बाढीपीडितका लागि बुढानीलकण्ठ नगरपालिकाको ५५ लाख ५५ हजार सहयोग

काठमाडौं। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि बुढानीलकण्ठ नगरपालिकाले ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने भएको छ। नगर कार्यपालिकाको ९३औँ आकस्मिक बैठकले जनप्रतिनिधि, कर्मचारी तथा नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट एकमुष्ट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।
Advertisement 1
नगरपालिकाका अनुसार २०८३ भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नगरपालिकाले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। विपद् प्रभावित तथा घाइते नागरिकको सुरक्षित पुनःस्थापना र सहज जीवनयापनका लागि आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले आर्थिक सहयोग गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ।
त्यसैगरी, विपद् प्रभावित नागरिकलाई उपचारका लागि अस्पतालसम्म पु¥याउन स्वास्थ्यकर्मीसहितको एम्बुलेन्स परिचालन गर्ने निर्णय गरिएको छ। नगरपालिकाका अनुसार जनप्रतिनिधिको नेतृत्वमा नगर प्रहरीसहित प्रभावित क्षेत्रबाट उद्धार गर्नुपर्ने नागरिकलाई काठमाडौंसम्म सुरक्षित ल्याउन एक थान सवारी साधनसमेत व्यवस्थापन गरिनेछ।
Advertisement 2
राष्ट्रिय विपद्को यस घडीमा नागरिक समाज, निजी क्षेत्र, संघ–संस्था, शुभेच्छुक तथा आम नगरवासीलाई समेत सहयोगका लागि नगरपालिकाले आह्वान गरेको छ। नगरपालिकाको प्राङ्गणमा जिन्सीलगायत राहत सामग्री संकलन गरी एकद्वार प्रणालीबाट प्रभावित क्षेत्रमा वितरण गर्ने व्यवस्था मिलाइने भएको छ। साथै, विभिन्न वडामा उपचाररत घाइतेका लागि रक्तदान कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत गरिएको छ। नगर प्रमुख मिठाराम अधिकारी र नगर उपप्रमुख अनिता लामाद्वारा जारी विज्ञप्तिमा विपद् प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।









