पूर्व सांसद अधिकारी मानसिक समस्याबाट गुज्रिएको खुलासा, कहाँबाट कसरी पाए त छुटकारा ?

चितवन/संविधानसभा सदस्य तथा पूर्व शिक्षा राज्यमन्त्री समेत रहेका कांग्रेस नेता शेषनाथ अधिकारी विगतमा मानसिक समस्याबाट गुज्रिएक रहेछन् । गत आश्विन २४ गते विश्व मानसिक स्वास्थ्य दिवसका दिन जनचेतनाका लागि अधिकारी आफैंले यो खुलासा गरेका हुन् ।
खैरहनी–११, गैंडाहामा अवस्थित ब्युटिफुल माइण्ड इन्स्टिच्यूट अफ साइकियाट्रिद्वारा आयोजित कार्यक्रममा अधिकारीले विगतमा आफू निद्रा कम लाग्ने समस्याबाट गुज्रिएको बताए । ब्युटिफुल माइण्ड रिहाबिलिटेशन सेन्टरले नै आफूलाई सो समस्याबाट छुटकारा दिलाएर नयाँ जीवन दिएको जानकारी पनि उनले गराए । ब्युटिफुल माइण्ड रिहाबिलिटेशन सेन्टरका मनोचिकित्सक डा. गिरीराज भन्तानाका अनुसार उनी मानसिक समस्या ‘स्टे«स’बाट पीडित थिए ।
‘डाक्टर गिरीराज भन्तानालाई म बाल्यकालदेखि नै चिन्दछु । तर यसरी यो हाइट उहाँले हासिल गरिसक्नुभाछ भन्ने थाहा थिएन, पछि थाहा भयो । अलिअलि चर्चापरिचर्चा त थियो । वास्तवमा उहाँलाई मैले कसरी चिनें भने, म आफैं बिरामी भएँ’, नेता अधिकारीले भने, ‘म बिरामी भएँ तर सुरुमा आफू बिरामी भएको मैलाई थाहा भएन । अनेक डाक्टरको सारा उपचार गरें । कुनैले यो औषधि दिन्छ, कुनैले त्यो दिन्छ । के–के भयो, भयो । विभिन्न ठाउँमा उपचार हुँदै गयो । तर आफू जस्ताको तस्तै छ । मलाई समस्या छ भन्नेचाहिँ मलाई लाग्यो– निद्रा कम लाग्ने हुँदै गयो । धेरैथरी परीक्षण भयो तर यो ऊ भन्ने नै छैन ।’
लास्टमा यहाँ (ब्युटिफुल माइण्डमा) आउनुभन्दा पहिले विभिन्न औषधि खाएर, एकसेएक डाक्टरहरुकोमा गएर हेर्दा केही नदेखिएको बताउँदै उनले भने, ‘तर आफूसँग चाहिँ छ । आफूलाई अप्ठ्यारो भइराछ । हुँदाहुँदा दिनदिनै गल्दैगल्दै गएर चक्कर लाग्ने हुन थाल्यो । औषधि पनि यतियति हुन थाल्यो कि दिनमै १०/१२ वटा खानुपर्ने । त्यसपछि म अलि शिथिल जस्तो भएँ, शरीरमा अप्ठ्यारो भइराथ्यो । पछि म शिथिल छु, अलि बिरामी छु भन्ने उहाँले (डा. गिरीराज भन्तानाले) थाहा पाउनुभएर भेट्न आउनुभयो । डाक्टर भन्ताना मलाई भेट्न आएपछि मैले सबै रिपोर्टहरु उहाँलाई देखाएँ । उहाँले औषधिहरु पनि हेर्नुभयो । अब तपाईंको उपचार यहीँ (ब्युटिफुल माइण्ड रिहाबिलिटेशन सेन्टरमा) हुन्छ, एउटा थेरापी छ, त्यो गर्नुपर्छ । थेरापी गरेपछि ठिक हुन्छ, केही समस्या हुँदैन भन्नुभयो ।’
उनका अनुसार डा. भन्तानाले यति भनेपछि उनी एकदम आकर्षित भएर भोलिपल्टै ब्युटिफुल माइण्डमा गए । ब्युटिफुल माइण्डको गेटबाट भित्र पस्न नपाउँदै चक्कर लाग्यो उनलाई । डाक्टरसापले नै समात्नुभयो, बाटोमै कुर्सी ल्याएर राख्नुभो । अधिकारीले भने, ‘उहाँले २५ दिन तपाईंले थेरापी गर्नुपर्छ भन्नु भयो । एउटा मेसिनबाट २५ मिनेटको थेरापी हुँदो रैछ । टाउकोमा राखेर ट्वाक्क ट्वाक्क ट्वाक्क गर्छ, फेरि बस्छ । पहिलो दिन त म आफैंलाई हाँसो लाग्यो । दोस्रो दिन केही हुन्छ कि जस्तो फिल भयो । औषधि सबै छुटाइदिनु भयो उहाँले (डा. भन्तानाले) । तेस्रो दिन स्थिति अलिकति सप्रिन लागेजस्तो लाग्यो । २५ दिन मैले त्यो थेरापी गरें । त्यो ट्वाक ट्वाकमै सिद्धियो । निद्रा लागेन भनेदेखि टाउकोमा फिता बाँधेर मेसिनमा राखेर झनन्न पार्ने रहेछ । मलाई निद्रा नलाग्ने समस्या थियो तर म त्यहीँ निदाउने भएछु । अनि निद्राको समस्या ठिक भयो ।’ उनले थपे, ‘फेरि अर्काे मेसिन रहेछ, म ठिक भाछु कि छैन भन्ने कुरा त्यसले पत्ता लगाउँदो रहेछ । मानसिक अवस्था ठिक भयो कि भएन भनेर त्यसले जाँच्यो, म ठिक भएँ ।’
चितवनका मान्छेको लागि यो संस्था (ब्युटिफुल माइण्ड इन्स्टिच्यूट अफ साइकियाट्रि) वरदान भएको बताउँदै नेता अधिकारी भन्छन्, ‘चितवनका लागि मात्रै होइन देशभरिकै लागि वरदान हो । अहिले धेरै मान्छेलाई यो समस्या छ । उनीहरुको उपचार यहाँ हुनेछ । त्यसैले यो संस्था एकदम महत्वपूर्ण छ ।’
हाम्रो समाजमा एउटा समस्या छ, मानसिक हस्पिटलमा गएपछि पागल भन्दिनी हो कि भन्ने ¤ भन्दै उनले भने, ‘रोग जसलाई पनि लाग्न सक्छ, कुनै आश्चर्यको कुरा होइन । म जब सामाजिक मान्छे हो, एउटा राजनीतिक मान्छे हो । मैले मेरो कुरा लुकाउन थालें भने अनि अरु सर्वसाधारणले कहाँ देखाउँछन् ? मैले देखाइदिएँ भने सर्वसाधारणमा फलानोले त भन्यो, भनेर केही हुने रैनछ भन्ने हुन्छ । यो समस्यामा मान्छे भन्न डराउँछ’, उनले थपे, ‘तर जति डरायो, त्यति रोगी हुँदै गयो । यसका लागि सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरुलाई म विशेष किसिमको आग्रह गर्छु । आफैंलाई परीक्षण गरेर हेर्नू– कहीँकतै मलाई मानसिक समस्या त छैन ?’
– अजय गोर्खाली