`फोकटको सल्लाह’ लेखेको भोलिपल्टै सचिव निरौलालाई टिमुरे काज सरुवा

काठमाडौं । कोशी प्रदेशका सचिव कोषहरि निरौलालाई संघीय सरकारले रसुवाको टिमुरे खटाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै निरौलालाई टिमुरे पठाउने निर्णय गरेको हो ।

Advertisement 1

निरौलालाई शव व्यवस्थापनको जिम्मेवारीका लागि टिमुरे खटाइएको बताइएको छ । मन्त्रालयको निर्णयसँगै उनी कोशी प्रदेशबाट संघीय सरकारको काजमा रसुवा पुगेका हुन् ।

रोचक संयोग के देखिएको छ भने, निरौलाले शनिबार मात्रै सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारलाई विभिन्न विषयमा सुझाव दिएका थिए । उनले उक्त स्टाटसलाई नै ‘फोकटको सल्लाह’ भन्दै कोभिड–१९ को समयमा आफू मोरङको प्रमुख जिल्ला अधिकारीका रूपमा काम गर्दाको अनुभवसमेत सार्वजनिक गरेका थिए ।

Advertisement 2

कोभिड संक्रमणका बेला शव व्यवस्थापनमा आफूले गरेको कामको अनुभव उल्लेख गर्दै उनले शव व्यवस्थापनको विषयमा आफ्ना धारणा राखेका थिए । सोही क्रममा उनले मृतकको शव गाड्नेभन्दा सम्बन्धित धर्म, संस्कार र परम्पराअनुसार अन्तिम संस्कार गर्न पाउनुपर्ने धारणा व्यक्त गरेका थिए ।

निरौलाले सामाजिक सञ्जालमा लेखेको उक्त धारणा सार्वजनिक भएको भोलिपल्टै उनलाई रसुवाको टिमुरेमा शव व्यवस्थापनको कामका लागि काजमा खटाउने निर्णय भएपछि प्रशासनिक वृत्तमा यसलाई लिएर चर्चा सुरु भएको छ ।

Advertisement 3

यद्यपि, मन्त्रालयले निरौलालाई टिमुरे खटाउने निर्णयको कारण उनको फेसबुक स्टाटस नै भएको औपचारिक रूपमा खुलाएको छैन । मन्त्रीस्तरीय निर्णयबाट उनलाई टिमुरे खटाइएको विषय भने पुष्टि भएको छ ।

निरौलाले फेसबुकमा लेखेको उक्त स्टाटस भने अहिले हटाइसकेका छन् ।

सरकारी सेवामा रहेका उच्च तहका कर्मचारीले सामाजिक सञ्जालमा व्यक्त गर्ने धारणा र त्यसपछि हुने प्रशासनिक निर्णयलाई लिएर बेलाबेला बहस हुने गरेको छ । निरौलाको हकमा पनि शव व्यवस्थापनबारे आफ्नो अनुभव र धारणा सार्वजनिक गरेको भोलिपल्टै सोही प्रकृतिको जिम्मेवारीमा काज खटाइनुलाई संयोग मात्रै मान्ने कि अन्य कुनै कारणसँग जोडेर हेर्ने भन्ने विषयले चर्चा पाएको छ।

प्रकाशित :२०८३ भाद्र १४, आईतवार १८:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry