जितियाः निराहार व्रत समापन

जनकपुर। सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया पर्वअन्तर्गतको निराहार व्रत आज समापन भएको छ।
Advertisement 1
३ दिनसम्म विभिन्न विधि पूरा गरी मनाइने जितिया पर्वअन्तर्गत शुक्रबार राति ‘ओगटन’ (दर) खाएर महिलाले व्रत सुरु गरेका थिए। शनिबार पानीसमेत नखाई निराहार व्रत बसेका महिलाले आज बिहान नुहाइधुवाइ गरी व्रत समापन गरेका हुन्।
व्रतको दोस्रो दिन महिलाले जितमाहा अर्थात् धर्मवीर पुत्र जितुवाहनको कथावाचन तथा पूजाअर्चना गरी सन्तानको दीर्घायुको कामना गरेका थिए।
Advertisement 2
पर्वको अन्तिम दिन विधिपूर्वक फलाहार वा अन्नग्रहण गरी व्रत समापन गर्ने परम्परा छ। विशेषगरी मिथिला तथा तराई–मधेसका जिल्लाका साथै काठमाडौँलगायत सहरमा रहेका मैथिल समुदायले जितिया पर्व मनाउने गर्छन्।
जितिया कठोर व्रतमध्ये एक मानिन्छ। महिलाले सन्तानप्रति मातृभाव र समर्पण प्रकट गर्दै एक दिन–एक रात निराहार उपवास बस्ने परम्परा छ। यो व्रतका प्रभावले सन्तानको दीर्घायु हुने जनविश्वास छ।








