हाम्रो समाज र संस्कृति
नेपाल भौगोलिक क्षेत्रका हिसाबले त्यति ठूलो हैन तर हाम्रो संस्कार र संस्कृतिले विश्वलाई प्रतिनिधित्व गर्न सक्छ। यस अर्थमा आफूलाई नेपाली हुन पाएकोमा गर्व लाग्छ। क्षेत्रफलका हिसाबले नेपाल त्यति ठूलो छैन होला तर विश्वको हरेक क्षेत्रमा पाईने हावापानी हरेक दिनमा फेर्न सकिन्छ, विश्वका हरेक वनस्पति नेपाल भित्रै पाईन्छ, त्यसैगरी विश्वका बढी जनसंख्या भएका देश चीनको स्वशासित प्रदेश तिब्बत र भारतको संस्कृति समेत नेपालमा पाईन्छ। विश्वको सबभन्दा अग्लो चुचुरो, अग्लो ठाऊमा रहेको ताल, होचो ठाऊ ,सबै बिबिधताले परिपूर्ण नेपालको कला, संस्कृति, वेशभूषा, भाषा र सभ्यता समेतले विश्वको मन जितेको छ भन्नुमा अत्युक्ति लाग्दैन।
Advertisement 1
नेपाल भित्र भएका करीब १२० भन्दा बढी जाती जनजाती नेपालको साझा फुलवारी हो र यिनीहरू बीचको सहिष्णुता झनै सुन्दर पक्ष हो। हामीमा भएको बिबिधता हाम्रो ब्यबहारमा देखिन्छ नै। हाम्रा आफ्नै संस्कृति र हाम्रा आफ्नै चलन छन्। यिनै संस्कृति, चलन, भाषा, वेशभूषा, खानपान, बोली ब्यबहारले हामी सबैलाई विश्वबाट पृथक रूपमा चिनाउछ र यसैबाट हाम्रो परिचय समेत बनेको छ। भेटघाट हुदा नातो लगाएर बोल्ने, सन्चो विसन्चो सोध्ने, घरमा आए पछि केही नख्वाई नपठाउने, गाऊमा कसैको घरमा पाहुना हुन पुगियो भने सबैको घरमा धेरथोर कोशेली लगिदिने र सबै गाऊलेले पनि एक छाक खाना वा चिया नास्ता गराएर पठाउने, कसैको घरमा जाने मान्छेले त्यो घरमा जादा रित्तो हात नजाने केही कोसेली पात लिएर जाने, गाऊमा कसैको घरमा दु:ख आपद परेमा अन्य सबैले आर्थिक एवं भौतिक सहयोग गर्ने, कसैको निम्तोमा जादा केही कोशेली पात लिएर जाने जस्ता संस्कारहरू हाम्रा समुदायमा छ।
यो समुदायले पाहुनालाई पहिलो स्वागत रक्सीबाट गर्छन्। रक्सीलाई शुभ अशुभ जुन सुकै कार्यमा पनि प्रयोग गर्न यो समुदायले अनुमती दिन्छ। यसलाई पवित्र पेय मानिन्छ।यस्ता समुदायमा गुरूंग, मगर,थकाली , राई, तामांग, लामा,लिम्बु, शेर्पा , नेवार,ठकुरी आदि अग्रतामा छन्। यो समुदाय मनकारी हुन्छ र दान धर्ममा विश्वास गर्छ। यो लोक मात्र हैन परलोक पनि बनाउनु पर्छ भन्ने मान्यता राख्छ। त्यसैले यो समुदाय अन्य समुदाय संग त्यति नजिक हुन चाहदैन। किनभने यिनीहरूको सोच र ब्यबहार अन्य समुदाय भन्दा केही फरक भएको पाईन्छ। यिनीहरू आफ्नो समुदाय भित्रै रमाउन र भुल्न चाहन्छन्।यिनीहरूमा ईमान्दारिता पनि बढी नै हुन्छ।यो समुदायले आफ्ना रीति रिवाज, संस्कारहरू भित्र एकता राख्न चाहन्छ।एउटै जाती र एउटै गोत्रको ब्यक्ति जुनसुकै भूगोलमा भेटिए पनि सहोदर दाजुभाई सरह मान्दछन्।
Advertisement 2
विहेवारी र लेनदेन आफूहरू भित्र वे-गोत्रीहरू (फरक गोत्र) मै गर्छन्। कतै अन्तरजातीय विवाह हुन पुग्यो भने यस्ता छोरी चेलीलाई मर्दा पर्दा सामेल गराउदैनन्। यी जाती जनजातीहरू आ-आफ्नो रीति, स्थिति, चाडपर्वमा गर्व गर्दै यसलाई लोप हुन नदिन नयां पुस्तालाई हस्तान्तरण गर्न चाहन्छन्। आफ्नो भाषा र संस्कृतिलाई जीवन्त राख्न चाहन्छन्। विश्वका जुनसुकै कुनामा रहे बसे पनि आफ्नो पहिचानलाई विर्सेका छैनन्। वास्तवमा भन्नु पर्दा यिनीहरू आफ्नो कला र संस्कृतिमा जीवन्त संग्रहालय हुन्। नेपालको कला, संस्कृतिको क्षेत्रमा यो समुदायले नेपाललाई विश्वमा चिनाउने ल्याकत राख्छ। यी बाहेक अन्य समुदायहरू जस्तो बाहुन,क्षेत्री, दशनामीहरूको स्वभाव केही पृथक रहेको पाईन्छ। आथित्यतामा यिनीहरूले आफ्नो निकट र केही परकोलाई फरक गर्छन्। यिनीहरूमा औपचारिकता मात्रै बढी हुन्छ।
