जुवाखालबाट पत्रकार पक्राउ परेको खबरको पत्रकार महासंघले गर्यो खण्डन
भक्तपुरमा एक जुवाखालबाट पक्राउ परेकाहरुमा कोहीपनि पत्रकार नभएको पुष्टि भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी प्रमुख समेत रहेका प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठ सो कुरा को पुष्टि गरेका छन् ।
Advertisement 1
राष्ट्रिय समाचार समिति (रासस)को हवाला दिँदैं मिति २०७८ कार्तिक २१ गते विभिन्न सञ्चारमाध्यमले भक्तपुरको एक जुवाखालबाट पत्रकार पक्राउ परेको समाचार संप्रेषण गरेका थिए । संप्रेषित समाचारपछि नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले यसबारे चासो राखी बुझ्दा त्यस्तो नपाइएको कार्यवाहक अध्यक्ष सुन्दर सिल्पकारले बताएका छन् । कतिपय संचारमाध्यमले पत्रकार पक्राउ परेको विषयमा राससको हवाला दिंदै भ्रामक शिर्षकसहितका समाचार प्रकाशनर प्रशारण गरेपछि आफूहरुले तथ्य बुझ्दा त्यस्तो नपाइएको उनले बताए । “पत्रकार सबै राम्रा भन्ने होइन तर,भक्तपुरमा जुवाखालबाट पत्रकार पक्राउ भन्ने समाचार असत्य छ ।” उनले भने । व्यक्तिको नाम उल्लेख नगरी पत्रकार पक्राउ भन्दा सबै पत्रकार माथि प्रहार भएको भन्दै उनले तथ्यहीन समाचारले पत्रकारकै मर्यादामाथि प्रश्न उठाएको जिकिर गरे ।
उक्त विषयमा नेपाल पत्रकार महासंघ भक्तपुरले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले एक प्रेस विज्ञप्ति नै जारी गरी सो समाचारले भ्रम फैलाएको ठहर गर्दै भ्रममा नपर्न अनुरोध गरेको छ । समाचारमा उल्लेख भए अनुसार भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडाल पुरीगाउँबाट प्रहरीले जुवाखालमा छापामारी १५ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले पुष्टि गरेपनि ती मध्ये कोहीपनि पत्रकार नभएको विज्ञप्तिमा बताइएको छ । सो घटनामा पत्रकार पनि पक्राउ गरिएको भन्नेबारे परिसर प्रमुख एसपी शिवकुमार श्रेष्ठ र सूचना अधिकारी रहेका डिएसपी दिपक गिरीसँग सम्पर्क गर्दा पक्राउ परेका कसैले पनि पत्रकार हुँ भनी परिचय नदिएको, परिचयपत्र नभेटिएको र चिनजानका हिसावले पनि पक्राउ परेका कोहीपनि पत्रकार नभएकोले जुवाखालबाट पक्राउ परेका मध्ये पत्रकार पनि रहेको भनी पुष्टि हुन नआएको जानकारी प्राप्त भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
Advertisement 2
साथै, कुनै पनि पत्रकार वा सञ्चारमाध्यमलाई पत्रकार पनि पक्राउ परेको भनी सूचना नदिएको प्रहरीले स्पष्ट पारेको अवस्थामा प्रहरीले जनाएको भन्दै समाचार आउनु पत्रकार आचारसंहिता विपरित भएको महासंघको भनाइ रहेको छ ।”जिम्मेवार र आधिकारिक निकायबाट पुष्टि नै नहुँदै जुवाखालबाट पक्राउ पर्नेमा पत्रकार पनि रहेको भन्ने व्यहोराको समाचारले भ्रम उत्पन्न गराएको महासंघ भक्तपुरको ठहर छ र समाचारको विषयलाई लिएर भ्रममा नपर्न सबैमा अनुरोध गर्दछ ।” सचिव संजीप घिमिरे शुभचिन्तकद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ । यस्ता पुष्टि नभएका भ्रामक समाचार संप्रेषण गर्नुले आम पत्रकार जगतकै मानमर्दन हुने निष्कर्ष सहित समाचार संप्रेषणप्रति गम्भिर हुन, आधिकारिक निकायबाट पुष्टि नभएका र पत्रकार आचारसंहिता विपरितका गलत र भ्रामक समाचार संप्रेषण नगर्न सम्बन्धित सबैमा अनुरोध गरिएको छ । साथै, भविष्यमा यस्ता गल्ती नदोहोर्याउन समेत विज्ञप्ति मार्फत महासंघ भक्तपुरले चेतावनी दिएको छ ।