स्वास्थ्य र सोखका लागि साइकल चलाउने बढ्दै

कुनै बेला साइकलको जिल्ला भनेर चिनिने चितवनमा यतिबेला स्वास्थ्य र सोखका लागि साइकल प्रयोग हुन थालेको छ । पछिल्ला दिनमा आवश्यकताले भन्दा पनि स्वस्थ रहन र सोखका लागि साइकल प्रयोग गर्नेहरु बढ्दै गएका हुन् ।

Advertisement 1

त्यसो त चितवनमा कृषि, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रमा यसको प्रयोग भइरहेको व्यवसायी बताउछन् । किसानले मल, बीऊ ओसारपसारदेखि तयारी वस्तु बिक्रीसम्ममा साइकलको प्रयोग गर्ने गरेका छन् । साइकलमा मनोरम दृश्यावलोकन गर्दै यात्रा गर्न साइकलको प्रयोग हुँदै आएको छ । स्कुल र कलेज जाने विद्यार्थीले ठूलो सङ्ख्यामा साइकलको प्रयोग गर्दै आएका छन् । स्वास्थ्य तन्दुरुस्त राख्ने प्रयोजनले बिहान बेलुकी साइकल चलाउनेको सङ्ख्या पनि जिल्लामा ठूलै रहेको छ । पालिकाले छात्रालाई साइकल बाढ्ने गरेका छन् ।

चितवन र नवलपुर जिल्लाका साइकल व्यवसायीको संस्था साइकल व्यवसायी सङ्घ चितवन–नवलपुरका पूर्व अध्यक्ष श्याम खरेल दुई जिल्लामा गरेर तीन सय हाराहारी साइकल पसल रहेको बताउछन । ठूला होलसेल गर्ने, मध्यम साइकलको बिक्री गर्ने र साना साइकल मर्मत गर्ने पसल यसमा पर्दछन् ।

Advertisement 2

करिब २० हाराहारी ठूला होलसेल पसल छन् भने ८० हाराहारी मध्यम र अन्य साना पसल रहेका छन् । एकीन तथ्याङ्क नभए पनि दैनिक एक सयभन्दा बढी साइकल नयाँ साइकल बिक्री हुने गरेको उनको अनुमान छ । विगतमा बिक्री हुने साइकल र अहिले बिक्री हुने साइकल फरक छन् । बिक्रेताले ग्राहकको चाहना अनुसार फरक फरक मोडलका साइकल ल्याउने गरेको उनी बताउछन ।

राईडर्स माउन्टेन बाइक स्टेशन नारायणगढका सञ्चालकसमेत रहेका खरेलका अनुसार बजारमा रु सात हजार ५०० देखि एक लाख ५० हजारसम्मका साइकल बिक्री हुने गरेका छन् । त्यसो त रु सात हजार ५०० देखि रु १५ हजारसम्मका साइकल धेरै मात्रामा बिक्री हुने उनको भनाइ छ । एक लाख र त्योभन्दा बढी मूल्यका साइकल भने फाट्टफट्ट मात्रै बिक्री हुने गरेको खरेलले बताए ।

Advertisement 3

व्यवसायीले भारत र चीनबाट साइकल र साइकलका सामग्री ल्याउने गर्दछन् । अहिले हरेक घरमा साइकल भएको उनको भनाइ छ । खरेलले भने “घरमा कार र मोटरसाइकल भए पनि साइकल हुन्छ ।” विलासी सवारी हुनेले पनि दूध, फलफूल किन्न, मिल जान साइकलको प्रयोग गर्ने गरेको पाइन्छ । विगतमा पुरानो हुँदासम्म मर्मत गर्दै साइकल चलाउने गरेको भए पनि अहिले सामान्य मर्मत गरेर चल्ने साइकल कवाडीमा बिक्री गर्ने गरेको व्यवसायी बताउँछन् ।

साइकलका कारण मानवीय स्वास्थ्यसँगै ठूलो मात्रामा इन्धन बचत भएको व्यवसायीको भनाइ छ । उद्योग वाणिज्य सङ्घ चितवनका पूर्व अध्यक्ष राजन गौतम चितवनमा दैनिक २५ हजार हाराहारी साइकल चल्ने बताउछन । उनका अनुसार ती साइकलले दैनिक चार किलोमिटर सरदर यात्रा गर्दा पनि दैनिक रु १५ लाख बराबरको इन्धन बचत हुने उनको अनुमान छ ।

उनले भने,“राज्यले साइकल लेनको व्यवस्था गर्नुपर्छ ।” स्थानीय पालिकामा सडक निर्माण गर्दा अनिवार्य साइकल लेन बनाउनुपर्ने उनको भनाइ छ । चितवनले साइकल र साइकलले चितवनलाई अलग गर्न नसक्ने भन्दै उनले भने, “समथर भूभाग, चौँडा सडक, सामान्य उकाली ओराली, साइकलका लागि अनुकूल भौगोलिक वातावरणसँगै जिल्लामा साइकल भित्रिएका हुन् ।”

प्रकाशित :२०७८ माघ ११, मंगलवार १४:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry