मेरा बा यस्ता थिए


बालाई धेरै कुराहरू
थाहा हुँदाहुँदै पनि
योचाहिँ थाहा भएन कि
बच्चाहरूले झूट बुझ्छन्।

Advertisement 1

त्यसैले त बाले सधैँ सफा झूट बोलिरहे।

मलाई स्कुल ड्रेस किनेर ल्याएको दिन
मैले बाको कमिजमाथि प्रश्न गर्दा
बा भन्थे-
‘बाबू, यो कमिज फाटेको होइन नि!
यसका यति धेरै प्वालहरूबाट
धेरै हावा छिर्छ र
तिम्रो बालाई शीतल हुन्छ।’

Advertisement 2

मेरालागि गोल्डस्टार जुत्ता ल्याइदिएपछि
बाले भने-
‘तिम्रो बालाई
पैतालामा काउकुती लाग्दा अति मजा लाग्छ
त्यसैले त म सधैँ खाली खुट्टा हिँड्छु।’

अगेनो चिसो भएको दिन बा भन्थे-
‘कहिलेकाहीँ निराहार व्रत बस्यो भने
भगवान खुसी हुनुहुन्छ
र हामी सबै निरोगी हुन्छौँ।’

Advertisement 3

मलाई खाटमा सुताएपछि
बा आफू भुइँमा सुत्थे र भन्थे-
‘तिम्रो बालाई
खाटमा लचकदार डन्लपमा सुत्यो भने
एकदम ढाड दुख्छ।’

मलाई साइकल किनेर ल्याएको दिन
बाले भने-
‘मैले वर्षौंदेखि चढ्दै आएको
यो साइकल बिरामी परेको छ
त्यसैले म पैदल हिँडेको बाबू।’

मेरालागि खानेकुराहरू ल्याएर
बाले भने-
‘गुँदपाक, रसवरी, मीठाईहरूले
मलाई कत्ति पनि फाइदा गर्दैनन्।’

मैले छिमेकीको नयाँ घर देखाउँदा
बा भन्थे-
‘यो हामी बस्दै आइरहेको घरमा
धेरै लच्छिन छ
त्यसैले मैले अर्को घर नबनाएको।’

बा मेरो पेट भोको देख्न सक्दैनथे
र साहुको खेत अधियाँ गर्थे
तर रमाइलो झूट बोल्थे-
‘अरुको नै भए पनि
जग्गा जमिन बाँझो छोड्यो भने
अन्नमाता रिसाउँछिन् र हामीलाई श्राप दिन्छिन्।’

बालाई यतिबिघ्न कुराहरू
थाहा हुँदाहुँदै पनि
योचाहिँ थाहा भएन कि
बच्चाहरूले झूट बुझ्छन्।

प्रकाशित :२०७७ श्रावण २७, मंगलवार ०७:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry