टिमुरे अध्यागमन कार्यालयका ४ कर्मचारी बाढीपछि सम्पर्कविहीन

काठमाडौं। रसुवाको टिमुरे क्षेत्रमा भोटेकोशी नदीमा आएको भीषण बाढीपछि टिमुरेस्थित अध्यागमन कार्यालयमा कार्यरत ४ कर्मचारी सम्पर्कविहीन भएका छन्। अध्यागमन विभागले बुधबार राति सूचना जारी गर्दै बाढीका कारण टिमुरेमा कार्यरत कर्मचारीहरू हालसम्म सम्पर्कमा आउन नसकेको जनाएको हो। घटनालगत्तै गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय रसुवा तथा स्थानीय सुरक्षा निकायसँग समन्वय गरी कर्मचारीको अवस्था बुझ्ने र खोजी तथा उद्धारको काम अघि बढाइएको विभागले जनाएको छ।
Advertisement 1
सम्पर्कविहीन हुनेमा अध्यागमन अधिकृत यादव भण्डारी, वरिष्ठ अध्यागमन सहायक दुर्गा प्रसाद पौडेल, अध्यागमन सहायक पार्वती मानन्धर र कार्यालय सहयोगी क्षितिज लामु तामाङ रहेका छन्।विभागले उपलब्ध गराएको विवरणअनुसार अध्यागमन अधिकृत भण्डारीको नेपाली पोर्टलमा पछिल्लो गतिविधि २०२६ अगस्ट २५ दिउँसो १ः५६ बजे देखिएको छ। वरिष्ठ अध्यागमन सहायक पौडेलको पछिल्लो गतिविधि अगस्ट २६ बिहान ८ः०७ बजे र अध्यागमन सहायक मानन्धरको अगस्ट २६ बिहान ८ः३५ बजे देखिएको विभागले जनाएको छ। कार्यालय सहयोगी तामाङको भने यस्तो विवरण उपलब्ध छैन।
विभागका अनुसार उक्त गतिविधि विवरण प्रणालीमा देखिएको प्रारम्भिक सूचनाका आधारमा तयार पारिएको हो। कर्मचारीहरूको वास्तविक अवस्था यकिन गर्न सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको छ।
Advertisement 2
खोजी तथा उद्धारका लागि सुरक्षा निकाय परिचालन
भोटेकोशी बाढीपछि टिमुरे क्षेत्रको अवस्था गम्भीर बनेसँगै अध्यागमन विभागले कर्मचारीको खोजी तथा उद्धारलाई प्राथमिकता दिएको छ। गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय रसुवा तथा स्थानीय सुरक्षा निकायसँग समन्वय गरी सम्पर्कविहीन कर्मचारीको अवस्था पत्ता लगाउने प्रयास भइरहेको विभागले जनाएको छ।
Advertisement 3
विभागले विपद्को संवेदनशील अवस्थामा अपूर्ण सूचना वा अनुमानका आधारमा कुनै विवरण सार्वजनिक नगर्न आग्रह गरेको छ। थप आधिकारिक विवरण प्राप्त भएपछि विभागबाट सार्वजनिक गरिने जनाएको छ। भोटेकोशी बाढीका कारण टिमुरेसहित रसुवाको उत्तरी क्षेत्रमा ठूलो क्षति पुगेको छ। बाढीपछि विभिन्न सरकारी कार्यालयमा कार्यरत कर्मचारी, सुरक्षाकर्मी, व्यवसायी तथा स्थानीयवासीसमेत सम्पर्कविहीन भएका विवरण सार्वजनिक भइरहेका छन्। अध्यागमन विभागले टिमुरेमा कार्यरत आफ्ना चार कर्मचारीको खोजी तथा उद्धारका लागि सम्बन्धित सुरक्षा निकायसँग समन्वय गरिरहेको जनाएको छ।









