त्रिभुवन आर्मी फुटबल क्लबको ९ गोल

सुनसरी। प्रथम धरान अन्तरराष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबल प्रतियोगिताको सोमबार राति भएको खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले बागमती युथ क्लबलाई ९ गोल पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

Advertisement 1

गत शनिबारदेखि धरानमा जारी रात्रिकालीन प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा आर्मीले पहिलो हाफमै सात गोल गरेको थियो। खेलको दोस्रो मिनेटमै दीपा शाहीले गोल गर्दै टोलीलाई अग्रता दिलाइन। त्यसपछि उनले पाँचौँ र २३ औँ मिनेटमा थप गोल गर्दै ह्याट्रिक पूरा गरिन। सोह्रौँ मिनेटमा विमला चौधरीले गोल थपिन भने १९औँ मिनेटमा जेनिफर रानाले गोल गरिन। खेलको ३२औँ मिनेटमा जेनिफरले पुन व्यक्तिगत दोस्रो गोल गरिन भने ३७ औँ मिनेटमा दीपाले व्यक्तिगत चौथो गोल गरेपछि आर्मीले पहिलो हाफमा ७–० को अग्रता बनाएको थियो।

दोस्रो हाफको २० औँ मिनेटमा जेनिफरले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरिन। खेलको ३७ औँ मिनेटमा तुलसा बोहराले गोल थपेपछि आर्मी ९–० गोल अन्तरले विजयी भएको हो।

Advertisement 2

उक्त खेलको ‘म्यान अफ दी म्याच’ आर्मीकी दीपा शाही घोषित भइन। उनलाई नगद रु १० हजार पुरस्कार प्रदान गरिएको आयोजक फुटबल क्लबका अध्यक्ष तथा प्रतियोगिता संयोजक सन्तोष राईले जानकारी दिए।

प्रतियोगिताअन्तर्गत आज नेपाल पुलिस क्लब र काँकडभिट्टा फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ। डि–१९ क्लब धरान–१९ र स्वर्णिम फुटबल क्लबको संयुक्त आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिता यही मङ्सिर ५ गतेसम्म चल्नेछ। प्रतियोगितामा भारतसहित ८ टोली सहभागी छन्।

Advertisement 3

प्रतियोगिताको विजेताले रु ५ लाखसहित ट्रफी र उपविजेताले रु तीन लाख पुरस्कार प्राप्त गर्नेछन्। प्रत्येक खेलको ‘प्लेयर अफ दी म्याच’लाई रु १० हजार प्रदान गरिनेछ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई विद्युतीय स्कुटर प्रदान गरिनेछ भने व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीलाई जनही रु १५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

प्रकाशित :२०८३ मंसिर १ गते, मंगलबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]