महानिर्देशकलाई तानियो मन्त्रालयमा
एक जना सहसचिवका कारण रामशाहपथस्थित स्वास्थ्य मन्त्रालयका अधिकारीहरूको ‘टाउको दुख्न’ थालेको छ । साधारणतया एउटा कार्यालयमा एक जना मात्र हाकिम हुन्छन् । तर, बबरमहलस्थित औषधि व्यवस्था विभागको कथा बेग्लै छ ।
Advertisement 1
स्वास्थ्यमन्त्री विरोध खतिवडाले २५ पुसमा मन्त्रीस्तरीय निर्णय गर्दै औषधि व्यवस्था विभागका हाकिम नारायण ढकाललाई खुमलटारस्थित राष्ट्रिय प्रयोगशालामा पठाए भने त्यहाँबाट भरत भट्टराईलाई तानेर ल्याए । तर, दुई साता बित्दासमेत कसैले कुर्सी छाड्न नमानेपछि मन्त्रीले गएर तान्ने कुरा भएन । भट्टराईले छाड्न नमानेपछि १० दिनदेखि दुई जना हाकिमले हाजिर गर्दै आएका छन् । अस्ति सोमबारसम्म पनि यो क्रम जारी थियो । भट्टराई दुई महिनाअघि एघारौँ तहमा बढुवा भएका हुन् ।
खटाएको ठाउँमा जान नमाने पछि मन्त्रिस्तरीय निर्णय गर्दै ढकाललाई बुधबार मन्त्रालयमा तानिएको छ ।
भनिन्छ, एउटा कर्मचारी पटक–पटक बसिरहन मरिहत्ते गर्नुको कारक हो दक्षिणतिरको हित हुने काम गरी करोडौं शुभलाभ प्राप्त हुनु । यो ढकालको तेस्रो कार्यकाल हो ।
यसअघि ओली सरकार हुँदा कोरोनाको औषधिलगायत सामग्रीमा अनुमति दिन नमानेका एवं बालुवाटारसँग निकटले चलाएको आयुर्वेद हस्पिटलको अनुगमन गरेबापत उनी बबरमहलबाट धपाइँदा स्वास्थ्यमन्त्री थिए भानुभक्त ढकाल । मन्त्रीको खटनपटनविरुद्ध अदालत गए र निर्णय उल्टाए । अनि औषधि व्यवस्था विभागबाहेक अन्यत्र जाँदै नजाने अड्डी कस्दै लामो समय मन्त्रालयमै बसे ।
Advertisement 2
तत्कालीन स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले पुनः विभागकै जिम्मेवारी दिएर पठाए चार महिनाअघि । भानुभक्त ढकालले २९ असोज २०७७ मा ढकाललाई हटाएर भट्टराईलाई महानिर्देशक नियुक्त गरेकामा नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सरकार बनेको दुई महिना नपुग्दै तेस्रो पटक विभाग पुगेका हुन् । ०७३ भदौ ३१ देखि उनी त्यहीं थिए । उपेन्द्र यादवले पनि १५ असार २०७६ मा उनलाई महानिर्देशकबाट हटाएर पानबहादुर क्षेत्रीलाई निमित्त महानिर्देशक बनाएका थिए । तेस्रो पटक विभागको महानिर्देशक बनेका ढकालबारे भारतीय औषधिको पक्षमा काम गर्ने व्यक्तिको रूपमा समेत बजारमा चर्चा गरिन्छ ।
उता, शक्तिकेन्द्रको आशीर्वाद पाएपछि अवैध कामलाई पनि कसरी वैध बनाइन्छ भन्ने उदाहरण हेर्न वीर अस्पतालतिर पुगे हुन्छ । त्यहाँका डा. भूपेन्द्र बस्नेतको बढुवा गर्ने मामलामा कमलपोखरीस्थित एउटा संवैधानिक निकाय बदमासीमा मुछिएको तथ्य फेला परेको छ । लोकसेवा आयोग आफैंले दुई महिनाअघि रद्द गरेको विज्ञापनमा उनैलाई बढुवा सिफारिस गरेपछि अहिले सिंहदरबारतिर हलचल मच्चिएको छ ।
Advertisement 3
स्रोतले बताएअनुसार बढुवा सिफारिस समितिमा लोकसेवाका सदस्य माधव बेल्बासे, दिनेश सिलवाल, मुख्यसचिव शंकरदास बैरागी, एक जना विज्ञ सदस्य र सदस्य सचिवका रूपमा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल सम्मिलित थिए । लोकसेवाले गत कात्तिक १५ मै रद्द विज्ञापनमा टेकेर प्रमुख कन्सल्टेन्ट ग्यास्ट्रोइन्टेरोलोजिस्ट पदमा बढुवा सिफारिस गरेको भेटिएको हो । २१ पुसमा सिफारिस समितिले यस्तो काम फत्ये गरेको छ । स्वास्थ्यका अधिकारीहरूले उठाएको प्रश्न हो, लोकसेवा आफैंले रद्द गरेको सूचनामा के र कुन आधारमा टेकेर बस्नेत बढुवा सिफारिस भए ? केही साताअघि मन्त्री विरोध खतिवडाले गुणराज लोहनीलाई पठाउन खोजेको र बस्नेतले वीरका केही कर्मचारी उचालेर विरोध गर्न लगाउँदा निर्णय होल्डमा बसेको छ ।