यिनीहरूमा सामुहिकता त्यति पाईदैन ।छरिएर रहेको बस्तीमा बसोबास गर्ने र एउटा बस्तीमा विविध जातीहरूको बसोबास हुने भएकोले त्यति सामीप्यता पनि पाईदैन। यिनीहरूमा एक आपसमा सरसापट चल्ने भएता पनि नि:शुल्क सहयोग गर्ने बानी हुदैन। बोलीमा मिठास त्यति हुदैन।पढे लेखेका , धनी, सम्पन्नहरू कम पढेका र गरीवहरू संग सामान्य ब्यबहार गर्न रूचाउदैनन्।यिनीहरू आफूलाई माथिल्लो स्तरको ठान्छन्। संस्कृति, संस्कारलाई पनि कमैले मात्र जीवन्तता दिन्छन्। यिनीहरूबाट अतिथी देवो भव: भन्ने भनाईलाई त्यति चरीतार्थ गर्न रूची राखेको पाईदैन।यिनीहरू आफूलाई टाठो बाठोमा दर्ज्याउन चाहन्छन्। राज्यका महत्वपूर्ण स्थानहरूमा यो समूहको पकड रहेको पाईन्छ।
Advertisement 3
त्यस्तै नेपालमा सदियौ काल देखि दविएर रहेको जाती छ , जसलाई राज्यले नै दलित भनेर नाम दिएको छ। समाजमा विद्यमान जातीय ब्यबस्थामा पानी सम्म नचल्ने गरी यी दलीतहरूलाई अलग्याएको अबस्था छ। समय संगै यिनीहरू उपर गरिने ब्यबहारमा क्रमश: सुधार हुदैछ तर पनि आशातीत रूपमा समाजको सोचमा परिवर्तन भएको पाईदैन। यो समुदायको संस्कृति बाहुन, क्षेत्री समाज संग मिल्छ तर उनीहरूको सांस्कृतिक कार्य र कर्म काण्डीय कार्यका लागि चाहिने जनशक्ति यो समाज संग नहुने र कथित माथिल्लो जातीका बाट छुवाछुतको कारण देखाई उनीहरूका त्यस्ता कर्म काण्डीय काम नगरिदिने हुदा यिनीहरू समस्यामा परेका छन्।यही समस्याका कारण यो समुदाय क्रमश: हिन्दू सम्प्रदायबाट टाढिदै र क्रिश्चियन समुदाय संग नजिकिदै गएको पाईएको छ।
यसरी राज्यले यसरी हुने सामाजिक अपराधको उपचार कानूनी रूपबाट मात्र खोज्दै छ, तर यो उपचारको माध्यमले सकारात्मक नतिजा दिन सकेको पाईदैन।यो सामाजिक अपराधलाई कम गराउन राज्यले यो वर्गको लागि आरक्षणको ब्यबस्था पनि गरेको छ तर यो ब्यबस्थामा पनि त्यो वर्गका टाठाबाठाले मात्र यसको फाईदा लिई राखेको पाईन्छ। कानूनी उपचारका लागि यो समूहको पहुच न्यायालय सम्म पुग्न कति सहज होला! सहजै अनुमान गर्न सकिने विषय पर्यो।फेरि नेपालमा हाल न्यायालयको तमासा सबैले देखिरहेकै छन्। यो समुदाय र अन्य समुदाय बीचको अन्तर कम नभै रहेको अवस्थामा अब राज्यले थप कदम चाल्न जरूरी छ। यसको लागि त्यो समुदायका हरेक सदस्यलाई सबल र सक्षम बनाउन शिक्षा, स्वास्थ्य र रोजगारीको हालको ब्यबस्थालाई पुनरावलोकन गरी थप सशक्त तुल्याउनु जरूरी छ।
एक पटक म बसबाट काठमांडौको यात्रा तय गर्दै थिएं, मुंगलिंगमा खाना खान बस रोकियो, बस रोकिएको नजिकको होटलमा भिड भएकोले म अली पर भिड नभएको होटलमा पसें, खाना खाएर बील तिर्न गएको त अन्यत्र भन्दा आधा सस्तो बील आयो र सोधें किन थोरै पैसा लिनु भएको हो भन्दा जवाफ पाएं कि यो मुस्लिमको होटल हो यहा मुस्लिम मात्र खाना खान आउछन् भन्ने मान्यताले खानाको बील अन्यत्र भन्दा सस्तो हुन्छ भन्ने जवाफ पाउदा म अचम्म परें। मुस्लिम समुदायमा पनि आफ्नो वर्गमा सहयोग गर्नु पर्छ भन्ने मान्यता रहेको पाईयो। यो त होटल र खानाको कुरा भयो तर यो समुदाय त झन् उदार र दानी हुन्छ आफ्नो समुदायमा। यिनीहरूको चालचलन र संस्कृति पनि अनुकरणीय छ। यसैले हाम्रो देश भूगोलका आधारमा सानो भए पनि यहाका बासिन्दाको दिल ठूलो छ। हरेक समुदायले समाज सेवालाई महत्व दिन्छ। नेपालीहरूको सम्पर्क विश्वका करीव सबै समुदाय संग रहेको छ। उनीहरू प्रत्यक्ष वा परोक्ष रूपमा विभिन्न देशको संस्कृति, चालचलन संग परिचित छन्। विश्वलाई नै आतिथ्यता दिन सक्षम छन् नेपाली जनता । नेपालको समाज र संस्कृति विश्व बजारमा सहजै बजारमय हुन सक्छ। धन्य नेपाल, धन्य नेपाली संस्कृति।