डेढ किलोमिटरमै सीमित तुलसीपुरको चक्रपथ

दाङको तुलसीपुरमा निर्माण हुने भनिएको चक्रपथको काम अघि बढ्न सकेको छैन । चुनावको समयमा निकै चर्चा पाउने चक्रपथ अहिले भने ओझेलमा परेको छ । एक दशक अघिदेखि निर्माण कार्य सुरु भएको चक्रपथ निर्माणको कार्य डेढ किलोमिटरममा मात्रै सीमित बनेको छ ।

Advertisement 1

तुलसीपुर उपमहानगरपालिकाका इञ्जिनीयर पवनकुमार योगीका अनुसार अहिलेसम्म एक किलोमिटर मात्रै कालोपत्र भएको छ । चक्रपथलाई वैकल्पिक सडकका रुपमा लिइएको थियो । तर, हाल बजेट अपर्याप्त हुँदा काम अघि बढ्न नसकेको इञ्जिनीयर योगीले बताए ।

तुलसीपुर उपमहानगरपालिका–७ राजापुरदेखि रक्षाचौर आँखा अस्पताल–तुलसीपुर ३ डाँडाखुट्टी, तुलसीपुर ८ टिकरी, तुलसीपुर १२ को टरिगाउँ हुँदै राजापुर जोड्ने चक्रपथ निर्माणको रेखाङ्कन गरिएको थियो । जो करिब २९ किलोमिटर लम्बाइ थियो भने ३० मिटर चौडाइ बनाउने योजना रहेको भए पनि त्यो कामले तीव्रता पाउन सकेको छैन । इञ्जिनीयर योगीका अनुसार ती स्थानमा कच्ची ट्र्याक खोलिएको भए पनि पक्की भने हुनसकेको छैन ।“सबैमा कच्ची ट्र्याक त खोलिएको छ”,उनले भने,“तर, पक्की भने एक किलोमिटर मात्रै छ ।” तत्कालीन समयमा काठमाडौँको कन्सल्टेन्सी आरडिसीले सम्भाव्यता अध्ययन गरेको थियो ।

Advertisement 2

साविक नगरपालिकाको सबै क्षेत्रलाई छुने गरी करिब ३७ किलोमिटर लामो चक्रपथ निर्माण हुने भने पनि निर्माण प्रक्रिया सुस्त भएको हो । उपमहानगरले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा तुलसीपुर चक्रपथ निर्माणका लागि एक करोड ४० लाख, आर्थिक वर्ष २०७८/७९ मा तुलसीपुर चक्रपथ निर्माणलाई निरन्तरता दिन प्रदेश सरकारमार्फत एक करोड ५० लाख बजेट व्यवस्था गरिएको र सङ्घ, प्रदेश सरकारसँग समन्वय गरी तुलसीपुर चक्रपथ निर्माण तथा तुलसीपुर बजार क्षेत्रमा फुटपाथ निर्माणका लागि आवश्यक पर्ने बजेट व्यवस्था गरिएको नीति ल्याएको थियो ।

तर, स्थानीय सरकारले चक्रपथ निर्माणको काम अघि नबढ्नुमा प्रदेश सरकारलाई दोष दिएको छ । “प्रदेश सरकार अन्तर्गत क्रमागत योजना अनुसार चक्रपथ निर्माणको लागि हामी लागेका थियौं”,उनले भने, “तर, प्रदेश सरकारले त्यो योजना हटाउँदा काम अघि बढ्न सकेन ।”

Advertisement 3

साविकका नगरपालिका हुँदा १३औँ नगर परिषद्ले चक्रपथ निर्माणका लागि पारित गरेर काम सुरु गरेको थियो । तुलसीपुर नगरपालिका उपमहानगरपालिका भएर अन्य गाविस पनि गाभिएपछि केही समय यसको काम रोकिएको थियो । तर जनप्रतिनिधि आएपछि चक्रपथ निर्माणको काम सुरु भए पनि त्यसले निरन्तरता पाउन सकेन ।

प्रकाशित :२०७८ फाल्गुन २, सोमबार १३:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry