सिञ्जा उपत्यकामा नेपाल टेलिकमको फोर–जी सेवा

काठमाडौं। नेपाली भाषा (खस भाषा) को उद्गमस्थल जुम्लाको हाट सिञ्जामा नेपाल टेलिकमको फोर–जी सेवा सञ्चालनमा आएको छ। कनकासुन्दरी गाउँपालिकाअन्तर्गत गुठीज्युला बजार क्षेत्रमा आजदेखि फोर–जी सेवा सुरु भएको हो।
Advertisement 1
नेपाल टेलिकम जुम्ला कार्यालयका प्रमुख पारस पुजाराका अनुसार त्यहाँ नयाँ टावर स्थापना गरी सेवा सञ्चालनमा ल्याइएको हो। नयाँ टावरबाट कनकासुन्दरी गाउँपालिकाका वडा नं ३, ४, ५, ६ र ८ का विभिन्न क्षेत्रमा फोर–जी सेवा उपलब्ध हुनेछ।
उक्त टावरबाट गौरी, ओखरवाडा, हाट सिञ्जा, सिम्पाती, लुड्कु, गुठीज्युला बजार, बडुवालवाडा, बारकुडीवाडा, सञ्जेलवाडा, जाच, गोडिङ्गालगायत क्षेत्रमा सेवा पुग्नेछ। टावर सञ्चालनका लागि हाल सोलार ब्याट्री प्रयोग गरिएको छ। टावर स्थापना भएको २ महिनाभन्दा बढी समय भए पनि राष्ट्रिय प्रसारण लाइनको विद्युत् नपुगेका कारण सेवा सञ्चालनमा ढिलाइ भएको कार्यालय प्रमुख पुजाराले बताए।
Advertisement 2
राष्ट्रिय प्रसारणलाइनबाट विद्युत् जडान गर्न नसकेपछि तत्कालका लागि सोलार प्रणालीमार्फत टावर सञ्चालनमा ल्याइएको टेलिकमले जनाएको छ। सरकारले दुर्गम तथा पर्यटकीय क्षेत्रमा दूरसञ्चार सेवाको पहुँच विस्तारलाई प्राथमिकतामा राखेको छ। सोही योजनाअनुसार बाजुराको बडीमालिका मन्दिर क्षेत्रमा यस हप्ताभित्रै फोर–जी सेवा सञ्चालनमा आइसक्ने छ। सगरमाथा आधार शिविर क्षेत्रमा समेत फोर–जी सेवा विस्तारका लागि अध्ययन भइरहेको नेपाल टेलिकमले जनाएको छ।
यसअघि उच्च हिमाली क्षेत्रका विभिन्न स्थानमा पनि फोर–जी सेवा विस्तार भइसकेको छ। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–६ स्थित ल्हान तथा ठूलीभेरी नगरपालिका–१, दुनै क्षेत्रमा समुद्री सतहबाट करिब तीन हजार ९०० मिटर उचाइमा फोर–जी सेवा सञ्चालनमा छ। त्यस्तै, ताप्लेजुङको ओलाङचुङगोलामा करिब तीन हजार ४०० मिटर उचाइमा फोर–जी सेवा सुरु भइसकेको छ।
Advertisement 3
देशका अन्य दुर्गम तथा सञ्चार सेवाको पहुँच कमजोर रहेका क्षेत्रमासमेत सेवा विस्तार गर्ने सरकारको योजना छ। डिजिटल विभाजन घटाउँदै सबै नागरिकलाई गुणस्तरीय सञ्चार सेवा उपलब्ध गराउने उद्देश्यले दूरसञ्चार पूर्वाधार विस्तारलाई प्राथमिकता दिइएको हो। हाल देशभर दूरसञ्चार सेवाको पहुँच र गुणस्तर विस्तारका लागि करिब १ हजार ६०० नयाँ मोबाइल टावर तथा सम्बन्धित साइट निर्माणको प्रक्रिया अघि बढाइएको छ। ग्रामीण क्षेत्रमा सेवा विस्तार तथा गुणस्तर सुधारका लागि नेपाल टेलिकमले चालु आवमा मात्रै रु छ अर्बभन्दा बढी लगानी गर्ने तयारी गरेको छ।








