रसुवा बाढी: कञ्चनपुरका कर्मचारीसहित २४ जना सम्पर्कविहीन

काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि कञ्चनपुर घर भएका कर्मचारी, सुरक्षाकर्मी तथा जलविद्युत् आयोजनामा कार्यरत मजदुरसहित २४ जना सम्पर्कविहीन भएका छन्। बाढी प्रभावित क्षेत्रमा रहेका आफन्तबाट खोजी तथा उद्धारका लागि अनुरोध आएपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सम्पर्कविहीन व्यक्तिको विवरण संकलन थालेको हो।

Advertisement 1

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार बुधबार साँझसम्म विभिन्न स्थानीय तहका २४ जनाका आफन्तले प्रहरीसँग सम्पर्क गरी खोजीका लागि आग्रह गरेका छन्।

उनका अनुसार प्रभावित क्षेत्रमा कार्यरत सेना, प्रहरी, सरकारी कर्मचारी तथा जलविद्युत् आयोजनामा काम गर्ने मजदुरका आफन्तले आफ्ना परिवारका सदस्य सम्पर्कमा नआएको जानकारी गराएका हुन्। “सम्पर्कविहीन नागरिकको विवरण संकलन गरेर प्रहरी प्रधान कार्यालय पठाइरहेका छौँ,” प्रवक्ता रावतले बताए।

Advertisement 2

भीमदत्तका ६, शुक्लाफाँटाका ७

प्रहरीका अनुसार सम्पर्कविहीन हुनेमा भीमदत्त नगरपालिकाका ६, बेलौरीका ३, कृष्णपुरका ५, शुक्लाफाँटा नगरपालिकाका ७, लालझाडी गाउँपालिकाका १ र बेदकोट नगरपालिकाका २ जना छन्।

Advertisement 3

सम्पर्कविहीन भएकामध्ये धेरैजसो जलविद्युत् आयोजनामा कार्यरत मजदुर रहेको प्रहरीले जनाएको छ। त्यस्तै नेपाली सेनाका दुई जना, नेपाल प्रहरीका एक जना तथा भन्सार र वन सेवामा कार्यरत कर्मचारीसमेत सम्पर्कविहीन रहेको विवरण आफन्तबाट प्राप्त भएको छ।

बाढी प्रभावित क्षेत्रमा रहेका कञ्चनपुरका नागरिकको खोजी तथा उद्धारलाई सहज बनाउन जिल्लामै विवरण संकलन गरी सम्बन्धित निकायमा पठाउने काम भइरहेको प्रहरीको भनाइ छ।

टिमुरे भन्सारका कर्मचारी जोशी पनि सम्पर्कविहीन

यसैबीच भीमदत्त नगरपालिका–१३ बडैपुरका नरेश दत्त जोशी पनि बाढीपछि सम्पर्कविहीन भएका छन्। उनी रसुवाको टिमुरे भन्सार कार्यालयमा कार्यरत थिए। जोशीका आफन्तका अनुसार बुधबार बिहान करिब ७ः३० बजे उनीसँग अन्तिमपटक टेलिफोन सम्पर्क भएको थियो। त्यसपछि भने सम्पर्क हुन सकेको छैन। जोशीका छोरीज्वाइँ टीका भट्टका अनुसार उनी करिब दुई वर्षदेखि टिमुरे भन्सार कार्यालयमा कार्यरत थिए। बाढीपछि परिवारका सदस्यहरू उनको सम्पर्क हुने आशामा रहेका छन्।

रसुवामा आएको भीषण बाढीपछि विभिन्न जिल्लाका नागरिक सम्पर्कविहीन भएको खबर सार्वजनिक भइरहेका बेला कञ्चनपुरबाट समेत ठूलो संख्यामा आफन्तले खोजी तथा उद्धारका लागि प्रहरीसमक्ष आग्रह गरेका छन्। स्थानीय प्रशासन तथा सुरक्षा निकायले सम्पर्कविहीन व्यक्तिको विवरण संकलन गर्दै सम्बन्धित निकायसँग समन्वय गरी खोजी तथा उद्धारलाई अघि बढाइरहेका छन्।

प्रकाशित :२०८३ भाद्र ११, बिहीबार १०:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry