१५ प्रतिशत कर छुटको अन्तिम दिन कात्तिक ३० मा पनि वडा कार्यालय खुल्ने

काठमाडौं। सरकारले कात्तिक ३० गते सार्वजनिक बिदा दिए पनि बुढानीलकण्ठ नगरपालिकाले उक्त दिन राजस्व संकलन सेवा सञ्चालन गर्ने भएको छ।
Advertisement 1
नगरपालिकाले पहिलो चौमासिकभित्र कर तिर्ने सेवाग्राहीलाई प्रदान गर्दै आएको १५ प्रतिशत कर छुटको सुविधा कात्तिक ३० गतेसम्म मात्रै कायम रहने भएकाले सार्वजनिक बिदाका दिन पनि सेवा सञ्चालन गर्ने निर्णय गरेको हो।
नगर कार्यपालिकाको कार्यालयले शुक्रबार सूचना जारी गर्दै नगरपालिका र मातहतका वडा कार्यालयबाट राजस्व संकलन सेवा यथावत् सञ्चालन हुने जनाएको छ।
Advertisement 2
नेपाल सरकार गृह मन्त्रालयको २०८३ कात्तिक २७ गतेको सार्वजनिक बिदासम्बन्धी सूचनाअनुसार कात्तिक ३० गते सार्वजनिक बिदा हुने भए पनि कर छुटको अन्तिम दिनसमेत परेकाले सेवाग्राहीको सुविधालाई ध्यानमा राखेर राजस्व संकलन सेवा सञ्चालन गर्न लागिएको नगरपालिकाले स्पष्ट पारेको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय वर्तौलाद्वारा जारी सूचनामा सम्बन्धित सबै सेवाग्राहीलाई उक्त दिन पनि कर भुक्तानी गर्न सकिने जानकारी गराइएको छ।
Advertisement 3
यस व्यवस्थाले सार्वजनिक बिदाका कारण कर भुक्तानी गर्न नपाउने अवस्थाको अन्त्य गर्दै १५ प्रतिशत कर छुटको सुविधा उपयोग गर्न सेवाग्राहीलाई थप अवसर प्रदान गर्नेछ।









