मन्त्री रावलद्वारा झापाका सुकुम्बासीको गुनासो सुनुवाइ

झापा। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले झापाका भूमिहीन, अव्यवस्थित बसोबासी तथा सुकुम्बासीको समस्या बुझ्न स्थलगत भ्रमण गरी जनगुनासो सुनेकी छन्।
Advertisement 1
सोमबार र आज उनले दमक, कनकाई, अर्जुनधारा र बुद्धशान्तिका बस्तीमा पुगेर स्थानीयसँग समस्या र समाधानका विषयमा छलफल गरीन्। आज बुद्धशान्ति गाउँपालिका–४ को सुकुम्बासी बस्तीमा पुगेकी मन्त्री रावलले सरकारले सुकुम्बासी समस्या स्थायी रूपमा समाधान गरी जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने बताइन्।
उनले बुद्धशान्ति गाउँपालिकाका सुकुम्बासीलाई आगामी दुई महिनाभित्र लालपुर्जा वितरण गर्ने आश्वासन दिइन्। स्थानीयले मन्त्रीसमक्ष लामो समयदेखि लालपुर्जा पाउन नसकेको गुनासो राखेका थिए।
Advertisement 2
झापा निर्वाचन क्षेत्र नं १ का सांसद रमेश प्रसाईँले जिल्लामा सुकुम्बासी समस्या समाधानको काम अपेक्षाकृत हुन नसकेकाले मन्त्री स्वयं स्थलगत भ्रमणमा आउनुपरेको बताए। उनले मन्त्रीको भ्रमणले वर्षौंदेखि लालपुर्जा पाउन नसकेका नागरिकमा जग्गाको स्वामित्व प्राप्त गर्ने आशा जागेको उल्लेख गरे।
सोमबार झापा पुगेलगत्तै मन्त्री रावलले जिल्ला प्रशासन कार्यालयमा जिल्लाका १५ वटै पालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग छलफल गरी सुकुम्बासी समस्या समाधानका लागि तीव्र गतिमा परिणाममुखी काम गर्न निर्देशन दिएकी थिइन्।








