सेवाग्राहीमैत्री प्रशासनः रातिसम्मै काम हुन्छ जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा

पुस महिनाको दिन, साँझको समय, तीन डिग्री सेल्सियसमा तापक्रम, हिमाली जिल्ला सोलुखुम्बुको सदरमुकाम सल्लेरीका अधिकांश होटलपसलको ढोका ५:३० बजे नै बन्द हुनका साथै सडकमा चहलपहल ह्वात्तै घट्छ ।

Advertisement 1

अझ सरकारी कार्यालय र कर्मचारीको कुरा गर्ने हो भने बेलुकीको खाना खाएर सुत्ने तरखरमा हुन्छन् । तर जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा भने राति आठ बजेसम्म सेवा प्रवाह हुन्छ । पुस महिनामा सरकारी कार्यालय समय बिहान १० देखि ४ बजे सम्म हो । अधिकांश सरकारी कार्यालयका कर्मचारीले चार बज्ने वित्तिकै कार्यालय समय सकिएको भन्दै सेवाग्राहीको बाँकी काम भोलि बिहान १० बजे हुने जवाफ दिँदै ढोका बन्द गर्छन् ।

सरकारी कर्मचारीको यस्ता व्यवहार देखेभोगेका ग्रामीण क्षेत्रका नागरिक जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु पुग्दा फरक अनुभूति हुने गरेको सुनाउँछन् । तल्लो तहका कार्मचारीदेखि प्रमुख जिल्ला अधिकारी सम्मको व्यवहार र सेवा प्रवाह गर्ने शैलीले सेवाग्राही प्रफुल्लित मुद्रामा कार्यालयबाट निस्कन्छन् । आइतबार साँझ ६ बजेको समयमा थुलुङ दूधकोशी गाउँपालिका–६ का सूर्य बानियाँ पेन्सनपट्टाको लागि सिफारिस लिँदै गरेको अवस्थामा प्रशासन कार्यालयमा भेटिए । प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीलगायत अन्य कर्मचारीसमेत त्यो समयमा पनि कार्यालयकै काममा व्यस्त थिए ।

Advertisement 2

सेवाग्राही बानियाँले धन्यवाद दिँदै भने, “हजुर जस्तो सिडिओ साब अनि अन्य सबै कार्यालयका कर्मचारी यस्तै भएको भए त गाउँघरका हामी जस्ता मानिसले कत्ति सहजै सेवा पाइन्थ्यो हजुर ।” सेवा गर्ने इच्छाशक्ति भए समयले नछेक्ने बानियाँको बुझाइ छ । “यहाँ राष्ट्रसेवक कर्मचारी १० नबजेर कार्यालय नजाने र ४ नबज्दै सेवाग्राहीको बेवास्ता गर्दै निस्कने प्रथाले सानो कामले गर्दा पुनः अर्को दिन त्यही कार्यालयमा जानुपर्छ”, बानियाँले भने, “सोलुखुम्बु प्रशासनजस्तै अन्य ठाउँका कार्यालयले पनि सिक्नुपर्छ र मन्त्रालय अनि नेपाल सरकारले पनि यस्ता कर्मचारीलाई छट्टै मूल्याङ्कन गरी पुरस्कार दिने व्यवस्था गर्नुपर्छ ।”

नागरिकको सेवामा कार्यालयको समय मात्र नभनिकन काम गर्ने कर्मचारीको उचित मूल्याङ्कन हुनुपर्ने उनको माग छ । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु पुग्ने जोकोहीले पनि अहिले कर्मचारी र कार्यालयको सेवा प्रवाहप्रति खुसी व्यक्त गर्छन् । सीमित जनशक्तिको बीचमा पनि सेवा प्रवाह सहज र सरल बनाइँदा कर्मचारी धन्यवादका पात्र बनेका छन् ।

Advertisement 3

दैनिक दुई सय जना सेवाग्राही विभिन्न सेवा लिन जिल्ला प्रशासन कार्यालयमा पुग्ने गरेका छन् । हाल कार्यालयमा प्रमुख जिल्ला अधिकारीसहित दुई खरिदार, एक लेखापाल, दुई कम्प्युटर अपरेटर र एक सहायक प्रमुख जिल्ला अधिकारी कार्यरत छन् । चार नायब सुब्बा, एक लेखापाल र दुई खरिदारको पद खाली रहेको प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले बताए । कर्मचारी अभावले गर्दा जिल्ला कारागारका प्रमुख प्रशान्तकुमार महतोलाई समेत सहयोग माग्ने गरेको उनको भनाइ छ । प्रमुख महतोले पनि प्रमुख जिल्ला अधिकारीको अनुरोधमा नागरिकको सेवा गर्न पाएकोप्रति खुसी व्यक्त गरे ।

प्रकाशित :२०७८ पुष २९, बिहीबार १५:०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry