बस्ने कुर्सीसमेत नपाएपछि प्रधानमन्त्री कार्यालयका सचिवको बिजोग

मान्छे खुशी हुने पदमात्रै भएर हो कि पदसँगै बस्ने टेबुल कुर्सी पनि चाहिने हो ? अहिले यस्तो भद्रगोल स्थिती पैदा भएको छ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा । अघिल्लो बुधबारको क्याविनेटले दुई जना सचिवको दरबन्दी स्वीकृती गरेसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवहरूको ताँती लागेको छ । यस अघि कानुनका एक सहित ५ सचिवको दबन्दी रहेकोमा प्रशासन सेवा र प्राविधिक समूहका एक एक जना सचिवको दरबन्दी थप गरेसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ७ सचिव पुगेका हुन ।
त्यहाँ स्वास्थ्य मन्त्रालयका लागि भन्दै तानिएको यामकुमारी खतिवडा र प्रदेशबाट तानिएका मधुसुदन बुर्लाकोटीसमेत थपिए पछि अहिले ९ सचिव थुप्रिएका छन् । यस अघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिशिर कुमार ढुङ्गाना,लक्ष्मण अर्याल,रामप्रसाद थपलिया,सूर्यप्रसाद गौतम,धनराज ज्ञवाली र अतिरिक्त समूहतर्फ रमेशप्रसाद सिंहलाई राखिएको छ ।
अस्ति बुधबारको क्याविनेटले प्राविधिकतर्फका एक सचिवको दरबन्दी थपेसँगै सिंहको व्यवस्थापन भएको छ । सोही बैठकले महिला बालबालिका मन्त्रालयमा कार्यरत यामकुमारी खतिवडालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लगिएको छ । यस्तै सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव मधुसुदन बुर्लाकोटीलाई प्रधानमन्त्री कार्यालयको अतिरिक्त समूहमा तानिएको छ । खगेन्द्र नेपाललाई पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तानेसँगै अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ९ जना सचिव थुपारेर राखिएका छन् । बिरामी अवस्थामा रहेका खगेन्द्र नेपालका लागि प्रशासनतर्फको अर्को विशिष्ट पद सिर्जना गरिएको हो । यद्यपि, नेपाल सेवा निवृत्त भएसँगै सो पद खारेज हुने बताइएको छ ।
यसरी सचिवको भीड लागेपछि न त तिनलाई बस्ने कुर्सी छ न त चिया राख्ने टेबुल नै । प्रधानमन्त्री कार्यालयकै एक सचिवले दुखेसो पोख्दै भनेका छन्,विशिष्ठ श्रेणीका पदाधिकारी भनिए पनि हालत खरिददार मुखियाभन्दा तलको भयो,न सचिव पदको इज्जत समेत नरहने भयो ।
चुस्त प्रशासन संयन्त्र बनाउनका लागि प्रधानमन्त्री कार्यालयमा तीनदेखि चार जना सचिव भए पुग्नेमा अहिले सात सचिवको दरबन्दी पुर्याइएको छ भने त्यहाँ जगेडामा तानिएका सचिवसमेत गरी ९ जना पुर्याइएसँगै प्रधानमन्त्री कार्यालयको प्रशासन संरचना झनै भद्दा बन्न पुगेको छ ।
गत बु्धबारको क्याविनेटले लहड र सनको भरमा २ जना सचिवको दरबन्दी थपिदिँदा सचिवको संख्या ७३ जना पुगेको छ ।

प्रकाशित :२०७८ पुष २८, बुधबार १०:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry