८ सहसचिव सरुवामा व्यापक हेरफेर, अर्थदेखि राष्ट्रपति कार्यालयसम्म जिम्मेवारी परिवर्तन

काठमाडौं। सरकारले पछिल्लो सहसचिव सरुवामा अर्थ मन्त्रालयदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपति कार्यालय, उद्योग मन्त्रालय तथा संवैधानिक आयोगसम्मका निकायमा जिम्मेवारी हेरफेर गरेको छ।
Advertisement 1
नारायण रिसाल, गोकुल बास्तोला र बन्धु बास्तोलालाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ। अर्थ मन्त्रालयमा रिक्त रहेका पदमा उनीहरूलाई ल्याइएको स्रोतको भनाइ छ।
त्यस्तै, राष्ट्रपति कार्यालयमा कार्यरत रितेशकुमार शाक्यलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको स्रोतले जनाएको छ।
Advertisement 2
अनिल दत्तलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ भने अतिरिक्त समूहमा रहेका शंकरहरि आचार्यलाई राष्ट्रिय समावेशी आयोगमा पठाइएको स्रोतको भनाइ छ।
यसैगरी, सुदूरपश्चिम प्रदेशमा कार्यरत राजेन्द्र हमाललाई राष्ट्रिय महिला आयोगमा सरुवा गरिएको छ। हालै गृह मन्त्रालयबाट फर्किएका भूपेन्द्र थापालाई राष्ट्रपति कार्यालयमा पठाइएको स्रोतले जनाएको छ।
Advertisement 3
यसअघि सार्वजनिक भएको विवरणमा थापासहित गृह प्रशासनमा कार्यरत केही सहसचिवलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा पठाइएको उल्लेख थियो। पछिल्लो सरुवासँगै थापालाई पुनः जिम्मेवारी तोकिएको हो।
पछिल्लो सरुवाले संघीय सरकारका महत्वपूर्ण मन्त्रालय, प्रधानमन्त्री कार्यालय, राष्ट्रपति कार्यालय तथा संवैधानिक निकायमा सहसचिव तहको जिम्मेवारीमा फेरबदल गरेको छ।








