भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग

काठमाडौं। भोटेकोशी बाढी प्रभावित क्षेत्रमा जारी उद्धार तथा राहत कार्यमा नेपाललाई छिमेकी भारत र चीनसहित अन्तरराष्ट्रिय समुदायले सहयोग गरिरहेका छन्।
Advertisement 1
बाढीबाट जनधनको ठूलो क्षति भएपछि प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि भारत र चीनले सुरुआती दिनदेखि नै राहत सामग्री, सुरुङ उद्धार टोली तथा प्राविधिक जनशक्ति उपलब्ध गराएका छन् भने विभिन्न अन्तरराष्ट्रिय संस्थाले आर्थिक तथा प्राविधिक सहयोगको प्रतिबद्धता जनाएका छन्।
बाढीबाट तल्लो तटीय क्षेत्रमा रहेका आवासीय क्षेत्र, सडक, पुल तथा अन्य पूर्वाधारमा व्यापक क्षति पुगेको छ। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसहित राज्यका विभिन्न निकाय उद्धार तथा राहत कार्यमा परिचालित छन्।
Advertisement 2
भारतबाट ११ टन राहत सामग्री बोकेको चौथो चरणको उडान आज बिहान काठमाडौँमा अवतरण गरेको छ। राहत सामग्रीमा खोज तथा उद्धारका लागि आवश्यक उपकरणसहितको सुरुङ उद्धार प्राविधिक टोली, डीएनए विश्लेषणका लागि फरेन्सिक विज्ञहरूको टोली तथा कम्बल, स्लीपिङ ब्याग, त्रिपाल, प्लास्टिक सिट र सरसफाइ किटलगायत सामग्री समावेश रहेको यहाँस्थित भारतीय दूतावासले जनाएको छ।
स्थलगत निरीक्षण टोलीको मूल्याङ्कनका आधारमा विशेष उपकरणसहित १३ सदस्यीय भारतीय सेनाको सुरुङ उद्धार टोली नेपाल आएको हो। उक्त टोलीले नेपाली विपद् प्रतिकार्य टोलीले सञ्चालन गरिरहेको खोज तथा उद्धार कार्यमा सहयोग गर्नेछ। मृतकका अवशेषको पहिचानका लागि डीएनए नमुना विश्लेषणमा सहयोग गर्न ६ वटा फरेन्सिक टोलीका १९ सदस्यीय समूह पनि नेपाल आएको दूतावासले जनाएको छ।
Advertisement 3
यसअघि भारतले शनिबारसम्म भारतीय वायुसेनाका विमानमार्फत नेपालमा करिब ५७ दशमलव ५ टन राहत सामग्री ढुवानी गरिसकेको छ। बाढी आएको बुधबार नै भारतीय वायुसेनाको विमानले अस्थायी आश्रयस्थल, कम्बल, सरसफाइ किट, सौर्य बत्ती तथा औषधिलगायत १० टन आकस्मिक राहत सामग्री नेपाल ल्याएको थियो।
त्यसको भोलिपल्ट बिहीबार भारत सरकारले पाल, कम्बल, सरसफाइ किट, सौर्य बत्ती, पानी निकाल्ने पम्प, भान्साका सामग्री, जेनेरेटर सेट, औषधि तथा खाद्य सामग्रीसहित ३७ दशमलव ५ टन राहत सामग्री पठाएको थियो।
त्यसपछि भारतले शुक्रबार पाँच सदस्यीय भारतीय सेनाको सुरुङ उद्धार प्रारम्भिक निरीक्षण टोली र ६ सदस्यीय चिकित्सा टोली पठाउनुका साथै पोर्टेबल जेनेरेटर सेट, डिग्निटी किट, खाद्य सामग्री, पानी शुद्धीकरणका ट्याब्लेट तथा औषधिसहित थप १० टन सामग्री पठाएको थियो।
आज बिहान चीनको जनमुक्ति सेना वायुसेनाका २ वटा ढुवानी विमान चीनद्वारा प्रदान गरिएको आपत्कालीन राहत सामग्री लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका छन्। ४ जना चिनियाँ सुरुङ उद्धार विशेषज्ञ उद्धार उपकरणसहित विमानमा आएका छन्।
दुवै ढुवानी विमानले चीनको छेन्दु शुआङ्लिउ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेका थिए। करिब ३ घण्टाको उडानपछि काठमाडौँ आइपुगेका ती विमानले पाल, कम्बल, स्लीपिङ ब्याग, हार्डट्याक तथा प्राथमिक उपचार किटलगायत १३ हजार २ सय थान आपत्कालीन राहत सामग्रीसहित ५० टन सामग्री ल्याएका छन्।
भारत र चीनका सुरुङ उद्धार टोली भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सुरुङमा फसेका व्यक्तिको उद्धारमा खटिएका छन्। प्रभावित क्षेत्रका कतिपय जलविद्युत् आयोजनाका सुरुङमा अझै कैयौँ व्यक्ति फसेका र नेपाली सुरक्षाकर्मीले उद्धार जारी राखेका बेला दुवै छिमेकी मुलुकका सुरुङ उद्धार टोली शनिबार नेपाल आइपुगेका थिए।
पछिल्लो जानकारीअनुसार प्रभावित क्षेत्रबाट शनिबार साँझसम्म सात हजार ५१४ जनालाई हवाई तथा स्थलमार्गबाट उद्धार गरी सुरक्षित स्थानमा पु¥याइएको छ। जसमध्ये विभिन्न जलविद्युत् आयोजना क्षेत्रमा फसेका २७९ जनाको उद्धार भइसकेको छ भने बाँकी क्षेत्रमा नेपाली सेनाले उद्धार प्रयास जारी राखेको जनाएको छ। उद्धार कार्यमा भारतीय तथा चिनियाँ विज्ञ नेपाली सेनासँगको समन्वयमा खटिएका छन्।
प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी १८ हजार ७०८ सुरक्षाकर्मी परिचालित छन्।
यसैगरी, प्रभावितको व्यवस्थापन तथा पुनःस्थापनाका लागि अन्तरराष्ट्रिय समुदायबाट पनि आर्थिक तथा प्राविधिक सहयोगको प्रतिबद्धता आएको छ। एशियाली विकास बैंक (एडीबी)बाट बजेटरी सहयोग (अनुदान) स्वरूप पाँच मिलियन अमेरिकी डलर, विश्व बैंकबाट १६७ मिलियन अमेरिकी डलरको सहुलियतपूर्ण कर्जा, अमेरिकी सरकारबाट ५ लाख अमेरिकी डलर र अष्ट्रेलिया सरकारबाट १ मिलियन अमेरिकी डलर नगद सहयोग उपलब्ध गराउने प्रतिबद्धता आएको छ। एडीबीले प्राविधिक सहायताका लागि एक लाख ५० हजार अमेरिकी डलर उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
हालसम्म रसुवा, धादिङ, नुवाकोट, चितवन, तनहुँ, गोरखा, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका विभिन्न स्थानमा ६७५ वटा शव फेला परेका छन्। फेला परेका शवलाई ‘एयरटाइट ब्याग’मा राखेर व्यवस्थापन गर्ने भइरहेको छ।
‘पहिचान नभएका तथा शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम शव व्यवस्थापन गरिँदैछ। पहिचान गर्न नसकिने अवस्थामा भेटिएका शवको डीएनएलगायत पहिचानमा सहयोग गर्ने आधार सुरक्षित राखी सरकारले व्यवस्थापन गर्न लागेको हो। परिवारले पहिचान गरेका शव भने सम्बन्धित परिवारलाई जिम्मा लगाउने काम भइरहेको छ।








