पुवाखोलामा बेलिब्रिज जडान सुरु

इलाम। आजबाट पुवाखोलामा बेलीब्रिज पुल जडान सुरु गरिएको छ। पुल २३० फिट लम्बाइ र १४ फिट चौडाइको छ।
Advertisement 1
सङ्घीय सरकारको रु २ करोड २० लाख ३४ हजार २३१ को लागतमा बेलिब्रिज जडान सुरु गरिएको हो। बेलिब्रज दुई साताभित्रमा सम्पन्न गरी सञ्चालन गर्ने तयारी गरिएको सडक डिभिजन कार्यालय, इलामका प्राविधिक अर्जुन घिमिरेले जानकारी दिए। इलाम नगरपालिका–९ भाङटार र वडा नं. ११ सोयाक जोड्ने उक्त पुल जडान गर्न भारतबाट प्राविधिक टोली नेपाल आइपुगेको छ।
पुल जडानका लागि सिभिल संरचना, गत आर्थिक वर्ष नै तयार भइसकेको थियो। भारतसरकारको अनुदान स्वरुप उक्त बेलिब्रिज नेपाललाई प्राप्त भएको हो। बेलिब्रिज जडानको काम सुरुपछि इलामवासी उत्साहित भएका छन्। जडान भइसकेपछि सडक मेची राजमार्गको वैकल्पिक सडक बन्न सक्ने इलाम नगरपालिका–९ का प्रकाश नेपालले बताए। बेलीब्रिज निर्माण सम्पन्नपछि वर्षातको समयमा झापा, इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुमका केही क्षेत्रमा सहज र नियमित यातायात सञ्चालन हुनेछ।
Advertisement 2
मेची राजमार्गको वैकल्पिक सडकको रुपमा लिइएको सो सडक इलामदेखि विर्तामोडसम्म ५० किलोमिटर दुरी पर्दछ। इलाम खण्डको माई नगरपालिका क्षेत्रमा १५ किलोमिटर सडक कालोपत्रे भइसकेको छ। बाँकी १७ किलोमिटर खण्डमध्ये १४ किलोमिटर निर्माण भइरहेको छ।








