हृदयमा मेरो देश

चुलो, भान्सा, अगेना र ओदान ल्याए जस्तो लाग्ने,
लाग्ने कसौंडी, ताप्के र अम्खोरा ल्याए जस्तो ।
थाल र कचौरा बिर्सिएछ क्यारे केमा खाने ?
बस्नको लागि पिर्का र गुन्द्री पनि छैन यता ।
Advertisement 1
भएछन् आँखा रसिला– पिरा खुर्सानी र प्याजका रसहरुले,
रंगिएछन् हात र कपालहरु बेसार र मसलाका लेपहरुले ।
मन छ गदगद विभोर, खुशीले उन्मत्त साह्रै,
तनमा जेहोस्, मनमा खुशी छ गुन्द्रुक र मस्यौरामा सधैं ।
छैनन् यहाँ गगनचुम्बी हिमाल, सुन्दर लहरा–पहरा र पहाडहरु,
यहाँ छैनन् नागबेली बाटा, उकाली, ओराली अनि खेतका कान्लाहरु ।
कुवा र कलकलाउँदा पानी खाने ढुंगेधाराहरु शून्य छन् यहाँ,
छैनन् लहलहाउँदा खेतमा झुलेका सुनौला धानका बालाहरु यहाँ ।
Advertisement 2
देखिँदैनन् यहाँ खेतका कान्लामा फलेका भटमासका बालीहरु,
यहाँ सुनिँदैनन् प्रायः मृदुभाषाका कोइली, डाँफे र मुनालका स्वरहरु,
साटिँदैनन् यहाँ वल्लो र पल्लो घरमा आफ्ना दुःख र सुखका पलहरु,
त्यसैले हो त, तन यता भएपनि मन उता ?
विशाल आधुनिक, अनुसन्धान र अरु लक्ष्यका भवनहरु,
अनगिन्ती समृद्धिमा अडेको दीर्घकालीन व्यवस्थापनहरु,
चौडा बाटा अनगिन्ती गाडी, स्थिर छन् अनुशासन र कर्ममा,
विचलन छैनन् कोही, कतै सुनिँदैनन् बाटो बिराएकोहरुमा
सुशासन, समानता र स्वस्थकर जीवनहरु,
अनि छन् अटल इमानदारी, सरलता र कर्तव्यहरु ।
Advertisement 3
के छ उता ?
धुलो मैलो, कपट, छलछाम र फोहोरी राजनीति गर्नेहरु,
मात्र छन् बिर्सिएर देश प्रेमलाई, स्वार्थ सिद्ध गर्न खोज्नेहरु ।
अनि छन् अपूर्ण, अस्पष्ट र अस्वस्थ देशका नीतिहरु,
अग्रसर छन् अनुसन्धान र समृद्धिका बाटामा बार हाल्नेहरु,
कोपिलाबाट सुगन्धित फूलमा नपाउँदै फक्रिन,
निमोठिएका छन् ती निर्माण कार्यहरु ।
तर पनि किन तन यता भएपनि मन उता ?
(हाल:- Apex, NC, USA)