रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता

रसुवा। रसुवागढी जलविद्युत् केन्द्रका इन्जिनियर टीका पौडेलले भोटेकोशीमा गएको बाढीपछि प्रमुख सन्तोष अधिकारीसहित ५१ जना कर्मचारी र ४२ मजदुर गरी केन्द्रका ९३ जनशक्ति हाल बेपत्ता अवस्थामा रहेको जानकारी दिए।
Advertisement 1
इन्जिनियर पौडेलले भोटेकोशी बाढीबाट टिमुरेस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा अध्यापन गराउने शिक्षिका समेत रहेकी आफ्नी श्रीमती कविता न्यौपाने पौडेलसहित रसुवागढी जलविद्युत् केन्द्रका सबैजसो सहकर्मी गुमानुपरेको पीडा सुनाए। विनाशकारी बाढीको २ दिनअघि काठमाडौँमा अध्ययनरत छोरीको उपचार गराउन आउँदा ज्यान जोगिए पनि श्रीमतिसहित सहकर्मी गुमानपर्दाको पीडाका बीच उनले जीवनमा अकल्पनीय दुःख व्यहोर्न परेको बताए।
बिहान कार्यालय समयभन्दा अघि एक्कासि बाढी आएकाले अधिकांश सहकर्मीसहित परिवारजन टिमुरेस्थित आवासगृहबाट बेपत्ता भएको हुनसक्ने बताउँदै इन्जिनियर पौडेलले सो समयमा रसुवागढी जलविद्युत केन्द्रभित्र तीन जनामात्र कर्मचारी रहेको जानकारी दिए। उनले चिलिमे जलविद्युत् केन्द्रमा पनि जम्मा ६ जना कर्मचारी रहेको भन्ने जानकारी प्राप्त भएको बताए।








