रसुवा बाढी : १६५ जनाको शव फेला, ५७९ यात्रु अझै बेपत्ता

काठमाडौं। रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावित विभिन्न जिल्लामा हालसम्म १६५ जनाको शव फेला परेको छ। बाढीपछि प्रभावित क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ भने सयौँ यात्रु तथा सुरक्षाकर्मी अझै सम्पर्कविहीन छन्।
Advertisement 1
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रबाट फेला परेका शवमध्ये धादिङमा २७, नुवाकोटमा १२, रसुवामा २, गोरखामा २०, नवलपरासी पूर्वमा २६, तनहुँमा ९, चितवनमा ६४ र नवलपरासी पश्चिममा ५ वटा रहेका छन्। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बाढी प्रभावित क्षेत्रमा कार्यरत नेपाली सेनाका ४४ जना, विभिन्न प्रहरी चौकीमा कार्यरत नेपाल प्रहरीका २८ जना तथा सशस्त्र प्रहरी बल नेपालका १३ जना सुरक्षाकर्मी समेत सम्पर्कविहीन भएका छन्।
टिमुरेबाट १२३ जनाको हवाई उद्धार
Advertisement 2
बाढी प्रभावित रसुवाको टिमुरे क्षेत्रबाट हालसम्म १२३ जनाको हवाई उद्धार गरिएको प्राधिकरणले जनाएको छ। उद्धार गरिएकामध्ये ९४ जना नेपाली र २९ जना विदेशी नागरिक रहेका छन्। यसैबीच, नेपाल पर्यटन बोर्डले प्रभावित क्षेत्रबाट प्रारम्भिक रूपमा प्राप्त विवरणअनुसार ४६६ जना विदेशी र ११३ जना नेपाली यात्रु बेपत्ता भएको जनाएको छ। यसअनुसार प्रारम्भिक विवरणमा मात्रै ५७९ यात्रु सम्पर्कविहीन रहेको देखिएको छ। बेपत्ताको खोजी तथा उद्धारका लागि सुरक्षा निकाय र सम्बन्धित निकायले प्रभावित क्षेत्रमा खोजी अभियान जारी राखेका छन्।
सडक र पुलमा ठूलो क्षति
Advertisement 3
बाढीले सडक तथा पुलका संरचनामा समेत ठूलो क्षति पु¥याएको छ। प्राधिकरणका अनुसार हालसम्म ३५ वटा मोटरेबल पुल, ४५ वटा झोलुङ्गे पुल र करिब ४० किलोमिटर सडकमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ। प्राधिकरणका प्रवक्ता महतले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको जानकारी दिनुभयो।
बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, शवको पहिचान तथा उद्धार कार्यलाई निरन्तरता दिइएको छ। साथै प्रभावित नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा आवश्यक राहत उपलब्ध गराउने काम पनि सम्बन्धित निकायले अघि बढाइरहेका छन्। बाढीबाट भएको क्षतिको वास्तविक अवस्था अझै पूर्ण रूपमा यकिन हुन बाँकी रहेकाले मृतक तथा बेपत्ताको संख्या थप बढ्न सक्ने देखिएको छ। प्राधिकरणले प्रभावित क्षेत्रमा खोज तथा उद्धारलाई प्राथमिकतामा राखेर काम भइरहेको जनाएको छ।








