बाँकेमा मतदानस्थल र केन्द्र पुनरावलोकनको तयारी

बाँके। स्थानीय तहको निर्वाचनलाई लक्षित गरी बाँकेमा मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकनको तयारी गरिएको छ।
Advertisement 1
जिल्ला मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन समितिले जिल्लामा रहेका मतदानस्थल र मतदान केन्द्रको अवस्थाबारे सम्बन्धित स्थानीय तहका वडा कार्यालयमा पत्राचार गर्ने निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङको अध्यक्षतामा बसेको समितिको बैठकले यस्तो निर्णय गरेको जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख युवराज पन्तले जानकारी दिए।
उनका अनुसार वडास्तरमा पुनरावलोकनको काम सम्पन्न भएपछि जिल्ला तहमा प्रक्रिया अघि बढाइनेछ। वडास्तरीय पुनरावलोकन समितिले सिफारिस गरेका मतदानस्थल तथा मतदान केन्द्रलाई जिल्लास्तरीय समितिले अन्तिम टुङ्गो लगाउनेछ।
Advertisement 2
बैठकमा जिल्ला निर्वाचन कार्यालयले जिल्लामा हाल कायम रहेका मतदानस्थल तथा मतदान केन्द्रको अवस्थाबारे प्रस्तुतीकरण गरेको थियो। बाँकेमा हाल १३९ मतदानस्थल र ४०० मतदान केन्द्र रहेका छन्। गत भदौ १५ सम्म जिल्लामा ३ लाख ५६ हजार ३९८ मतदाता रहेका छन्। तीमध्ये १ लाख ८१ हजार ३१८ पुरुष, १ लाख ७५ हजार ७० महिला र १० अन्य मतदाता छन्।
समितिमा जिल्लामा सक्रिय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका प्रमुख र सुरक्षा निकायका प्रमुख सदस्य रहेका छन्। बाँकेमा नेपालगन्ज उपमहानगरपालिकासहित आठ स्थानीय तह छन्।









