु भन्ने कुरा भन्दा पनि राज्यलाई समृद्ध बनाउने कुरामा मेरो योगदान के हुन सक्छ र त्यो संस्थाको उपयोगिता कसरी हुन्छ भन्ने कुरामा अलि बृहत् भएर सोचौं ।’
Advertisement 2
पर्यटन मन्त्रालयको इतिहासलाई हेर्दा गर्व गर्ने ठाउँ रहेको तर त्यसभित्रका बदानमीहरुले राम्रो नगरेको पनि मन्त्री ढकालले बताए । तारागाउँ समितिको पनि आफ्नै महत्व भएको तर त्यसभित्रको कथा बेग्लै भएकाले त्यसलाई सुधार गर्न आफूले अध्ययन थाल्ने पनि मन्त्री ढकालको भनाइ थियो । उनले कर्मचारीलाई काम गर्न सहज वातावरण निर्माण गर्ने कुरामा आफूले सधैं ध्यान दिने बताए ।