पशुपतिस्थित वृद्धाश्रममा घट्दैछन् ज्येष्ठ नागरिक

स्थानीय तहले स्थानीयस्तरमा व्यवस्थापन गर्दा पशुपतिस्थित वृद्धाश्रममा ज्येष्ठ नागरिकको सङ्ख्या घटिरहेको छ । जम्मा २३० जना क्षमताको सो आश्रममा पहिले क्षमता जतिकै सङ्ख्यामा ज्येष्ठ नागरिक भए पनि अहिले त्योभन्दा आधा सङ्ख्यामा रहेको समाज कल्याण केन्द्र, वृद्धाश्रम (पशुपति) कार्यालयले जनाएको छ ।
Advertisement 1
पाँच/छ वर्ष पहिले सङ्घीयता कार्यान्वयनमा आएसँगै यहाँ आउने यहाँ ज्येष्ठ नागरिक कम भइरहेको कार्यालयका प्रमुख ओमप्रकाश पाण्डेले बताए । उनले भने, “सङ्घीयता कार्यान्वयन भएपछि ७५३ स्थानीय तहमा नै ज्येष्ठ नागरिकका लागि कतै आश्रम कतै हेरचाह केन्द्र र कतै दिवा खाजा केन्द्र रहेकाले यहाँ रहेको सङ्ख्या घटीरहेको छ ।”
विस्तारै घट्दै गएकाले अहिले आश्रममा १०२ ज्येष्ठ नागरिक रहेका छन् । यो सरकारले सञ्चालन गरेको एक मात्रै ज्येष्ठ नागरिक आश्रम हो । देशभरमा गैरसरकारी संस्थाले पहिलेदेखि नै आश्रम सञ्चालन गर्दै आएका थिए । अहिले धेरै स्थानीय तहले पनि ज्येष्ठ नागरिकका लागि आश्रम र हेरचाह केन्द्र सञ्चालन गरिरहेका छन् ।
Advertisement 2
उमेर ६० वर्ष पुगेको हुनुपर्ने र असहाय नागरिकलाई स्थानीय तहले आश्रयका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई सिफारिस गर्दछ । स्थानीय तहले यो व्यक्तिलाई सहायता गर्ने व्यक्ति र सम्पत्ति छैन भनेर मन्त्रालयमा सिफारिस गर्छ । उनले भने, “मन्त्रालयले यहाँ सिफारिस गरेर पठाएपछि राखिन्छ ।”
साठी वर्ष उमेर पूरा भएकामध्ये कतिपय हिँडडुल नै गर्न नसक्ने, कतिपय अपाङ्गता भएका र कतिपय मानसिक समस्या रहेका छन् । असहाय र अपाङ्गता भएका ज्येष्ठ नागरिकको स्याहारका लागि सुसारे, कुचिकार, भान्छेलगायत दरबन्दी रहेको प्रमुख पाण्डेले बताएका छन । ज्येष्ठ नागरिकको हेरचाह, खानपिन, उपचारसँगै अतिरिक्त क्रियाकलापको समेत व्यवस्थापन गरिरहेको उनले बताए ।
Advertisement 3
सामान्य उपचारका लागि यहाँ नै स्वास्थ्यकर्मी छन् भनेर ठूलो समस्या हुँदा सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेज लैजाने गरिएको उनले बताए । उनले भने, “अस्पतालसँगको सम्झौताअनुसार निःशुल्क उपचार गर्छ ।” अहिले यहाँ मानसिक स्वास्थ्यमा समस्या भएका आठ÷नौ जना छन् । नियमितरुपमा पाटनस्थित मानसिक अस्पतालमा लगेर औषधि खुवाइरहेको उनले बताएका छन ।
कोभिडको जोखिम रहेकाले पहिले जसरी स्वास्थ्य सुरक्षामा ध्यान दिइने प्रमुख पाण्डेले बताए । सङ्क्रमण बढेपछि यहाँ बाहिरी जमघम कम गर्ने उनले बताए । ज्येष्ठ नागरिक एउटै भान्सामा खाना खानुपर्ने हुँदा जोखिम भएकाले ध्यान दिइएको छ ।
अहिले यहाँ ४० जिल्लाका ज्येष्ठ नागरिक हुनुहुन्छ । उनीस्हरुमध्ये अधिकांश सन्तान नभएका प्रमुख पाण्डेले बताए । यहाँ भएका ज्येष्ठ नागरिकले कतिपयको सन्तान भएको बताउने गरेका छन् । ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ आउनु पहिले यहाँ सन्तान भएका पनि रहेका थिए । त्यतिबेला आएका कतिपय अझै पनि छन् । पहिले भएकालाई हटाउन नमिले पनि अहिले ऐनअनुसार सन्तान भएकालाई राखिएको छैन । छोराछोरी छन् तर हेर्दैनन् भने अहिलेसम्म राख्न नमिल्ने उनले बताए । उनले भने, “अहिलेसम्म सन्तान भएकालाई राख्न प¥यो भनेर सिफारिस पनि आएको छैन ।”