यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैनः प्रधानमन्त्री शाह

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले विपद्का समयमा सरकारलाई थकित भयो भनेर विश्राम लिने छुट नभएको बताएका छन्।

Advertisement 1

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले सङ्कटको यो घडीमा देशको नेतृत्वले आँसु होइन, जनतालाई हिम्मत, आड र भरोसा दिनुपर्ने यथार्थलाई आफूहरूले स्वीकार गरी अहोरात्र खटिरहेको उल्लेख गरे। उनले मन भक्कानिदा पनि एक–आपसमा बिलौना गर्ने समय झनै नभएको बताए।

प्रधानमन्त्री शाहले भने, “सोही दृढ सङ्कल्प र साहसका साथ यो विपत्तिसँग लड्नुको हामीसँग अर्को विकल्प थिएन र छैन। हामी लडिरहेका छौँ।”

Advertisement 2

आफ्ना सपनाहरू बुनिरहनुभएका नानीबाबुहरू, हाँसो–खुसीका साथ बसिरहेका आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको भीषण बाढीले क्षणभरमै खोसेर लगेको बताउँदै उनले यस अकल्पनीय विपत्तिमा परेर ज्यान गुमाउने सम्पूर्णमा श्रद्धाञ्जली अर्पण गरे। साथै उनले आफ्ना मान्छे गुमाएर गहिरो शोकमा परेका परिवारजनप्रति समवेदना प्रकट गरे।

प्रधानमन्त्री शाहले घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आफ्ना मान्छे अझै फेला नपरेर बाटो हेरिरहेका नागरिकहरूको पीडा पनि आफूले गहिरोसँग महसुस गरेको उल्लेख गरे। “यो पीडा रसुवा, नुवाकोट वा धादिङको मात्र होइन, यो सिङ्गो नेपालको छातीमा परेको साझा बज्रपात हो। बाढीमा परेका नागरिकको कारुणिक चित्कार सुन्दा मेरो छाती चिसो हुन्छ”, उनले भने।

Advertisement 3

प्रधानमन्त्री शाहले बाढी प्रभावितहरूको जीवनरक्षाका लागि सरकारले गरिरहेको कामका बारेमा सदनलाई विस्तृत रूपमा जानकारी गराए।

प्रकाशित :२०८३ भाद्र १७, बुधबार १४:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry