सम्सी गाउँपालिका जहाँ ५ बर्षमा १२ जना प्रशासकीय अधिकृत फेरिए

प्रशासकीय अधिकृतलाई डेढ महिनामै सरुवा गरेपछि महोत्तरीको सम्सी गाउँपालिकाका जनप्रतिनिधिहरूले विरोध जनाएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पुष २३ गते सरुवा गर्दा २९ गते सम्सीमा हाजिर भएका प्रशासकीय अधिकृत गाणेशचन्द्र मिश्रलाई फागुन १५ गते सरुवा गरी अर्का प्रशासकीय अधिकृत सत्यनरायण साहलाई सम्सीमा पठाएपछि जनप्रतिनिधिले आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
Advertisement 1
जसपाका सांसद सुरेन्द्र यादवले गाउँपालिकाको दैनिक सेवा र विकास निर्माणको काम प्रभावित गर्ने उद्देश्यले पटकपटक प्रशासकीय अधिकृत सरुवा गराएको जनप्रतिनिधिले आरोप लगाएका छन् ।
मन्त्री र सचिवलाई प्रलोभनमा पारेर सांसद यादवले गैरजिम्मेवार र बदनियतपूर्वक सम्सी गाउँपालिमा सत्यनारायण साहलाई प्रशासकीय अधिकृत बनाउन खोजेको गाउँपालिका अध्यक्ष फारुकले बताए । सरुवा गराइएका साहलाई फिर्ता गरी मन्त्रालय पठाउन माग गर्दै उनीहरूले चरणबद्ध आन्दोलनको चेतावनी समेत दिएका छन् ।
Advertisement 2
गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएयता १२ जना प्रशासकीय अधिकृत फेरिएका छन् । प्रमुख प्रशासकीय अधिकृतको सरुवा नगर्न पटकपटक आग्रह गर्दा पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको सरुवा गरेपछि गाउँपालिका अध्यक्ष शेष फारुकले मन्त्रालयलाई विपक्षी बनाएर ०७८ पुस ५ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटमा सुनवाई गर्दै सर्वोच्च अदालतले पुस ७ गते मन्त्रालयको सरुवा बदर गरिदिएको थियो । अन्तरिम आदेश अनुसर मन्त्रालयले सम्सीमा प्रशासकीय अधिकृत पदमा गाणेशचन्द्र मिश्रलाई सरुवा गरेको थियो ।