बेथानचोक नारायणस्थानमा जोखिम बढ्न थाल्यो

पर्यटकको आकर्षण बढ्दै गएको काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ नारायणस्थान क्षेत्र पछिल्लो सयम असुरक्षित बन्दै गएको छ । नारायणस्थानसम्म पुग्ने गोरेटोसमेत जोखिमपूर्ण रहेको तथा नारायाणस्थान डाँडाको पूर्वतर्फको ठूलो चट्टानी भिरका कारण जोखिम बढ्न थालेको हो ।
Advertisement 1
शनिबार बिहान नारायाणस्थान जाने क्रममा डाँडा नजिकै गोरेटोबाट चिप्लिएका पनौतीका एक बालकको मृत्यु भएको छ । जिल्लाको दक्षिणवर्ती क्षेत्र महाभारत पर्वत शृङ्खलाअन्तर्गत अवस्थित करिब तीन हजार मिटर उचाइमा रहेको पर्यटकीय उक्त बेथानचोक नारायणस्थान डाँडाबाट भिरमा खसेर करिब एक वर्षअघि पनि एक युवकको मृत्यु भएको थियो । मृतक दुवै पर्यटकीय क्षेत्रउन्मुख नारायाणस्थान घुम्न गएका आन्तरिक पर्यटक हुन् ।
शुक्रबार आफन्तसँग बेथानचोक नारायणस्थान घुम्न गएका पनौती नगरपालिका–६ दलिनचोकका १२ वर्षीय सौरभ सापकोटाको शव शनिबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । शनिबार बिहान ३ बजेदेखि हराइरहेका सापकोटाको खोजी गर्दा शव नारायणस्थानको डाँडाबाट करिब एक सय मिटर तल भेटिएको कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए । उनले भने, “घटनाबारे थप अनुसन्धान भइरहेको छ ।”
Advertisement 2
आफन्तका अनुसार, सौरभ हिउँमा चिप्लिएर बेपत्ता भएका थिए । सापकोटा हराएको खबर पाएपछि शनिबार बिहानदेखि प्रहरी तथा सदरमुकाम धुलिखेलस्थित कालीजङ्ग गणका सेनाको ‘माउन्टेन वारफेयर’ टोली खोजी कार्यमा परिचालन गरिएको थियो । स्थानीयवासीले पनि सापकोटाको खोजीमा निकै प्रयास गरेका थिए । ठूलो भिरमा खोजी गर्न निकै चुनौतीपूर्ण रहेकाले सुरक्षाकर्मी परिचालन गरिएको हो । “भिरमा खसेका बालक खोज्नु निकै चुनौतीपूर्ण थियो, सेनासहितको सुरक्षाकर्मीको टोलीले डोरीले बाँधेर उनको शव ल्याएको थियो,” खतिवडाले भने । उनका अनुसार, खोजी गर्ने क्रममा मृत भेटिएका सापकोटाको शव दिउँसो भिरबार निकालिएको हो ।
बेथानचोक नारायणस्थान जिल्लाकै अग्लो स्थान हो । विशेषगरी हिउँदमा हिउँपर्ने भएकाले यो अवधिमा आन्तरिक एवं बाह्य पर्यटक आउने गर्दछन् । यहाँबाट महाभारतको पहाडी तथा हिमाली शृङ्खला र तराई क्षेत्रलाई नियाँल्न सकिन्छ भने सूर्योदयको राम्रो दृश्यावलोकन गर्न सकिन्छ । यहाँ महादेवको मन्दिर रहेकाले विशेष अवसरमा मेलासमेत लाग्ने गर्दछ । पछिल्लो वर्षदेखि कतिपय युवायुवतीहरु उक्त नारायणस्थान डाँडामै पाल टाँगेर बस्ने गर्न थालेका छन् । गत साल चैतमा पनि धुलिखेलका एक युवाको सोही भिरबाट खसेर मृत्यु भएको थियो ।
Advertisement 3
चारजना साथी मिलेर रात बस्न बेथानचोक गएका धुलिखेल नगरपालिका–४ का २३ वर्षीय निरोज रिजालको २०७७ साल चैत ७ गते राति नारायाणस्थान डाँडाबाट खसेर मृत्यु भएको थियो । त्यतिबेला धुलिखेलस्थित नेपाली सेनाको कालीजङ्ग गणले करिब एक हजार मिटर तलबाट रिजालको शव निकालेको जनाएको थियो । राति टेन्टबाट नजिकै पिसाब फेर्न जाँदा निरोजको लडेर मृत्यु भएको अनुसन्धानबाट खुलेको जनाइएको थियो ।